समाजलाई तर्साउन प्रेस कार्डको दुरुपयोग नगरौंः अध्यक्ष बस्नेत



काठमाडौँ ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजलाई तर्साउन प्रेस कार्डको दुरुपयोग नगर्न आग्रह गरेका छन् । प्रेस कार्ड दुरुपयोग गरेको पाइए कुनै पनि पत्रकारलाई कडा कारबाही गर्ने उनले चेतावनीसमेत दिए ।

बुधवार काउन्सिलमा भएको एक अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले समाजलाई तर्साउन र धम्क्याउन नभइ सिर्जनात्मक काम गर्नका लागि हतियारका रुपमा प्रेस परिचयपत्र उपलब्ध हुने बताए ।

’डाक्टरको हातमा भएको चक्कु गलत प्रयोग गरिए के हुन्छ रु पछिल्ला दिन प्रेस पास दुरुपयोगमा छानबिन भइरहेको जानकारी दिँदै अध्यक्ष बस्नेतले भने, ’मिडियाको प्रेस पास पनि त्यस्तै हो । पत्रकारिताको हितमा समर्पित गर्न पत्रकारलाई प्रेस पास दिइएको हो ।’

बस्नेतले सामाजिक सञ्जालमा आएका सूचना र सञ्चारमाध्यमका समाचारले आममानिसमा अन्योलता र समस्या सिर्जना गरेकाले मिडिया साक्षरता सबैका लागि जरुरी भएको औँल्याए ।

‘पत्रकारलाई, सञ्चारमाध्यमलाई मात्र होइन, अहिले सूचना प्रविधिको कारण मिडिया साक्षरता समाजका लागि पनि आवश्यक छ । हामीले कुन कस्तो मिडिया हो, फरक छुट्याउन सक्नुपर्छ,’ उनले भने ।

आम सूचना अहिले जसले जहाँबाट पनि दिन सक्ने भन्दै अध्यक्ष बस्नेतले पत्रकारले निर्माणका कुरा, सकारात्मक परिवर्तनका सवाल र रचनात्मक विषयलाई सम्प्रेषण गर्न सक्नुपर्ने बताए ।

प्रकाशित मिति : २०८१ भदौ ५ गते बुधबार