प्रेस सङ्ग्रहालयलाई नमुना बनाउने काउन्सिलको तयारी



काठमाडौँ ।

प्रेस काउन्सिल नेपालले विभिन्न कालखण्ड पत्रिका छापिने मेसिनसहितका सञ्चार सामाग्रीलाई प्रेस सङ्ग्रहालयमा राख्न अभियान थालेको छ ।
काउन्सिलले ३ वर्ष अघि सुरु गरेको प्रेस सङ्ग्रहालयमा त्यस्ता मेसिन, टाइपराइटर, कम्पयुटर, विभिन्न पत्रपत्रिकासहितका सामाग्री अवलोकन गर्न सकिन्छ ।

विश्वमै नमुना हुन सक्ने यस खालको सङ्ग्रहालयका लागि सञ्चार सम्बद्ध ऐतिहासिक महत्वका सामग्री उपलब्ध गराउन बिहीवार सार्वजनिक अपिल समेत गरेको छ । बिहीबार एक अपिल जारी गर्दै काउन्सिले विभिन्न सञ्चार माध्यम, सञ्चार गृह, पत्रकार, विश्वविद्यालय, संघसंस्था, व्यक्ति, सरकारी तथा गैर सरकारी निकायहरूलाई सहकार्यका लागि अपिल गरेको हो ।

३ वर्षअघिदेखि काउन्सिल परिसरमा सङ्ग्रहालय स्थापना गरी ट्रेडल मेसिन, कटिङ मेसिन ९म्यानुअल०, केस नेपाली र अङग्रेजी (फन्टसहित रूलरसहितको प्रुफ मेसिन), विभिन्न आकारका चिम्टा, स्टिक, विभिन्न आकारका रुलरहरू, हेडिङ ब्लक फोटासहित, जिङ्क ब्लक (पुराना फोटासहित), ग्यालीहरु, फ्रेम र साँचो र सेट धागो, हाते टाइपराइटर र फ्याक्स मेसिन, पुराना कम्प्युटर मनिटर सङ्ग्रहित गरेर राखिएको छ ।

काउन्सिलले स्थापना गरेको यो सङ्ग्रहालय विश्व प्रेस इतिहासमा नै पहिलो र उदाहरणीय हो । यसबाट प्रेसको इतिहास अध्ययन र अनुसन्धानका लागि टेवा पुग्ने अपेक्षा छ ।‘वर्तमान तथा भावी पुस्तालाई प्रेससँग सम्बन्धित पुराना सामग्रीहरुका बारेमा जानकारी गराउँदै विभिन्न कालखण्डमा विकास एवं प्रयोगमा आएका ऐतिहासिक महत्वका छापाखाना सहित सामग्रीहरू सङ्ग्रहित गरी सोको जगेर्ना गर्नुका साथै प्रेसको इतिहास अध्ययन अनुसन्धानको थलोको रुपमा विकास गर्नु प्रेस सङ्ग्रहालयको मुख्य ध्येय हो ।’

काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी अपिलमा भनिएको छ । काउन्सिलले सङ्ग्रहालयका लागि छुट्टै सब–डोमेन वेबसाइटसमेत सञ्चालनमा ल्याएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ भदौ ६ गते बिहीबार