गोरखामा ‘एक विद्यार्थी एक पुस्तक’ अभियान



सानै उमेरदेखि बालबालिकालाई पुस्तक पठनप्रति जागरुक गराउने उद्देश्यले विद्यालयमा ‘एक विद्यार्थी एक पुस्तक’ अभियान सञ्चालन गरेको छ । विगत केही समयदेखि विद्यालयले ‘एक विद्यार्थी, एक पुस्तक’ अध्ययन योजना अघि सारेको छ । सोही अभियानअन्तर्गत कक्षा–५ देखि १० सम्म विद्यार्थीहरूले पाठ्यपुस्तकभन्दा बाहिरका कुनै पनि एक पुस्तक अनिवार्य अध्ययन गर्नुपर्ने व्यवस्था गरेको छ । आफ्नो रुचि अनुसार विद्यार्थीले शिक्षा, साहित्य, इतिहास, खेलकुदलगायतका विविध विधाका पुस्तक अध्ययन गर्न सक्छन् ।गणेश रावत । कोहलपुर ।

पछिल्लो समय पुस्तक पठन संस्कृति विस्तारै हराउँदै जान थालेको छ । प्रविधिको उच्च विकाससँगै पछिल्लो पुस्तामा पुस्तक पठन संस्कृति हराउँदै जान थालेको हो । यही अवस्थालाई मध्यनजर गरेर कोहलपुर–२ स्थित गोरखा युनाइटेड पब्लिक स्कुलले पठन संस्कृतिको विकास गर्न विभिन्न उपाय अवलम्बन थालेको छ ।

सानै उमेरदेखि बालबालिकालाई पुस्तक पठनप्रति जागरुक गराउने उद्देश्यले विद्यालयमा ‘एक विद्यार्थी एक पुस्तक’ अभियान सञ्चालन गरेको छ । विगत केही समयदेखि विद्यालयले ‘एक विद्यार्थी, एक पुस्तक’ अध्ययन योजना अघि सारेको छ । सोही अभियानअन्तर्गत कक्षा–५ देखि १० सम्म विद्यार्थीहरूले पाठ्यपुस्तकभन्दा बाहिरका कुनै पनि एक पुस्तक अनिवार्य अध्ययन गर्नुपर्ने व्यवस्था गरेको छ ।

आफ्नो रुचि अनुसार विद्यार्थीले शिक्षा, साहित्य, इतिहास, खेलकुदलगायतका विविध विधाका पुस्तक अध्ययन गर्न सक्छन् । विद्यार्थीले नेपाली र अंग्रेजी भाषामा लेखिएका पुस्तक किनेर समेत अध्ययन गर्ने गरिहेका छन् ।

कुनै समय अनुशी ढकाल आफ्नै पाठ्यपुस्तक पढ्न झ्याउ मान्ने गर्थिन् । अहिले विद्यालयले अतिरिक्त पुस्तक अध्ययन अनिवार्य गरेपछि उनी आफ्नो पाठ्यपुस्तकभन्दा बाहिरका पुस्तक पनि पाए भेटेसम्म अध्ययन गर्ने गरेको बताउँछिन् । ‘पुस्तक पढ्ने बानी थिएन, होमवर्क र पाठ्यपुस्तक पनि जनतेन पढ्ने गर्थें,’ उनले भनिन्, ‘अहिले पाठ्य पुस्तक मात्र होइन, अन्य पुस्तकसमेत पढ्ने बानी बसेको छ ।’

विगतका वर्षहरूमा दसैँको बिदामा रमाइलो गरेर बिताउने उनले यस वर्ष बिदाको समयमा बालकथाका केही पुस्तक पढेर समय बिताइन् । विगतका वर्षहरूमा रमाइलो गर्दै बितेको समय यस वर्ष रमाइलो सँगसँगै पुस्तक पढेर सकिएको ढकालले मिसन टुडेलाई जानकारी दिइन् ।
अहिले प्रत्येक दिन बालपुस्तक नपढी विद्यालय जान मन नलाग्ने उनको भनाइ छ ।

पढ्ने मात्र नभई साथीहरूसँग बसेर आफूले पढेको पुस्तकका बारेमा समीक्षा समेत गर्ने गरेको उनले बताइन् । विद्यालयका किताबबाहेक अन्य कथा, उपन्यासलगायत विभिन्न विषयका पुस्तक पनि रहेछन् भन्ने पढ्न थालेपछि मात्र जानकारी भएको बताइन् ।

उनी जस्तै सिम्रन मल्ल पनि अहिले पुस्तक पढ्न थालेकी छन् । उनले लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ पढेर सकेको बताइन् । मल्ललाई अहिले सो पुस्तकमा लेखिएका अधिकांश कुरा याद छन् । त्यसैले उनी सहजै साथीहरूलाई मुनामदनको कथा सुनाउँछिन् र साथीहरूका कुरा पनि सुन्ने गर्छिन् । ‘पहिले पढ्ने बानी थिए,’ मल्लले भनिन्, ‘अहिले पुस्तकालय भएपछि र अतिरिक्त पुस्तकको अनिवार्य अध्ययनको व्यवस्थापछि पढ्ने बानीमा सुधार भएको छ ।’

५ देखि १० कक्षासम्म प्रत्येक कक्षामा मिनी (सानो) लाइब्रेरी रहेको छ । त्यसमा प्रत्येक विद्यार्थीले कम्तिमा एउटा पुस्तक अनिवार्य किनेर सो मिनी लाइबे्ररीमा ल्याउनुपर्ने र यसरी ल्याइएका पुस्तकमध्ये साटफेर गरेर विद्यार्थीले पढ्न सक्ने व्यवस्था गरिएको छ । सबैले किनेर ल्याएका पुस्तक पढेर सकिएपछि पुनःलाइब्रेरीमा जतन गरेर राख्ने गरिएको छ ।

पछिल्लो समय विद्यार्थीहरूमा पठन संस्कृति हराउँदै गएकोमा पुनः पठन संस्कृतिको विकास गर्न यस्तो व्यवस्था गरिएको विद्यालय प्रधानध्यापक साधना थापाले बताइन् । विद्यालय बिदाको समयमा पुस्तक पढेर विद्यार्थीले कोर्सबाहिरका कतिपय कुराका बारेमा जानकारी लिन सक्ने र विस्तारै उनीहरूमा पढ्ने बानीको समेत विकास हुने प्रधानाध्यापक थापाको विश्वास छ ।

‘दसैँ बिदाअगावै पुस्तक अध्यनका लागि सबै विद्यार्थीलाई सूचना गरेका थियौँ,’ प्रधानाध्यापक थापाले भनिन्, ‘सोही अनुरूप उनीहरूको आफ्नो रुचिअनुसार नेपाली र अंग्रजी भाषाका विभिन्न पुस्तक किनेर अध्ययन गर्न थालेका छन् ।’

कुनै पनि पुस्तकले बालमस्तिष्कमा पार्ने प्रभाव कालान्तरसम्म रहिरहने हुँदा उनीहरूलाई सानैदेखि पुस्तकप्रति आकर्षित गर्नु जरुरी रहेको थापाको कथन छ । ‘पुस्तकले विद्यार्थीहरूलाई केही सन्देश देखोस् । साथैँ उनीहरूमा पढ्ने बानीको विकाससमेत होस् भन्ने विद्यालयको उद्देश्य हो,’ प्रधानाध्यापक थापाले भनिन्, ‘विद्यार्थी आफैले पुस्तक किने आफ्नो पुस्तकको माया पनि हुन्छ, पढाइ पनि हुन्छ ।’

प्रत्येक कक्षा कोठामा ३५ जना विद्यार्थी रहेकाले एक विद्यार्थीले एउटा किताब किने अन्य साथीहरूले किनेका ३४ वटा फरक विधाका पुस्तक पालैपालो गरेर पढ्न पाउँछन् । ती पुस्तकबाट पाउने ज्ञान र मनोरञ्जनबाट विद्यार्थी लाभान्वित भइरहेको थापाको भनाइ छ । ‘आफूले एउटा किताब किन्दा अन्य ३४ वटा किताब निःशुल्क पढ्न पाइन्छ,’ प्रअ थापाले भनिन् ।

विद्यार्थीहरूले पढेका पुस्तकहरूका बारेमा बेलाबखत कक्षामा समीक्षासमेत हुने गरेको छ । यसले पठन संस्कृतिका अलावा विद्यार्थीमा वक्तृत्वकला, नेतृत्व विकाससमेत हुने गरेको छ । पुस्तक पठनमा विद्यार्थीहरू क्रमशः आकर्षित हुँदै गएको थापाले जानकारी दिइन् ।
उनका अनुसार मिनी लाइब्रेरीबाट विद्यार्थीहरू मात्र नभएर शिक्षकहरूले समेत लाभान्वित हुने गरेका छन् ।

‘विद्यार्थीहरूले जस्तै शिक्षकहरूे पनि पुस्तक पढेर आउने र प्रस्तुति सुनाउने गर्नुभएको छ,’ थापाले भनिन्, ‘यसबाट विद्यार्थी, शिक्षक, लेखक सबैलाई फाइदा पुगेको छ ।’ पुस्तक अध्ययनपश्चात शिक्षकहरूले आफूले अध्ययन गरेको सो पुस्तककाबारेमा समीक्षा गर्ने गरेका छन् जसबाट उनीहरूमा बाह्य ज्ञान बढ्नुका साथै प्रस्तुत गर्ने शैलीको समेत विकास भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ ९ गते बुधबार