४३ युट्युब च्यानललाई कारबाहीको सिफारिस



एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामाग्री सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालले युट्युब च्यानललाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ ।

काठमाडौँ ।

तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई प्रेस काउन्सिल नेपालले अनुसन्धान गरी कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको छ । एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामग्री सम्प्रेषण गरेको भन्दै काउन्सिल युट्युब च्यानललाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको हो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको आचारसंहिता अनुगमन उपसमितिको बैठकले ती सामाजिक सञ्जालसहित विभिन्न सञ्चारमाध्यमलाई कारबाही गर्ने निर्णय गरेको थियो । काउन्सिलले सञ्चारमाध्यमका रूपमा दर्ता नभएका त्यस्ता माध्यमबाट गलत सामग्री प्रसारण गरे सचेत गराई नसच्चिएमा थप कारबाहीका लागि प्रहरीमा पठाउँदै आएको छ । सोही अनुसार नै थप ४३ वटा युट्युब च्यानललाई कानुनी कारबाहीका लागि प्रहरीकोमा पठाएको हो ।

सोमबार एक प्रेस विज्ञप्ति जारी गरी काउन्सिलले गत साउन महिनायता हिंसा, आतंकलाई प्रश्रय पुग्ने, हुँदै नभएको निराधार, अफवाह फैलाउने, अतिरञ्जित थम्बनेलसहितको शीर्षक दिई जनमानसमा भ्रम फैलाउने, त्रसित तुल्याउने विरुद्ध कारबाही तीव्र पारिएको जनाएको छ ।

गत चैत २० गतेदेखि काउन्सिलले युट्युब व्यवस्थापन, सूचीकरण र अभिलेखिकरणसम्बन्धी कार्यविधि बनाई नियमित अनुगमन र कारबाही गर्दै आएको छ ।

काउन्सिलका सहप्रशासकीय अधिकृत एवम् सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा युट्युबसहित विभिन्न अनलाइन सञ्चारमाध्यमलाई भएका कारबाहीबारे जानकारी गराइएको छ । काउन्सिलले साउनयता मात्र आचारसंहिता पालना गर्न दिइएको निर्देशन पालना नगर्ने ३ वटा सञ्चारमाध्यमलाई अवज्ञाकारीको कालोसूचीमा राखेको छ ।

त्यस्ता सञ्चारमाध्यम राज्य तहबाट पाइने कुनै पनि सुविधा पाउनबाट वञ्चित हुनेछन् । कालोसूचीमा पर्ने सञ्चारमाध्यममा एबीपी क्राइमन्यूज डट कम, टीभिअन्नपूर्ण डटकम लगायत रहेका छन् । यो आर्थिक वर्षमा ७६ वटा उजुरी दर्ता भएका छन् भने २६९ सामग्री काउन्सिलले स्वअनुगमन गरी कारबाही गरेको छ ।

पत्रकारिताको मूल्य मान्यताअनुरूप पत्रकारिता गर्ने उद्देश्यका साथ सञ्चालित युट्युब च्यानललाई व्यवस्थित तथा मर्यादित बनाउने उद्देश्यका साथ काउन्सिलले कार्यविधि बनाई काम गर्दै आएको प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले बताए ।

‘हाल युट्युब च्यानलबाट सम्प्रेषण हुने सामग्रीका विषयमा उजुरी र गुनासाहरू बढ्दै गएको सन्दर्भमा कार्यविधि बताएर काउन्सिलले नियमन गर्न थालेको छ,’ उनले मिसन टुडेसँग भने, ‘काउन्सिलले नियमित रूपमा नियमन गरिरहेको छ । आगामी दिनमा समेत नियमन हुन्छ ।’

सोमबार जारी विज्ञप्तिमा मिडियाअन्तर्गत सञ्चालनमा रहेका तर आचासंहिता विपरीतका सामग्री सम्प्रेषण गर्ने ५ वटा अनलाइन सञ्चारमाध्यमलाई हटाउन निर्देशन दिई सचेत गराइएको, अरू ५ वटा माध्यमका विवादास्पद सामग्री हटाई स्पष्टीकरण सोधिएको उल्लेख छ । त्यस्तै, ४ वटा दर्ता सूचीकरण नभएका वेबपोर्टल एवम् सामाजिक सञ्जालका सामग्री हटाउन सचेत गराएको बताउँदै काउन्सिलले अन्यथा प्रचलित कानुन बमोजिम कारबाही हुने जनाएको छ ।

विधिवत रूपमा सञ्चालनमा नआई सामग्री सम्प्रेषण गर्ने तर पटकपटक सचेत गराउँदा पनि अवज्ञा गर्ने एक वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए ।

त्यस्तै, विवादास्पद समाचार सम्प्रेषण गर्दै आएका अनलाइनपाना डटकम, स्वास्थ्यलाइभ डटकम, जनता टाइम्स डटकम, खप्तड टिभि डट कम, गुडटिभी डटकम, अर्थसञ्जाल डटकम, ध्वनिखबर डटकमसहितलाई विशेष अनुगमनमा राखी काउन्सिलले निगरानी गरेको जनाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ असोज २२ गते मंगलबार