कोहलपुर (बाँके) : बाँकेको कोहलपुरस्थित जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कोहलपुरले वार्षिकोत्सवको अवसरमा कृषकहरुलाई बिउ बिजन वितरण गरेको छ । बुटवलमा केन्द्रिय रहेको संस्थाको कोहलपुरस्थित शाखा कार्यालयको आयोजनामा विभिन्न समूहका कृषकहरुलाई बिउ बिजन वितरण गरिएको हो । बुधबार एक कार्यक्रमका बीच संस्थाले विभिन्न समूहमा आवद्ध रहेका ६० जना कृषक सदस्यहरुलाई १८ हजार मूल्य बराबरको बिउ बिजन वितरण गरिएको थियो ।
शाखा प्रमुख हंश नेपालीका अनुसार वार्षिकोत्सवको अवसरमा शाखा कार्यालय अन्तर्गत रहेका विभिन्न समूहका महिला कृषकहरुलाई बिउ बिजन वितरण गरिएको हो । समूहमा आवद्ध भएका र कृषि पेशा गरिरहेका महिला सदस्यहरुलाई बिउ बिजन वितरण गरिएको शाखा प्रमुख नेपालीले बताए । वार्षिकोत्सवको अवसरमा समूहका सदस्यहरुलाई प्रोत्साहन होस भन्ने उद्देश्यले वितरण गरिएको उनको भनाइ छ ।
‘जनउत्थान लघुवित्त देशका विभिन्न सहरमा रहेको छ । हामीले विभिन्न अवसरमा सामुदायिक उत्तरदायित्व अन्तर्गत काम गरिरहेका हुन्छौँ । सोही अनुसार १५औँ वार्षिकोत्सवको अवसरमा कोहलपुर शाखा अन्तर्गत समूहका कृषकहरुलाई सहयोग गरिएको हो,’ शाखा प्रमुख नेपालीले भने । शाखाले वार्षिक कार्यक्रम अनुसार सदस्यहरुको क्षमता अभिवृद्धि,सदस्य सहयोग, अवलोकन भ्रमण लगायातका कार्यक्रम आयोजना गर्दै आएको छ ।









प्रतिक्रिया दिनुहोस्