२५ स्थानमा अहिलेसम्मकै धेरै वर्षा



काठमाडौँ ।

अविरल वर्षाले १४ जिल्लाका २५ स्थानमा रेकर्ड तोडेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन सकिने बेला देशैभर विपद् निम्त्याउने गरी भएको वर्षा दुई दर्जन स्थानमा यसअघि कहिल्यै रेकर्ड नभएको हो ।

विभागका अनुसार सन् १९७१ देखि कायम भएको उच्च वर्षाका रेकर्ड शुक्रबार र शनिबारको वर्षाले तोडेको थियो । काठमाडौँको पानीपोखरी केन्द्रमा मापन भएकोमध्ये सबैभन्दा पुरानो रेकर्ड शनिबार तोडिएको विभागले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागसँग सन् १९७० देखि वर्षाको अभिलेख रहेको छ । शुक्रबार बिहान ८ः४५ देखि शनिबार बिहान ८ः४५ बजेसम्म १४ वटा जिल्लाका २५ मापन केन्द्रहरूमा वर्षाको नयाँ रेकर्ड कायम भएको विभागकी सूचना अधिकारी विभूति पोखरेलले बताइन् ।

देशभरिका यति धेरै ठाउँमा एकै पटक वर्षाको नयाँ रेकर्ड कायम हुनु असामान्य भएको उनले बताइन् । ‘देशभरिका धेरै ठाउँमा एकै पटक रेकर्ड ब्रेक हुने गरी वर्षा भएको छ । यसलाई सामान्य रूपमा लिन सकिँदैन । यसले हामीलाई स्तब्ध बनाएको छ,’ उनले
भनिन् ।

विभागका अनुसार काठमाडौँका ११ वटा मापन केन्द्रमा वर्षाको नयाँ रेकर्ड कायम भएको छ । पानीपोखरी, त्रिभुवन विमानस्थल, बुढानीलकण्ठ, जीतपुरफेदी, नागार्जुन तथा ललितपुरका गोदावरी, खुमलटार, टिकाथली, खोकना, चापागाउँ र भक्तपुरको नंखेल मापन केन्द्रमा नयाँ रेकर्ड बनेको हो ।

विभागका अनुसार मकवानपुरको दामन मापन केन्द्रमा २४ घण्टामा सबैभन्दा धेरै वर्षा मापन भएको छ । यो केन्द्रमा ४१० मिलिमिटर वर्षा मापन भएको थियो । उक्त केन्द्रमा यसअघि सन् १९९३ मा ३७३.२ मिलिमिटर वर्षा मापन भएको थियो ।त्यस्तै काभ्रेपलान्चोकको खोपासी मापन केन्द्रमा ३११.६ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ ।

अर्घाखाँचीको सन्धिखर्क, चितवनको गोविन्दबस्ती, धादिङको गजुरी, झापाको चन्द्रगढी विमानस्थल, काभ्रेकै पाँचखाल र धुलिखेल, नुवाकोटको ककनी, पाल्पाको बल्ड्याङगढी, पाँचथरको फिदिम, सिन्धुपाल्चोकको बाहुनेपाटी, तनहुँको सखर र खैरनीटारमा वर्षाको नयाँ रेकर्ड कायम भएको थियो ।

विभागका अनुसार त्यस अवधिमा देशभरिका २४१ वटा वर्षा मापन केन्द्रहरू मध्ये २२९ वटा केन्द्रमा वर्षा मापन भएको थियो । जसमध्ये १६२ वटा केन्द्रमा ५० मिलिमिटर भन्दा बढी, १२३ वटा केन्द्रमा १०० मिलिमिटर भन्दा बढी, ३३ वटा केन्द्रमा २०० मिलिमिटर भन्दा बढी र पाँच वटा केन्द्रमा ३०० मिलिमिटर भन्दा बढि वर्षा भएको थियो ।

नेपालमा अहिलेसम्म सर्वाधिक धेरै पानी परेको रेकर्ड कञ्चनपुरमा छ । गत असार २३ र २४ गते २४ घन्टाको अवधिमा कन्चनपुरको दोधारामा ६२४ मिलिमिटर, हनुमाननगरमा ५७३.६ मिलिमिटर र सुन्दरपुरमा ५५५ मिलिमिटर वर्षा मापन भएको थियो । विभागले यो वर्षालाई ‘क्लाउड ब्रस्ट भएको बताएको छ ।

प्रकाशित मिति : २०८१ असोज १४ गते सोमबार