नेपालगन्ज ।
पर्वको बेला सुनसान बनेका सहरबजारमा पुनः मानिसको चहलपहल बढ्न थालेको छ । नेपालका मुख्य सहरहरूबाट दसैँ मनाउन आआफ्नो मूलथलो गएका मानिसहरू कर्मक्षेत्रमा फर्किनेक्रमसँगै सहर बजारहरूमा चहलपहल बढ्न थालेको हो ।
पश्चिम क्षेत्रको प्रमुख बजार मानिने नेपालगन्जमा पनि क्रमशः मानिसहरूको चहलपहल बढेको छ । दसैँका अवसरमा आआफ्नै ढंगले चलेका सार्वजनिक सवारी साधनहरू पनि रुट अनुसार चल्न थालेका छन् । मानिसहरू आफ्नो काममा फकिएका छन् ।
दसैँको अवसरमा नेपालगन्ज बजार अष्टमीदेखि नै सुनसान भएको थियो । तर बुधबारदेखि नेपालगन्ज बजारमा सवारी साधनसहित आमनागरिकको चाप बढेको छ । पश्चिम नेपालकै सबैभन्दा ठूलो व्यापारिक केन्द्र मानिने नेपालगन्ज उपमहानगरपालिका अन्य प्रमुख सहरहरू जस्तै चाडबाडका बेला सुनसान बन्ने गरेको छ । यसपटक पनि तीन चार दिन नेपालगन्ज बजारमा मानिस तथा सवारी साधनको चाप अत्यन्तै न्यून थियो ।
पूर्व राप्ती सोनारी, नरैनापुर गाउँपालिका र पश्चिम बर्दिया जिल्लादेखि आउने कामदार तथा उपभोक्ताहरूका कारण नेपालगन्जमा निकै चहलपहल हुने गरेको छ । दसैँको अवसरमा आफन्तसँग पर्व मनाउन पुगेकाहरू बुधबारदेखि बजारमा देखा पर्न थालेका छन् । त्रिवेणी मोडदेखि त्रिभुवन चोक र धम्बोजीदेखि सेतु विक चोक चारैतिर मान्छेहरूको चाप बढेको छ ।
तर मंगलबारदेखि भने बजारमा चहलपहल सुरु भएको छ । बन्द भएका पसलहरूसहित सरकारी तथा गैरसरकारी कार्यालयहरू खुलेका छन् । मंगलबारदेखि खुलेका कार्यालयहरूमा बुधबारदेखि सक्रिय कामकाज हुन थालेको छ । पहिलो दिन कर्मचारी तथा सेवाग्राही दुवैको उपस्थिति न्यून थियो ।
राप्ती सोनारी गाउँपालिका–६ बस्ने मनोज थारू नेपालगन्जमा लोकसेवा तयारी गर्दै छन् । दसैँको बेला बिदा मनाउन उनी गाउँ गएका थिए । बिदा सकेर उनी नेपालगन्ज फर्किएका छन् । उनीजस्तै दसैँ मनाउन गाउँ गएका धेरैजसो व्यक्ति आफ्नो व्यापार र कामकाजका लागि बजार फर्किने क्रम बढेको छ । ‘बिदामा घरको काम गर्न पाएँ,’ उनले भने, ‘परिवारसँगै तीन बिघा जग्गामा लगाएको धान काटेर फर्किएँ ।’
त्यस्तै मुस्तफा सर्राफका प्रोप्राइटर इमरान जसगढले बजारमा पुनः मान्छेको चहलपहल बढेको बताए । मान्छेको चहलपहल बढे पनि व्यापारमा कुनै प्रभाव नपरेको उनको गुनासो छ । ‘मान्छेको भीड बढ्दैमा व्यापार हुन्छ भन्न मिल्दैन,’ उनले भने, ‘पर्वको समयमा हुने व्यापार पनि भएन अहिले भीडभाड भए पनि व्यापार छैन ।’
स्थानीय सवारी साधनसहित लामो दूरीका सवारी साधनहरू पनि सञ्चालनमा आएका छन् । दसैँ मनाउन गाउँ गएका प्रायः नागरिक आआफ्नो कर्मक्षेत्रतिर फर्किने क्रम जारी छ ।
प्रतिक्रिया दिनुहोस्