काठमाडौँ ।
दसैँका लागि टिकट बुकिङ असोज १२ गतेबाट खुल्ने भएको छ । मंगलबार यातायात व्यवस्था विभागमा सरोकारवाला निकायहरूको उपस्थितिमा भएको छलफल पश्चात् बसहरूको अग्रिम बुकिङ खुला गर्ने निर्णय भएको हो ।
सडकमा भएको खाल्डाखुल्डी पुर्ने, आवागमन सहज बनाउनेलगायत विषयमा अघिल्लो साता पनि सरोकारवालाबीच छलफल भएको थियो । मंगलबार यातायात व्यवस्था विभाग भएको छलफलपछि असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।
बुकिङ खुला गरिएसँगै यात्रुको चाप हुने क्षेत्रमा यात्रु सहायता कक्षहरू स्थापना गरिनेछ । जहाँ नेपाल प्रहरी, यातायातका कर्मचारीले काउन्टरमा अग्रिम बुकिङका लागि पुगेका यात्रुहरूलाई सहजीकरण गर्ने र उनीहरूको गुनासा सुन्ने छन् ।
केही दिनअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले घटस्थापना अघि नै देशभरका सडक मर्मत–सम्भार गरेर सहज बनाउन सडक विभागलाई निर्देशन दिएका थिए । सडक विभागका अनुसार अहिले सडक मर्मतको काम भइरहेको छ । मनसुन सक्रिय भइरहेकाले भने मर्मतमा केही समस्या भएको विभागले जनाएको छ ।
गत वर्ष भने घटस्थापनाको ६ दिनअघि गाडीको अग्रिम टिकट बुकिङ खुलाइएको थियो । यसपटक अग्रिम बुकिङ खोल्नेबारे कुनै निर्णय नहुँदा दसैँका लागि घर जाने यात्रुहरू अन्योलमा परेका थिए । काठमाडौँ उपत्यकामा कामकाज, अध्ययनलगायत विविध कारण मानिसहरू अस्थायी बसोबास गर्दै आएका छन् ।
यसरी अस्थायी बसोबस गरिरहेकाहरू दसैँमा आफ्नै गाउँ जाने गरेका छन् । सोही कारण दसैँमा सहरी क्षेत्रबाट गाउँ जानेको चाप धेरै हुन्छ । दसैँका बेला करिब २० लाख काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्