स्थानीय सरकारले साथ नदिएको महिला उद्यमीहरूको गुनासो



वीरेन्द्र जैसी । नेपालगन्ज ।

अल्लो, भाङ, बेतबाँस लगायतका स्थानीय कच्चा पदार्थबाट सामानहरू बनाउने शीपलाई उद्यमकै रूपमा विकास गरेका महिला उद्यमीहरू राज्यबाट आवश्यक साथ नपाएको बताउँछन् । उनीहरू स्थानीय सरकारले दिने अन्य उपहारको सट्टामा आफूहरूको उत्पादनहरू खरिद गरिदिएमा मात्रै पनि उद्यमलाई विकास गर्न सहयोग मिल्ने बताउँछन् ।

२०६० सालबाट अल्लोका रेसाबाट पोशाकहरू उत्पादन गर्ने काम सुरु गरेकी घोराही उपमहानगरपालिका–१४ की प्रेमकुमारी पुनमगर २० वर्षदेखिको अनुभवमा अहिलेसम्म एकपटक पनि सरकारी निकायबाट आफ्नो उद्योगका उत्पादनहरू खरिद नगरिएको बताउँछिन् । उनले अल्लोबाटै कोटदेखि लिएर स्टकोट, विभिन्न प्रकारका टोपी, झोला, पछ्यौँरा, जातीय पोशाक, गलबन्दी, सल र पर्ससमेत उत्पादन गर्दै आएकी छन् । ‘स्थानीय तहले उपहारमा दिने सामग्रीहरू हामीजस्तै उद्यमीका उत्पादनहरू खरिद गरेर दिएको भए हामीलाई धेरै राहत हुन्थ्यो,’ प्रेमकुमारीले भनिन् ।

६१ वर्षीया प्रेमकुमारी आफ्ना सामानहरू बोकेर विभिन्न ठाउँमा हुने मेला महोत्सव तथा प्रदर्शनीहरूमा पुग्छिन् । त्यहाँ अल्लोका पोशाकहरूको फाइदा बखान गरेर थाक्दिनन् । ‘तर आफ्नै स्थानीय तहका जनप्रतिनिधिहरूले यसको महत्व बुझ्नुभएन,’ प्रेमकुमारी भन्छिन्, ‘जनप्रतिनिधि तथा कर्मचारीहरूले राज्यको ढुकुटीबाट पाउने भत्ताबाट किन्ने पोशाकहरू मात्रै हामीबाट किन्ने व्यवस्था गर्नुपर्याे भनेर ठाउँ ठाउँमा भन्दै हिडेकी छु । तर सुनुवाई हुँदैन ।’

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको पञ्चशील हस्तकला केन्द्रले बेतबाँसबाट थारू संस्कृतिका विभिन्न हस्तकलाका सामानहरू उत्पादन गर्छ । उक्त केन्द्र त्यस्ता सामान उत्पादन गर्ने महिलाहरूको सामूहिक संस्था हो । संस्थाले त्यस्ता हस्तकलामा सामानहरू जम्मा गरेर बिक्रीवितरणको व्यवस्था गर्छ । उक्त केन्द्रकी कोषाध्यक्ष कमला चौधरी पनि स्थानीय तहले आफूहरूका उत्पादनहरू खरिद गर्नसक्ने भएपनि त्यसो नगरेको बताउँछिन् । ‘विभिन्न कार्यक्रम हुन्छन्, पाहुनाहरूलाई उपहार दिइन्छ । त्यस्तो बेला हामीजस्तै महिलाका उत्पादनहरू उपहार दिएपनि हुन्थ्यो जस्तो लाग्छ । तर, अहिलेसम्म त्यसो भएको छैन,’ उनले भनिन् ।

उता कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ७ स्थित लघु औद्योगिक ग्राममा रहेको कर्णाली डल कुशन उद्योगकी सञ्चालक मनिषा विक पनि स्थानीय सरकारले उपहार दिँदा स्थानीय महिलाका उत्पादनहरू नै उपहार दिने हो भने उद्यमीहरूलाई प्रोत्साहन हुने बताइन् । नेपालगन्जमा जारी महिला उद्यमीहरूको प्रदर्शनीमा कर्णालीको साझा स्टल सञ्चालन गरिरहेकी मनिषाले वीरेन्द्रनगरको उक्त लघु औद्योगिक ग्राममा करिब ७० वटा स्थानीय उत्पादनका पसल रहेकोमा कतैबाट पनि सरकारी निकायले त्यस्ता उत्पादन खरिद गरेको आफूले थाहा नपाएको बताइन् ।

प्यूठानको कोठी हिमाल अल्लो कपडा उद्योगका सञ्चालक खिमबहादुर बुढामगर स्थानीय सरकारको पहिलो निर्वाचनपछि स्थानीय जनप्रतिनिधिहरूले पोशाकको रूपमा आफ्नो उद्योगका कोटहरू किनेको सम्झिन्छन् । त्यसयता कुनैपनि सरकारी निकायबाट त्यसरी अल्लोका पोशाक खरिद नगरिएको उनले बताए । पछिल्लो समय महिलाहरू अल्लो, भाङ, बेतबाँस लगायतका स्थानीय कच्चा पदार्थबाट आकर्षक वस्तुहरू बनाउने उद्यममा लागिरहेका छन् । त्यस्ता उद्यमी महिलाहरूले अरु महिलाहरूलाई पनि रोजगारी दिएका छन् । तर, त्यस्ता उद्योहरूलाई प्रोत्साहन गर्ने काममा स्थानीय सरकारहरू चुकिरहेका छन् ।

घोराहीकी प्रेमकुमारी पुनको उद्योगसँग अहिले करिब ४० जना व्यक्तिहरू प्रत्यक्षरूपमा जोडिएका छन् । उनीहरू कच्चा पदार्थ उत्पादन, संकलन, प्रशोधन र पोशाक तयारीका काममा जोडिएका उनले बताइन् । ‘कोरोनाअघि ७१ जना प्रत्यक्ष र करिब एक हजार ६ सय जना उद्योगसँग जोडिएका थिए । कोरानापछि सबै कुरा खुम्चियो,’ उनले भनिन् ।

प्रेमकुमारीलाई राम्रो फिनिसिङ भएका नक्कली उत्पादनसँग हातले बुनेका उत्पादहरूले प्रतिस्पर्धा गराउनु परिरहेको छ । उनले भनिन्, ‘राम्रो फिनिसिङ भएका अल्लोका भनेर प्रचार गरिएका नक्कली सामान मानिसहरूले खोज्छन् । हाम्रा उत्पादनहरू पनि राम्रो बनाउन मेसिन चाहिन्छ । तर त्यो मेसिन हामीले किन्न सक्ने अवस्था छैन ।’ सरकारले दिने अनुदान झोलामा उद्योग बोकेर हिड्नेहरूले पाइरहँदा दुःख लाग्ने गरेको उनले बताइन् ।

उनको उद्योगका काम गर्नेहरू सबै महिला छन् । स्थानीय उत्पादनलाई प्राथमिकता दिएको र अल्लो उद्योग सञ्चालन गरेर राम्रो कला प्रस्तुत गरेको भन्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग लगायतबाट प्रेकुमारीले सम्मान त पाएकी छन् । तर, स्थानीय सरकार तथा राज्यबाट उद्योगको विकासमा चाहिने साथ नपाइरहेको उनको अनुभव छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन ७ गते बुधबार