सुर्खेतका फौजामगरको काठमाडौँमा हत्या



काठमाडौँ ।

सुर्खेतको लेकबेँसी नगरपालिका–२ स्थायी घर भई काठमाडौँको कागेश्वरी मनोहरा–९ मा बस्दै आएका ४३ वर्षीय होमबहादुर फौजामगरको हत्या भएको छ । मंगलबार अपरान्ह गोकर्णेश्वर–६ नयाँ बस्तीस्थित सार्वजनिक स्थानमा उनी गम्भीर घाइते अवस्थामा भेटिएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

उनको कुटपिटपछि हत्या गरेको आरोपमा काठमाडौँ प्रहरीले एक महिलासहित तीन जनालाई पक्राउ गरिसकेको छ ।

प्रहरीले फौजामगरलाई कुटपिट गरी हत्या गरेको आरोपमा पाँचथर घर भई कपन बस्दै आएका ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोक घर भई कपन बस्दै आएका ३५ वर्षीय भुवन श्रेष्ठ र इलाम घर भई नयाँ बस्ती बस्दै आएकी २७ वर्षीया विमला भट्टराईलाई पक्राउ गरेको हो ।

विमलाका श्रीमान विदेशमा रहेका छन् । प्रारम्भिक अनुसन्धानमा कुटपिटअघि अमृत र भुवन दुवै जना विमलाको कोठामा रहेको खुलेको छ । उनीहरू तीन जना कोठामा रहेको समयमा त्यहाँ फौजामगर पनि आइपुगेको र त्यहाँ विवाद बढेर उनीहरूले लखेटेको एक अनुसन्धान अधिकृतले जानकारी दिए ।

‘भुवन चाहिँ युवतीको कोठामा आइरहने गरेको भन्ने प्रारम्भिक सूचना छ । थप अनुसन्धान भइरहेको छ,’ ती अधिकारीले भने । यसबारे थप अनुसन्धान भइरहेको काठमाडौँ प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ कात्तिक २ गते शुक्रबार