आठ दलहरूको विरोध



कोहलपुर ।

प्रतिष्ठानका नाममा कोहलपुर नगरपालिकाले नेपाली कांग्रेस र नेकपा एमालेलाई ३/३ कट्ठा जग्गा दिएको भन्दै ८ राजनीतिक दलहरूले विरोध जनाएका छन् ।

बुधबार कोहलपुरमा क्रियाशित ८ राजनीतिक दलहरूले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सत्तासिन नेपाली कांग्रेस र एमालेले कोहलपुरमा रहेका सार्वजनिक जग्गामा प्रतिष्ठानका नाममा पार्टी कार्यालय स्थापना गर्नका लागि प्रक्रिया अगाडि बढाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

नेकपा (माओवादी केन्द्र), नेकपा एस, रास्वपा, नागरिक उन्मुक्ती लगायतका ८ राजनीतिक दलहरूले विज्ञप्तिमार्फत कोहलपुरमा सुकुम्बासीको व्यवस्थापनमा चूनौती थपिदैँ गइरहेको परिस्थितीमा सत्तारुढ दलले थालेको प्रक्रियाप्रति विरोध जनाएका छन् ।

‘प्रतिष्ठानका नाममा पार्टी कार्यालय बनाउन सत्तासिन दुई पार्टी नेपाली कांग्रेसले तेह्र बिगाहमा र नेकपा (एमाले) ले प्रेमनगरमा ३/३ कट्ठा जग्गा गोला प्रथा प्रणालीबाट बाँडफाँड गर्ने गरी प्रक्रिया अगाडि बढाएको सुन्नमा आएको र सो सम्बन्धमा तपसिलका राजनैतिक दललाई ध्यानाकर्षण भई कोहलपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख एवं नेपाली कांग्रेसका नगर सभापतिसँग छलफल गर्दा सो प्रक्रिया अगाडि बढेको भन्ने स्वीकारोक्ति धारणा आएकोले यस प्रकारका महत्वपूर्ण सार्वजनिक जग्गाहरू सत्ताको आडमा बाँडफाँड नगर्न जोडदार माग गर्दछौँ ।’

नेकपा (माओवादी केन्द्र) नगर अध्यक्ष अबराज खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर कार्यबाहक संयोजक गंगा पोख्रेल, राप्रपा नगर सचिव धनबहादुर थापा, नागरिक उन्मुक्ति पार्टी बाँके सचिव भुम भण्डारी, नेकपा एसका नगर अध्यक्ष शिवप्रसाद डाँगी, ने.म.कि.पा. नगर अध्यक्ष शेरबहादुर शाही, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष तिलक राज पौडेल र राप्रपा नेपालका जिल्ला उपाध्यक्ष यज्ञराज रेग्मीले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : २०८१ साउन ३१ गते बिहीबार