प्रहरी विधेयक मन्त्रिपरिषद्मा पेस



आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमति लिएर प्रहरी विधयेक पेस गरेको थियो ।

काठमाडौँ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस भएको छ । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमति लिएर प्रहरी विधयेक मन्त्रिपरिषद्मा पेस गरेको हो ।

गृहमन्त्री रमेश लेखकले उक्त विधेयक मन्त्रिपरिषद्मा पेस गरेका हुन् । गृह मन्त्रालयअन्तर्गत कानुन महाशाखाका प्रमुख सहसचिव भरतमणि रिजालले प्रहरी ऐन २०१२ र सशस्त्र प्रहरी ऐन २०५८ लाई संशोधन गर्न बनेको विधेयक मन्त्रिपरिषद्मा पेस भएको जानकारी दिए । उनले यसमा सर्वोच्च अदालतबाट विभिन्न मितिमा भएका फैसला कार्यान्वयनसमेत गरिएको बताए ।

प्रहरी सेवालाई संविधान र प्रचलित कानुन, लोकतन्त्र र कानुनी शासन र मानव अधिकारप्रति प्रतिबद्ध, लैंगिक संवेदनशील, जबाफदेही, उत्तरदायी, प्रभावकारी तथा व्यावसायिक बनाउन विधेयक स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरेको पनि उनले दाबी गरे ।

‘मन्त्रिपरिषद्को कार्यालयमा विधयेक पेस भयो, अब मन्त्रिपरिषदले विधेयक संघीय संसदमा प्रस्तुत गर्न स्वीकृति दिनेछ,’ महाशाखाका प्रमुख रिजालले भने, ‘नेपाल प्रहरी ऐन, २०१२ र सशस्त्र प्रहरी ऐन, २०५८ संशोधन भए संगठनलाई थप सुदृढ र कार्य सञ्चालनमा सहज हुने अपेक्षा गरिएको छ ।’

प्रहरी विधेयक आगामी संघीय संसदबाट पारित गराउने तयारी छ । गृहमन्त्री लेखकले पद बहालीसँगै प्रहरी संगठन समयसापेक्ष व्यवस्थित, सुदृढ र क्रियाशील बनाउने विषय प्राथमिकतामा राखेर विधेयक परिमार्जन र संशोधनलाई गृह मन्त्रालयले अघि बढाएको बताइएको छ ।
गृह मन्त्रालयले दुवै प्रहरी ऐनलाई प्रतिस्थापन गरी प्रहरी सेवाको विशिष्टीकरण, प्रहरी कर्मचारीको हित र कल्याणका नयाँ प्रावधान विधेयकमा समाविष्ट गरिएको जनाएको छ ।

‘विधेयक पारित भएमा प्रहरीमा ३० वर्षे सेवा अवधि हट्नुका साथै प्रहरीको तल्लो दर्जाले १६ वर्षे सेवापछि अवकाश लिन पाउने र प्रहरी संगठन समावेशी र राष्ट्रिय स्वरुपको हुनेछ,’ रिजालले भने ।

प्रकाशित मिति : २०८१ मंसिर १० गते सोमबार