कञ्चनपुर ।
वर्षायामको सुरुवातसँगै कञ्चनपुरका थारू समुदायका भान्सामा विशेष स्थान ओगट्ने फुट्की च्याउको तरकारी अब स्वादभन्दा पनि सम्झनामा मात्र सीमित बन्न थालेको छ ।
सालका वनक्षेत्रमा डढेलो लागेको वर्ष फुट्की प्रशस्तै पाइन्थ्यो । तर, अहिले भने पाउनै मुस्किल भइसकेको छ । ‘वर्षा सुरु भएपछि महिला र बालबालिकाको हुल वनतिर लाग्थ्यो, एकैचोटी धेरै संकलन गर्थे,’ स्थानीय हवलदार चौधरीले भने, ‘अहिले त्यो दृश्य बिरलै देख्न पाइन्छ ।’
वनक्षेत्रमा प्रवेशमा कडाइ, जलवायु परिवर्तन र मानवीय चापका कारण फुट्की लोपोन्मुख बन्दै गएको उनको भनाइ छ । सामुदायिक वनमा अनुमतिबाट मात्रै र निकुञ्ज क्षेत्रमा प्रवेश निषेध हुँदा लुकीचोरी जानेले समेत फुट्की च्याउ भेटिन छाडेको बताउने गरेका छन् ।
स्थानीय भाषामा ‘पटपुरा’ भनिने फुट्कीलाई थारू समुदायले अनेकौँ परिकारमा प्रयोग गर्छन् । जसमा झोलयुक्त तरकारी, अचार, सेकुवा, भुटुवा, सुकुटी, पकुवा हुने गर्दछ । गहुँ वा चामलको पिठोमा मिसाएर फुट्की पकाइने परिकारलाई थारू समुदायले कपुवा भन्ने गर्दछन् ।
थारू समुदायमा कुन च्याउ खान योग्य छ भन्ने ज्ञान पुस्तौँदेखि पुस्तान्तरण हुँदै आएको छ । यही ज्ञानले उनीहरूलाई वनस्पति स्रोतको सुरक्षित र सन्तुलित प्रयोगमा दक्ष बनाएको हवलदार बताउँछन् । बजारमा फुट्कीको अभाव हुँदा अहिले यसको मूल्य प्रतिकिलो चार सयदेखि एक हजार तीन सयसम्म पुगेको बन्धुराम चौधरीले बताए । ‘प्रकृति पूजक थारू समुदायले जङ्गलमा पाइने च्याउ, जडीबुटीलगायतका बस्तुहरूलाई परम्परागत रूपमा भान्सामा स्थान दिएका छन्’, उनले भने, ’तर अहिले वनक्षेत्रमा यी स्रोतहरू घट्दो छ ।’
थारू समुदायका अगुवा परदेशी चौधरीका अनुसार फुट्की ‘फङ्गस’ वर्गको च्याउ हो । वर्षाको बेला अनुकूल वातावरणमा उम्रिने फुट्कीमा प्रोटिन प्रचुर मात्रामा पाइन्छ । पचाउन सजिलो भएकाले स्वास्थ्यका लागि पनि उपयोगी मानिन्छ । थारू समुदायमा ‘जलेवा’ र ‘भोटैल’ गरी दुई प्रकारका फुट्की चिनिन्छन् । जलेवा सेतो रङ्गको हुन्छ भने भोटैल कालो वा खैरो हुन्छ । बुढापाकाका अनुसार मयुरले पनि फुट्कीको गुदी भाग विशेष रूपमा रुचाउने गर्छ ।
‘फुट्की च्याउ केवल एक मौसमी परिकार मात्र नभई थारू समुदायको संस्कृतिसँग गाँसिएको जीवनशैलीको अभिन्न अंशका रूपमा रहेको छ’, थारू अगुवा रेवन चौधरीले भने, ’जुन अहिले लोपोन्मुख अवस्थामा छ, यसको संरक्षण आवश्यक छ ।’









प्रतिक्रिया दिनुहोस्