काठमाडौँ ।
प्रेस काउन्सिल नेपालले गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरी अराजकता फैलाएको भन्दै विभिन्न ९ वटा युट्युब च्यानललाई मंगलबार कारबाही गरेको छ । तीमध्ये दर्ता, सूचीकरणबिना चलेका ३ वटालाई आवश्यक अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरोमा पत्राचारसमेत गरेको छ ।
सूचीकरण भएका अन्य सामाजिक सञ्जाल (युट्युब च्यानल)मा भएका अप्रमाणित र एकपक्षीय सामग्रीलाई तत्काल हटाउन वा स्थगन गर्नसमेत काउन्सिलले निर्देशन दिएको छ । काउन्सिलले पछिल्लो समयमा कार्यविधि बनाई कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल र फेसबुक पेजबाट सम्प्रेषित सामग्रीको विशेष अनुगमन गरिरहेको छ ।
केही सामाजिक सञ्जालबाट हालै प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा अपुष्ट, एकपक्षीय आरोपसहित गालीगलौज र अफवाहपूर्ण सामग्री प्रसारित भएपछि त्यस्ता माध्यमलाई कारबाही गरेको काउन्सिलले जनाएको हो । काउन्सिलका सह प्रशासकीय अधिकृत एवम् सहप्रवक्ता रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा आधिकारिक एवम् विश्वसनीय सूचना प्रवाहबाट मात्र पत्रकारिता बलियो र प्रभावकारी हुने भन्दै भ्रम फैलाउने सूचना सामग्री नफैलाउन सम्बद्ध सबैलाई आग्रहसमेत गरिएको छ ।
अभिव्यक्ति स्वतन्त्रता भनेको अराजकता र स्वच्छन्दता कदापि होइन, प्रेस काउन्सिलले विज्ञप्तिमार्फत भनेको छ । प्रेस विज्ञप्तिमा कारबाहीमा परेका माध्यमहरूको विवरणसमेत राखिएको छ ।
काउन्सिलले पछिल्लो समयमा सामाजिक सञ्जालमार्फत भइरहेको अराजकता रोक्न विशेष सक्रियता देखाइरहेको छ । यसअघि विभिन्न युट्युब च्यानल, फेसबुक पेजलाई तथ्यपूर्ण र सन्तुलित सामग्री दिन विशेष अपिल जारी गरेको थियो भने अटेर गर्नेमाथि कारबाहीसमेत गरेको छ ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले मिडियाको परिचय दिई सूचना सामग्री दिने कुनै पनि माध्यम कानुन र पत्रकार आचारसंहिताको सीमामा बस्नुपर्ने बताए । ‘कानुनभन्दा माथि कोही छैन । अन्य निकायलाई प्रश्न उठाउने कुनै पनि सञ्चारमाध्यम, मिडियाको परिचय बोकेका सामाजिक सञ्जाल गैरजिम्मेवार र अनुत्तरदायी हुनुहुँदैन । प्रेस स्वतन्त्रताको अर्थ स्वच्छन्दता हुँदै होइन,’ अध्यक्ष बस्नेतले भने ।
प्रतिक्रिया दिनुहोस्