काठमाडौँ ।
यती एअरलाइन्सले अन्तर्राष्ट्रिय हवाई यातायात संघ(आईएटीए) को मानक सुरक्षा कार्यक्रमको मापदण्ड (आईएसएसए) हाँसिल गरेको छ । उड्डयनको क्षेत्रमा आईएसएसएको यो प्रमाण–पत्र उत्कृष्ट हवाई सुरक्षा कायम गर्ने एअरलाइन्सलाई मात्र प्रदान गरिन्छ ।
यस विषयमा यती एअरलाइन्सका सीईओ सुभाष सापकोटाले भने, ‘आईएसएसएको प्रमाण–पत्र प्राप्त गर्न पाउँदा हामी धेरै नै गौरवान्वित छौं । हवाई सुरक्षा र परिचालन प्रक्रियाहरुको गुणस्तर बढाउने हाम्रो प्रयासमा यो एउटा महत्वपूर्ण उपलब्धी हो । यस उपलब्धीले हाम्रो सम्पूर्ण टोलीको कडा परिश्रम र समर्पणलाई प्रतिबिम्बित गरेको छ, साथै यात्रुहरूलाई सुरक्षित र भरपर्दो हवाई यात्रा अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई थप पुष्टि गरेको छ ।’
आईएसएसए कार्यक्रमले प्रमाण–पत्र प्रदान गर्नुपूर्व एअरलाइन्स अपरेटरको सुरक्षा व्यवस्थापन प्रणालीको सूक्ष्म ढंगले मूल्याङ्कन गर्ने गर्छ । विभिन्न चरणमा मूल्याङ्कन गरी विश्वव्यापी मापदण्डका प्रत्येक आवश्यकता कार्यान्वयन गरेकोले यती एअरलाइन्सलाई आईएसएसए अपरेटरको मान्यता दिइएको हो । यात्रुहरूलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय हवाई सेवा प्रदान गर्ने यती एअरलाइन्सको नयाँ मिसन हो ।
व्यापार विस्तारका क्रममा हवाई सुरक्षालाई उच्च प्राथमिकतामा राखी यात्रुहरुको सन्तुष्टि कायम गर्न प्रतिबद्ध रहेको यती एअरलाइन्सले जनाएको छ । त्यसैले, पछिल्लो समय एअरलाइन्सले विश्वव्यापी उड्डयन सुरक्षा मापदण्डहरू पूरा गरी अत्याधुनिक प्रविधि, प्रशिक्षण कार्यक्रमहरू र सुरक्षा व्यवस्थापन प्रणालीहरूमा व्यापक लगानी गरेको छ ।
आईएटीएद्वारा प्रदान गरिएको आईएसएसएको प्रमाण–पत्र यती एअरलाइन्सको अन्तर्राष्ट्रिय स्तरको सुरक्षा मापदण्ड, प्रभावकारी व्यवस्थापन प्रणाली र कार्य सम्पादनमा निरन्तर सुधार भएको प्रमाण हो । यती एअरलाइन्स सन् २०१६ देखि नै आईएसएसए अपरेटरको रुपमा दर्ता हुँदै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्