भोजपुर ।
व्यावसायिक भेडापालनमा लागेका भोजपुरका किसान ऊन बिक्री नभएपछि चिन्तामा परेका छन् । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री नभएपछि उनीहरू चिन्तामा परेका हुन् । गाउँघरमा परम्परगत रूपमा गरिँदै आएको राडीपाखी बुन्ने पेसा लोप हुन थालेपछि उत्पादन भएको ऊन बिक्री हुन छाडेको टेम्केमैयुङ–२ का भेडापालक किसान गोविन्द कठेतले जानकारी दिए ।
मैयुङ क्षेत्रका भेडापालक किसानसँग रहेको गत वर्षकै करिब एक सय धार्नी ऊन बिक्री नभएको उनको भनाइ छ । ‘पछिल्लो समय भेडाको ऊन बिक्री हुन छाडेको छ,’ किसान कठेतले भने, ‘गाउँघरमा राडीपाखी बुन्ने चलन हराउँदै गएसँगै ऊन बिक्री हुन छाडेको छ । ऊन नै बिक्री हुन छाडेपछि चिन्ता थपिएको छ ।’
विगतका वर्षहरूमा ऊन गोठबाट नै प्रतिधार्नी सात सयमा बिक्री हुने गरेको थियो । अहिले छिमेकी जिल्ला खोटाङ पु¥याएका मुस्किलले प्रतिकेजी १५० मा बिक्री हुने उनको भनाइ छ । ढुवानीलगायत कारण यसरी बिक्री गरिएको ऊनबाट किसानलाई लाभ नहुने उनले जानकारी दिए । त्यहाँसम्म पु¥याउन नै समस्या रहेको कठेतले बताए । उत्पादित ऊन बिक्री नहुँदा कुहिएर जाने अवस्था आएको छ ।
ऊनबाट बनेको राडीपाखी लुकुनीलगायत बजारमा राम्रो माग भए पनि उत्पादनमा समस्या रहेको उनले बताए । राडीपाखी बुन्ने काम नयाँ पुस्ताको रोजाइमा नपर्दा कच्चा पदार्थका रूपमा रहेको ऊन नै बिक्री हुन नसकेको उनको भनाइ छ ।
किसान कठेतले विगत १५ वर्षअघिबाट व्यावसायिक रूपमा भेडापालन व्यवसाय गर्दै आएको बताए । भेडालाई वर्षमा दुईपटक मुन्डन गरिने उनको भनाइ छ । आफूसँग रहेका ५० वटा भेडालाई मुन्डन गर्दा एकपटकमा सात धार्नीसम्म ऊन उत्पादन हुने उनको भनाइ छ ।
गत वर्षको ऊन नै बिक्री नभएको कठेतले बताए । ऊनालु चारवटा भेडाको एक धार्नी ऊन उत्पादन हुने उनको भनाइ छ । हाल मैयुङ क्षेत्रमा भोजपुर र खोटाङ गरी २० वटा भेडीगोठ रहेको उनले जानकारी दिए । एक भेडीगोठमा न्यूनतम एक सयदेखि अधिकतम पाँच सय वटासम्म भेडा रहेको उनले बताए । यहाँको मैयुङ, छिमालुङ, गिद्दे, मेरुङलगायत स्थानमा भेडापालन हुने गरेको छ ।
भेडापालक किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री हुन छाडेपछि समस्या थपिएको किसान शेरबहादुर कठेतले बताए । सामुदायिक वनमा चरिचरनका लागि शुल्क तिर्नुपर्दा किसान थप मारमा परेको उनको भनाइ छ ।
विभिन्न समयमा भेडामा देखिने रोग, घरपालुवा कुकुर तथा भालुले भेडा मारिदिनेलगायत समस्याले पुख्र्यौली व्यवसाय धान्न मुस्किल पर्ने अवस्था रहेको उनले दुखेसो पोखे ।
‘भेडापालन व्यवसायमा धेरै समस्या छन्,’ उनले भने, ‘लेकाली भेगमा गरिने पेसा भएकाले दुःख धेरै छ । त्योसँगै ऊन बिक्री हुन छाडेको अवस्था छ । विभिन्न रोग तथा घरपालुवा कुकुर, भालुलगायत जंगली जन्तुले भेडा मारिदिँदा धेरै क्षति हुन्छ,’ उनले भने ।
ऊन बिक्री हुन छाडे पनि भेडाको मासु, घ्यू तथा भेडाको बोका (बल्याख्रा)को बिक्रीबाट घरपरिवार चलाउँदै आएको उनी बताउँछन् ।
भेडाको घ्यू डढेको, पोलेको घाउमा औषधिका रूपमा प्रयोग हुने उनले जानकारी दिए । भेडाको मासु प्रतिकेजी १ हजार ५ सयदेखि २ हजार रुपैयाँसम्म र घ्यू प्रतिमाना २ हजारमा बिक्री हुने गरेको उनले बताए ।
भेडाको चार–पाँच महिनाको बोका १५ हजारदेखि १८ हजार रुपैयाँसम्ममा बिक्री हुने उनको भनाइ छ । भेडाको बोकाको भने धेरै माग हुने उनले बताए । भेडापालनमा नयाँ पुस्तालाई आकर्षित गर्न राज्यले प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनी बताउँछन् ।
भेडापालन व्यवसायलाई संरक्षण नगरिएमा केही समयपश्चात पेसा नै संकटमा पर्ने अवस्था रहेको उनको भनाइ छ । –रासस
प्रतिक्रिया दिनुहोस्