प्रेस काउन्सिल नेपालको स्थापनाको ५५ वर्ष पुगेको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितीमा पुरस्कारहरू प्रदान गरिने काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताएका छन् ।
काठमाडौँ ।
प्रेस काउन्सिल नेपालले पत्रकारिता पुरस्कारसहित विभिन्न पुरस्कार घोषणा गरेको छ । यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी र नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई)लाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय गरिएको छ ।
काउन्सिलको बिहीबार र शुक्रबार बसेको बोर्ड बैठकले विभिन्न पुरस्कारसम्बन्धी निर्णय गरेको थियो । तीन दशकदेखि पत्रकारिताका विभिन्न विधामा सक्रिय रही सामाजिक रूपान्तरण र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर लागेका पत्रकार भण्डारी र पत्रकारिता प्रशिक्षणमा अग्रणी संस्था एनपीआईलाई यो पुरस्कार प्रदान गरिने लागेको हो ।
यो पुरस्कारको राशि एक लाख ५१ हजार रुपैयाँ रहेको छ । पत्रकारिता तथा आमसञ्चार क्षेत्रको अध्ययन, अनुसन्धान, तालिम एवं प्रशिक्षण संस्थालाई गोपालदास पत्रकारिता पुरस्कारमा समावेश गरिएको काउन्सिलको इतिहासमा पहिलोपल्ट रहेको बताइन्छ ।
नेपाली पत्रकारिता क्षेत्रमा आजीवन समर्पित भएर पत्रकारिता जगतको संस्थागत विकास र प्रतिष्ठाको निम्ति अद्वितीय योगदान दिनुभएका प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष स्व.गोपालदास श्रेष्ठको योगदानलाई चिरस्मरणीय बनाउन उनको स्मृतिमा यो पुरस्कार २०५७ सालदेखि प्रदान गरिँदै आएको हो ।
यस्तै, प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार बर्दिया स्थायी घर भएका अग्रज पत्रकार बद्री सिग्देललाई प्रदान गरिने निर्णय भएको छ । उक्त पुरस्कारको राशि १ लाख १० हजार रुपैयाँ रहेको छ ।
काउन्सिलका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको स्मृतिमा यो पुरस्कार स्थापना भएको थियो । पत्रकार सिग्देलले वि.सं २०४९ सालमा रेडियो नेपालबाट पत्रकारिता सुरु गरेका हुन् । उनले विभिन्न सञ्चारमाध्यममा राजनीति, कानुन, मानवअधिकार, वातावरणीय न्यायजस्ता विषयमा केन्द्रित रही पत्रकारिता गर्दै आएका छन् ।
यस्तै, प्रेस काउन्सिल आचारसंहिता पुरस्कार रातोपाटी डटकमलाई प्रदान गर्ने निर्णय समेत भएको छ । काउन्सिलले सशक्त सञ्चारकर्मी, क्रियाशील, युवा, समावेशी, भाषागत, साहित्यिक, विधागतसहितका पुरस्कार र विभिन्न अग्रज पत्रकारलाई सम्मान समेत गर्नेछ ।
स्थापनाको ५५ वर्ष पुगेको अवसरमा आज आइतबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितीमा काउन्सिलले पुरस्कारहरू प्रदान गरिने काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्