वीरेन्द्र जैसी,नेपालगन्ज :
लागला जेठको मैना पाकन्ना तिर्खुला
कठै मेरा जन्मथली म कैल फिर्कुला
…….
अछामी देउडाको यो लोकगीत पंक्तिमा उल्लेख भएजस्तै यतिबेला तिर्खुला अर्थात् चुत्रो पाक्ने सिजन हुँदैछ । तर,अछामको जंगलमा यसवर्ष तिर्खुला जरैदेखि उखेलिएका छन् । जरा नउखेलिएका चुत्राका रुखहरु ठुटैठुटा पारिएका छन् । गाडी पुग्ने बाटोहरुमा ठाउँ–ठाउँमा चुत्राका जरा र काण्डहरु थुपारिएका छन् । गाउँबाट चुत्राका जरा र काण्डहरु भरेर ट्रकहरु तराई झरिरहेका छन् । नेपालगन्ज पु¥याएर चुत्राका जरा तथा काण्डहरु बोरामा प्याक गरेर राखिएका छन्, भारत निकासीका लागि ।
नेपालको हिमालय क्षेत्रको रैथाने वनस्पति चुत्रोको अछाममा अव्यवस्थित दोहन भइरहेको छ । औषधीय गुण भएको र पहाडको जंगलमा पाइने फलको रुपमा लोकप्रिय चुत्रोलाई जडिबुटीका रुपमा खरिद गर्न व्यवसायीहरु गाउँमा पुगेपछि स्थानीयहरुले उक्त बुट्यानको अव्यवस्थित संकलन गरिहेका पाइएको छ । यसले चुत्रो भविष्यमा नरहने गरी नासिने, जैविक विविधता एवम् वातावरणीय सन्तुलनमा असर गर्ने अवस्था सृजना भएको पाइएको छ ।
जिल्लास्थित डिभिजन वन कार्यालयले अछाम जिल्लाका सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रबाट चुत्रो संकलन गर्ने अनुमति दिएको छ । तर, अनुमति दिँदा हचुवाका भरमा दिइएको तथा अनुगमन सही तवरले नभएको स्थानीयहरु बताउँछन् । अछामको रामारोशन गाउँपालिकाका स्थानीय कृष्ण रावल यसवर्ष चुत्रोको विनास नै हुनेगरी दोहन भएको पाइएको बताउँछन् । ‘जरा नै निकालेर ठाउँ–ठाउँमा चाङ लगाइएको छ । यसले वनमा भविष्यमा चुत्रो नरहने स्थित आउने देखिएको छ,’ रावलले चिन्ता व्यक्त गरे ।
अछामस्थित डिभिजन वन कार्यालयका प्रमुख जनक पाध्या जिल्लाबाट यसवर्ष करिब ४० हजार किलो चुत्रो संकलन गर्न सकिने कोटा रहेको बताउँछन् । तर, स्थानीय जानकारहरुका अनुसार जिल्लामा कोटाभन्दा बढी चुत्रो संकलन भएको छ । अझ वन कार्यालयले अनुमति नै नदिएको जरासमेत उखेलेर चुत्रोको विनास गरिएको छ ।डिभिजन वन कार्यालयका प्रमुख पाध्या वन कार्यालय काण्डको मात्रै संकलन तथा निकासीका लागि अनुमति दिइएको बताउँछन् । तर, संकलन गरिएको ठाउँमा चुत्रोका जराका चाङहरु नै छन् । पाध्या पनि जरा नै उखेलिएको अवस्था रहेको स्वीकार गर्छन् । तर, त्यसरी जरा उखेलिएका चुत्रोहरु सामुदायिक तथा राष्ट्रिय वनक्षेत्रबाट नभै निजी जग्गामा रहेका चुत्रोहरु रहेको उनको दाबी छ । ‘हामीले जरा उखेल्न अनुमति दिएका छैनौँ । जरा उखेलिएका चुत्रोहरु निजी जग्गामा रहेका चुत्रोहरु हुन्,’ उनले भने ।
त्यसो भए कहाँबाट संकलन गरिएको चुत्रो हो भन्ने कसरी यकिन गरियो त ? पाध्या चुत्रो संकलनका लागि सम्बन्धित वडा कार्यालयको सिफारिस चाहिने र वन कार्यालयको अनुमति चाहिने उनले बताए । तर, पाध्याले यसो भनेपनि स्थानीयस्तरमा नियमको पालना नभएको रामारोशनकै स्थानीय महेश देवकोटा बताउँछन् । ‘उनीहरुको गाउँसम्म पहुँच नै छैन । जथाभावीरुपमा चुत्रो निकालिएको छ । जरैसमेत उखेलेर सडकमा राखिएको चाङहरु हेर्दा नै थाहा हुन्छ यहाँ कसरी दोहन भइरहेको छ भन्ने,’ देवकोटाले भने ।जरैदेखि चुत्रो उखेलिनुको कारण छ, काण्डको भन्दा जराको मूल्य बढी पाउनु । नेपाल जडीबुटी व्यवसायी संघका अध्यक्ष टंक शर्माका अनुसार काण्डको न्यूनतम २५ रुपैयाँ मूल्य रहेको छ भने जराको ५० रुपैयाँ । यही पैसा बढी पाइने लोभमा मानिसहरु जरैदेखि चुत्रो उखेल्न उद्धत भएको पाइएको छ ।
वन कार्यालय प्रमुख पाध्या जरै उखेलिँदा चुत्रोको विनास हुने मात्रै नभै वातावरणमा पनि नकारात्मक असर पर्ने बताउँछन् । उनी भन्छन्, ‘चुत्रोको एउटै जरा करिब एक सय किलोभन्दा बढीको हुन्छ । जुन जरा निकालिएको ठाउँमा खाडल पर्छन् । जसले भू–क्षय र पहिरो निम्त्याउने अवस्था आउन सक्छ,’ पाध्याले भने ।डिभिजन वनले चुत्रोको संकलन तथा निकासीमा अपनाएको रणनीतिप्रति नै प्रश्नहरु उठिरहेका छन् । जिल्लाको कमलबजार नगरपालिका–५ स्थित पाँचुली चैतेपातल सामुदायिक वनबाट तोकिएभन्दा बढी चुत्रो संकलन तथा बिक्री भएको भन्दै विवाद उत्पन्न भएको थियो । नक्कली कागजात बनाएर वन पैदावार संकलन र बिक्रीवितरण गरेको भन्दै उक्त सामुदायिक वन उपभोक्ता समितिका सचिव छत्रराज तिमिल्सैनालाई डिभिजन वन कार्यालय अछामले पक्राउ समेत गरेको थियो । यसमा स्थानीय जनप्रतिनिधि, सामुदायिक वन तथा वन डिभिजनकै मिलोमतो रहेको आशंका स्थानीयहरु गर्छन् ।
वन कार्यालय प्रमुख पाध्या भने अहिले विवादहरु निम्तिएपछि र जथभावी चुत्रो संकलन भएको पाइएपछि जिल्लाबाट निकासी रोकिदिएको बताउँछन् । ‘जथाभावी चुत्रो संकलन हुन थालेपछि र अब धेरै दोहन भयो कि भन्ने भएपछि हामीले अहिले चुत्रो संकलन र निकासी रोकेका छौँ,’ उनले मिसन टुडेसँग बताए । तर जिल्लाबाट कति चुत्रो निकासी भयो उनले बताउन सकेनन् ।
जडीबुटी व्यवसायी संघका अध्यक्ष टंक शर्मा अछामबाट मात्रै नभै चुत्रो पाइने प्रायः सबै जिल्लामा यसवर्ष चुत्रोको संकलन बढेको बताउँछन् । त्यसको कारण हो भारतले आफ्नो देशमा चुत्रो संकलन रोक्नु । शर्माका अनुसार चुत्रो विभिन्न औषधीय प्रजोजन तथा कस्मेटिक प्रयोजनका सामानहरु बनाउन प्रयोग हुन्छ । त्यसको लागि भारतमा मात्रै यसको प्रशोधन उद्योगहरु छन् । विशेषगरी उत्तराखण्डमा यसको माग बढी छ । भारतको उत्तराखण्डमै चुत्रो पनि पाइन्छ । तर, त्यहाँको सरकारले चुत्रोको बढी दोहन हुन थालेपछि संकलन रोकिदिएको छ । यसले नेपालबाट चुत्रोको माग बढ्यो । त्यसपछि व्यवसायीहरु चुत्रो संकलनका लागि पहाड चढे ।
तर, चुत्रो संकलनका लागि अहिलेसम्म कुनै निश्चित तरिका वा मापदण्ड सरकारले बनाएको छैन । अन्य जडिबुटी संकलनकै मापदण्डमा रहेर संकलनको अनुमति दिइएको छ । स्थानीयहरु बढी मूल्य पाउने लोभमा जरैदेखि उखेलिरहेका छन् । चुत्रोको नयाँ विरुवा पूर्ण वयस्क हुनका लागि २० वर्ष लाग्ने गर्दछ ।
जडिबुटी व्यवसायी संघका अध्यक्ष शर्मा आफूहरुको भनाइ पनि जरा उखेलेर भविष्यमा चुत्रो नरहनेगरी संकलन गर्न नहुने रहेको बताउँछन् । सरकारले चुत्रो संकलनका लागि निश्चित मापदण्ड बनाउनुपर्ने र संकलन भइसकेको चुत्रो भारत निकासीका लागि सहजीकरण गरिदिनुपर्ने उनको भनाइ छ । यही माग लिएर आफू काठमाडौँमा रहेको उनले मिसन टुडेलाई बताए ।
शर्माका अनुसार पछिल्लो समय भारतमा नेपालबाट चुत्रो बढी निकासी हुन थालेछि भारतले विषादी तथा जैविक परीक्षणको नियम लगाएर झण्झट सृजना गरेको छ । त्यहीकारण निकासी हुन नसकेर नेपालगन्जमा चुत्रो थन्किएको शर्मा बताउँछन् ।
के छ चुत्रोको महत्व ?
चुत्रो विशेषगरी २ प्रकारको हुन्छ । एउटा गर्मी याम (वैशाखदेखि असारसम्म)मा पाक्छ भने अर्काे चिसो याम (असोजदेखि मंसिरसम्म)मा पाक्छ । यसको फलको आकार जौको दाना जस्तै तर अलि ठूलो हुन्छ । यसको पात र हाँगाहरूमा काँडाहरू हुन्छन् । यसको हाँगाहरूमा त्रिशूल जस्तै तीन मुख भएको काँडा हुने हुनाले तिर्खुला पनि भनिन्छ । रंग काँचोमा हरियो र पाकेपछी कालो हुने यसको फलको स्वाद अमिलो र मिठो हुन्छ । जसलाई एक मौसमी फलको रुपमा पहाडी क्षेत्रका मानिसहरुले उपयोग गर्छन् ।बुट्यान प्रजातीको यस विरुवाको बोक्रा पहेँलो रंगको, तीतो स्वादको हुन्छ । आयुर्वेदमा चुत्रोको जरा र बोक्रा घाउ, खटिरा, आँखाको रोग, कमलपित्त र ज्वरो शान्त गर्नमा उपयोगी मानिन्छ । यिनै प्रयोजनका लागि औद्योगिक रुपमा चुत्रोको प्रशोधनका लागि भारतमा निकासी हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्