भारतीय तरकारीका कारण नेपाली किसान मर्कामा



इनरुवा ।

भारतमा उत्पादित तरकारी नेपाली बजारमा सस्तोमा बिक्री हुने गरेका कारण स्थानीय किसानले तरकारीको उचित मूल्य पाउन सकेका छैनन् । देवानगन्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाएका छन् । मजदुरको अभाव, समयमा मलखाद नपाउनु, वर्षासँगै आएको बाढीको समस्याका बाबजुद उनले ५० हजारको लागतमा तरकारी खेती लगाए । तर, मण्डललाई उचित मूल्य पाउन भने समस्या भएको छ ।

नेपालमा उत्पादन लागत बढी लाग्ने गरेका कारण तरकारीको मूल्य भारतीय तरकारीभन्दा महँगो पर्छ । भारतमा सस्तोमा बीउ तथा मलखाद पाउने भएकाले उत्पादन लागत कम हुँदा त्यहाँबाट आउने तरकारी सस्तोमा बिक्री हुने गरेको स्थानीय किसान गुलाबचन मेहताले बताए । ‘नेपालमा मलखाद, बीउबिजनदेखि सिँचाइसम्म महँगो पर्ने भएकाले भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न सकिएको छैन,’ उनले भने ।

इनरुवा–४ का रामदेव मेहताले दैनिक रूपमा भारतबाट आउने तरकारीका कारण स्थानीय उत्पादन बिक्री गर्न समस्या हुने गरेको बताए । तरकारी खेती गर्न भारतमा भन्दा नेपालमा महँगो पर्ने भएकाले भारतीय किसानसँग प्रतिस्पर्धा गर्न समस्या भएको स्थानीय किसान बताउँछन् ।
अहिले भारतबाट आउने बन्दागोभी प्रतिकिलो २० देखि ३० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।

नेपाली किसानलाई सोही मूल्यमा बिक्री गर्नुपर्दा लगानी नै नउठ्ने स्थानीय किसान चन्दन मेहताले बताए । देवानगन्ज बजारमा भारतबाट भित्रिने तरकारीको मात्रा बढेसँगै यहाँका किसानले उत्पादन गरेको तरकारीको मूल्यमा गिरावट आएको छ ।

भारतबाट सस्तो मूल्यमा आलु, प्याज, गोलभेँडा, काउली, बोडी, भन्टा र सागपात बजारमा भित्रिएपछि स्थानीय उत्पादन बिक्री गर्न समस्या भएको किसान बताउँछन् । उत्पादन गरेको तरकारीले मूल्य नपाउँदा किसानको लगानी डुब्नुका साथै तरकारी खेतीलाई निरन्तरता दिन समस्या भएको स्थानीय किसानहरूको गुनासो छ । भारतबाट आउने तरकारीमा कडाइ गर्न तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न स्थानीय तहसँग किसानले माग गरेका छन् ।

प्रकाशित मिति : २०८१ मंसिर १० गते सोमबार