सबै युट्युबरलाई पत्रकार भन्न मिल्दैन: प्रेस काउन्सिल अध्यक्ष बस्नेत




बालकृष्ण बस्नेत
अध्यक्ष
प्रेस काउन्सिल नेपाल

प्रेस काउन्सिल नेपालले पछिल्लो समय के कस्ता गतिविधि अगाडि बढाएको छ ?

प्रेस काउन्सिल नेपालले समाचार माध्यम र सञ्चारकर्मीलाई जिम्मेवार र मर्यादित बनाउनका लागि विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ । आचारसंहिताको दृष्टिले सञ्चारमाध्यमहरूले कसरी काम गरिरहेका छन् भन्ने विषयमा अनुगमन गर्ने काम गरिरहेको छ । साथै पत्रकारितामा जुन विश्वसनीयताको प्रश्न उठ्ने गरेको छ, सञ्चारमाध्यमप्रति पनि विभिन्न प्रश्न उठ्ने गरेका छन् । यी विषयहरूलाई कसरी निराकरण गर्ने भनेर काउन्सिलले काम गर्दै आएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग गरेर सञ्चालित सञ्चारमाध्यमहरूमा देखिएका कन्टेन्टहरूले समाजलाई दिग्भ्रमित बनाउने काम पनि गरिरहेका छन् । मानिसहरूमा सोसल मिडियामा आएका समाचार पनि आधिकारिक समाचार नै हुन् भन्ने भ्रम परेको छ । सामाजिक सञ्जाल र सञ्चार माध्यममा आएका समाचारलाई एउटै दृष्टिले हेर्ने प्रवृत्ति देखिएको छ ।

जसले समाजमा ठूलो भ्रम सिर्जना गरेको छ । यसको फरक छुट्याउन पनि काउन्सिलले अहिले पहल गरिरहेको छ । सञ्चार माध्यम भनेको सञ्चार माध्यम नै हो । सञ्चार माध्यममा काम गर्नेलाई पत्रकार भनिन्छ तर युट्युबलगायत सामाजिक सञ्जाल मात्र चलाउने व्यक्तिलाई पत्रकार भनिँदैन । यो कुरा बुझाउने अभियान पनि हामीले गरिरहेका छौँ ।

आमसञ्चार र सोसल मिडियाका बारेमा आम सञ्चारकर्मीभन्दा पनि आम पाठक, दर्शक, श्रोतामा बढी भ्रम देखिन्छ । तपाईंले भनेझैँ युट्युब वा सामाजिक सञ्जालमा आएका कुनै व्यक्तिका समाचार, विचार वा दृष्टिकोणलाई नै सत्यतथ्य र आधिकारिक मान्ने प्रवृत्ति बढ््दो छ । यसलाई चिर्न काउसिन्लले के गरिरहेको छ ?

यसमा प्रमुख रूपमा डिजिटल साक्षरताको अभाव देखिन्छ । कतिपय सामाजिक सञ्जाल चलाउने साथीहरूले बुझ्नु जरुरी छ । सामाजिक सञ्जालमा आएका सबै कुरा समाचार हुन सक्दैनन् । समाचार हुनका लागि के–के कुरा आवश्यक पर्छ भन्ने कुरा बुझ्नुपर्छ ।

समाचारका लागि आधारभूत पक्षहरूको ज्ञान हुनुपर्छ । पत्रकारिताका आधारभूत कुरा फाइभ डब्लू एच, एबीसी अर्थात एक्युरेसी, ब्यालेन्स र क्रेडिबिलिटीजस्ता कुरा नबुझी समाचार प्रकाशन/प्रशारण गर्ने कुराले समाजमा दिग्भ्रम सिर्जना गरेको छ भने आलोचना पनि बढिरहेको छ ।

सर्वप्रथम त सञ्चार माध्यममा काम गर्ने सबै साथीहरूले यो कुरा बुझ्न जरुरी छ । अर्कातिर डिजिटल साक्षरताको अभावमा जनमानसमा पनि सामाजिक सञ्जाल र समाचार माध्यममा आएका समाचारको भेद छुट्याउन नसकिरहेको अवस्था देखिन्छ । यो भ्रम चिर्नका लागि सञ्चारकर्मी सँगसँगै राज्यले पनि भूमिका खेल्नुपर्छ । राज्यले डिजिटल साक्षरताका लागि स्रोत साधनको व्यवस्था गरिदिनुपर्छ र विभिन्न सचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्नुपर्छ । हामीले यो विषयमा सरकारलाई निरन्तर सुझाव पनि दिँदै आइरहेका छौँ ।

युट्युबलगायत सामाजिक सञ्जाल समाजमा प्रभावी बन्दै गइरहेको अवस्थामा अब यिनीहरूलाई पनि मिडियाको मूल प्रवाहमा समाहित गर्नुपर्ने आवश्यकता देखिँदैन र ?

हामीले प्रयास गरिरहेका छौँ । युट्युब अहिले एक जना युट्युबरका लागि मात्र होइन, सबै सञ्चार माध्यमहरूका लागि एउटा प्लेटफर्म बनिरहेको छ । रेडियो, टिभी, पत्रपत्रिका वा अनलाइन कुनै पनि सञ्चारका लागि युट्युब एउटा उपयुक्त माध्यम हो । तर यो माध्यमलाई उपयोग गरेर सञ्चार माध्यमलाई कसरी प्रभावकारी बनाउने भन्ने कुरा सञ्चार माध्यमको प्रयोगकर्ताको हातमा हुन्छ ।

त्यसका लागि त्यहाँ सम्पादन प्रक्रिया भएको हुनुपर्छ । पत्रकारिता बुझेको उपयुक्त जनशक्ति हुनुपर्छ । सम्पादन प्रक्रियाका विभिन्न चरणहरू पार गरेको हुनुपर्छ । त्यसैगरी सीपयुक्त हुनुपर्छ । स्रोत र साधनका अलावा परिपक्व पनि त्यत्तिकै हुनुपर्छ । अहिले परिपक्व पत्रकारिता नभएका कारण नै युट्युब वा अन्य सञ्चारमाध्यममा आएका समाचारहरूको विश्वसनीयतामा संकट देखिएको छ ।

बालकृष्ण बस्नेतअध्यक्ष प्रेस काउन्सिल नेपाल

बालकृष्ण बस्नेत । अध्यक्ष, प्रेस काउन्सिल नेपाल

अहिले आधिकारिक सञ्चार माध्यमहरूमै पनि सञ्चार क्षेत्रका आधारभूत कुराहरू नबुझी, न्यूनतम मापदण्डको पनि पालना नगरी र आचारसंहिताका कतिपय पक्षलाई ख्याल नगरी जनशक्ति परिचालन भइरहेको पाइन्छ । काउन्सिल जस्ता अनुगमनकारी संस्थाले यसतर्फ किन ध्यान दिन नसकिरहेका ?

यसमा धेरै कारणहरूले भूमिका खेलेका छन् । पहिलो कुरा त सञ्चार क्षेत्रमा विज्ञापन बजारको अभाव हुँदै गएको छ । सूचना प्रविधिको तीव्र विकासले गर्दा विज्ञापनको बजार अन्यत्र मोडिएको अवस्था छ । तर यो अनुसार मिडियाले आफ्नो कन्टेन्टको बाटो परिवर्तन गर्न सकेको छैन । अर्को हामीले पत्रकारितामा समयानुसारको जनशक्ति उत्पादन गर्न सकेका छैनौँ ।

हामीले अहिलेको समयअनुसारको जुन मिडिया रणनीति तयार गर्नुपथ्र्यो त्यो पनि गर्न सकेका छैनौँ । यसले गर्दा अहिले छापा सञ्चारमाध्यमलाई अलि बढी संकट देखिएको छ । यसको मारमा अहिले समाचारका विषयबस्तु परेका छन् । किनभने पर्याप्त जनशक्ति, पर्याप्त दक्ष जनशक्ति र पर्याप्त ज्ञान, सीप र अनुभव नहुँदा यसको असर समाचार र समाचारजन्य प्रस्तुतिमा परेको छ ।

यही कारण पनि सामाजिक सञ्जाल हाबी भएको जस्तो देखिन्छ । तर सामाजिक सञ्जाल केवल माध्यमहरू मात्र हुन् भन्ने कुरा बुझाउन सकियो भने योे समस्या स्वतः कम भएर जान्छ । व्यक्तिगत रूपमा चलेका सामाजिक सञ्जाल कहिल्यै पनि समाचार माध्यम हुन सक्दैनन् ।

सामाजिक सञ्जाल मात्र चलाएको भरमा कोही पनि पत्रकार हुन सक्दैन । पत्रकारको फरक परिभाषा छ, सञ्चार माध्यमको फरक परिभाषा छ । त्यसैले पत्रकारितालाई कसरी प्रभावकारी रूपमा उपयोगी बनाउन सकिन्छ भन्ने विषयमा राज्यले एउटा स्पष्ट रणनीति बनाएर अघि बढ्नु जरुरी छ । त्यसैगरी सञ्चार माध्यम स्वयम्ले पनि आफूलाई परिवर्तन गर्न जरुरी छ ।

सञ्चार माध्यमको मूल मर्म र ध्येयअनुसार समाचारहरू प्रकाशित र प्रशारित हुने कुरा र पत्रकार आचारसंहिता पालना गर्ने कुरामा आम रूपमै समस्या देखिने गरेको छ । तर वर्षमा एकाध घटनामा मात्र प्रेस काउन्सिलले सचेत गराउने, कारबाही गर्ने काम गरिरहेको पाइन्छ । प्रेस काउन्सिलजस्ता अनुगमनकारी निकायहरूको सबै ठाउँमा सबै तहमा मसिनो गरी किन ध्यान पुग्न नसकेको ?

हाम्रो पहिलो काम भनेको आचारसंहिताको दृष्टिले सञ्चारमाध्यमहरू ठीक छन् कि छैनन् । छैनन् भने के गर्नुपर्छ र क–कसले उल्लघंन गरेका छन् उनीहरूलाई उपयुक्त कारबाही गर्ने हाम्रो प्रमुख जिम्मेवारी हो । दास्रो कुरा भनेको नीतिगत रूपमा सुधार गर्नका लागि सरकारलाई सुझाव दिने हो । हामीले समान ढंगले प्रभावकारी रूपमा विज्ञापन वितरणका लागि पनि सरकारलाई सुझाव दिँदै आएका छौँ ।

साथै सञ्चार क्षेत्रका लागि उपयुक्त कानुन निर्माणका लागि पनि हाम्रो सुझाव रहँदै आएको छ । त्यसैगरी सञ्चारकर्मीहरूले गल्ती गरेका छन् भने पनि उनीहरूलाई उजुरी वा स्वअनुगमनका आधारमा ध्यानाकर्षण गराउने, कारबाही गर्ने हाम्रो जिम्मेवारी हो । यी काम शतप्रतिशत रूपमा भएका छन् भनेर म दाबी त गर्दिनँ तर हामी केही नगरी चुप लागेर बसेका पनि छैनौँ ।

पछिल्लो समय सञ्चारकर्मी वा सञ्चारमाध्यमहरूमा आचारसंहिता उल्लघंनका घट्नाको स्थिति के छ ?

अहिले सबैभन्दा बढी डिजिटल प्लेटफर्ममार्फत सञ्चालित मिडियाहरू युट्युब च्यानल, अनलाइन मिडियाहरूमा आचारसंहिता उल्लंघनका घटना भएको देखिन्छ । जसमा अर्कालाई गाली बेइज्जती गर्ने, आधारहीन तथ्यहीन समाचार बनाउने, भ्रमपूर्ण सामग्री राख्ने, अफवाह फैलाउने, शीर्षकहरू नै भ्रमपूर्ण राख्ने गरेको पाइन्छ ।

यसो नगर्नका लागि काउन्सिलले पछिल्लो समय उनीहरूलाई सचेतना कक्षा सञ्चालन गर्दै आएको छ । सचेतना कार्यक्रमपछि कतिपय यस्ता मिडियाका सञ्चालकहरू सच्चिएर आएको अवस्था पनि छ । काउन्सिलले यो अभियान काठमाडौँमा मात्र होइन देशका विभिन्न भागमा सञ्चालन गर्दै आएको छ ।

तपाईंसहितको काउन्सिल टोलीको यो नेपालगन्ज आगमन पनि यही अभियानको निरन्तरता हो ?

हो, यही अभियान लिएर नै हामी नेपालगन्ज आएका हौँ । खासगरी नयाँ मिडियाले समस्याभन्दा पनि अवसर ल्याएको छ । यसको हामीले सचेतनापूर्वक उपयोग ग¥यौँ भने यसले मिडियालाई फाइदा नै पुग्छ । त्यसैले यी मिडियामार्फत पनि जनचेतना जगाउन सकिन्छ भनेर जागरण ल्याउने अभियानअन्तर्गत हामी यतिबेला नेपालगन्ज आइपुगेका छौँ ।

सरकारले सञ्चार क्षेत्रको विकास र प्रवद्र्धनका लागि के कस्ता काम गरेको छ ?

सरकारले हामीले सोचेजस्तो वा अपेक्षा गरेजस्तो काम त गरेको छैन । अहिले मिडियालाई परेको संकट निवारण वा न्यूनीकरण गर्न सरकारले के के ग¥यो त भनेर परिणाममा हेर्ने हो । यसरी हेर्दा ठ्याक्कै सरकारले यो यो ग¥यो भनेर भन्न सक्ने अवस्था छैन । हामीले सरकारलाई झकझक्याउने, आवाज उठाउने काम गरिरहेका छौँ ।

देशव्यापी रूपमा पत्रकारबाट सुझाव लिएर पत्रकारितालाई मर्यादित र जिम्मेवार बनाऔँ भनेर प्रेस काउन्सिलले अभियान थालेको छ । त्यसैका आधारमा नीतिगत तहमा कानुन बनाउने सन्दर्भमा सरकारलाई सुझाव दिने काम गरेका छौँ । तर सरकारले प्रेस स्वतन्त्रताको संवद्र्धन प्रवद्र्धन गर्न, सञ्चार क्षेत्रलाई बचाउन वा मर्यादित र जिम्मेवार बनाउनका लागि ठोस काम केही गर्न सकेको छैन ।

मिडिया प्रवद्र्धनका लागि सरकारले नीतिगत रूपमा कस्ता–कस्ता काम गरिदेओस् भन्ने सुझाव वा अपेक्षा हो ?

सर्वप्रथम त मिडियालाई बचाउने भनेको विज्ञापनले नै हो । विभिन्न सरकारी निकायहरूबाट प्राप्त हुने स्थानीय, प्रदेश र केन्द्रका विज्ञापनहरूलाई वर्गीकरण गरी सबैखालका सञ्चार माध्यमहरूमा वितरण गर्ने सुनिश्चितता गर्नुपर्छ । विद्यमान कतिपय ऐन, कानुन र प्रावधानले यसलाई रोकेका छन् । भएका विज्ञापन पनि कतिपय मुठ्ठीभर व्यक्तिले भूमिगत शैलीमा वितरण गर्ने काम गरिरहेका छन् । सरकारी स्रोत र साधनको दुरूपयोग भइरहेको छ ।

हामीले यस्तो प्रवृत्तिको अन्त्यका लागि विभिन्न निकायमा लेखेर पठाएका पनि छौँ । विज्ञापनको समुचित वितरण हुनुपर्छ भनेर सरकारलाई पनि घचघच्याएका छौँ । सरकारले पत्रपत्रिकालाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापन रेडियो, टिभी, अनलाइनलगायतका सञ्चारमाध्यमहरूलाई पनि उपलब्ध गराउन र त्यो पुरानो मापदण्ड अनुसारको भएकाले त्यसलाई समयानुकूल बढाएर वितरण गर्न पनि हामीले सुझाव दिएका छौँ । तर हामीले दिएका सुझाव कुनै पनि कार्यान्वयन भएका छैनन्् ।

काउन्सिलकै प्रत्येक वर्षको वर्गीकरणका आधारमा सरकारले पत्रपत्रिकाहरूलाई लोककल्याणकारी विज्ञापन वितरण गर्दै आएको छ । तपार्ईंले यसको रकम नयाँ मापदण्डअनुसार बढाएर समयानुकूल बनाउनुपर्ने कुरा गरिरहँदा २०७७÷७८ देखि काउन्सिलले वर्गीकरण नै गर्न सकेको छैन । यस्तो अवस्थामा कसरी नयाँ मापदण्डअनुसार वितरण गर्ने ? लामो समयदेखि किन पत्रपत्रिकाको वर्गीकरण हुन नसकिरहेको ?

यसमा हाम्रो भन्दा पनि सरकारकै बढी जिम्मेवारी छ । प्राविधिक कारणले यस्तो अवस्था सिर्जना भएको हो । सरकारले काउन्सिलमा ३ जना सदस्य मनोनीत गरेर पठाउनुपथ्र्यो तर वर्तमान सरकारले लामो समयसम्म पठाएन ।

हामीले अन्तिम अवस्थामा पु¥याएको वितरण संपरीक्षणको काम पनि अगाडि बढ्न सकेन । सदस्यहरूको पूर्णता नभएका कारण त्यो रोकिएको हो । अहिले त्यो समस्या छैन । अब यो काम अन्तिम चरणमा पुगेको छ ।

राज्य, सरकार, समाजसँग हामी सञ्चारकर्मी धेरै अपेक्षा राख्छौँ । तर सञ्चार क्षेत्रलाई मर्यादित, विश्सनीय र जिम्मेवार बनाउन स्वयम् हामी सञ्चारकर्मी र सञ्चार माध्यमले कस्तो भूमिका खेलिरहेका छौँ । यसको आत्मसमीक्षा गर्नु पर्दैन ?

अवश्य पर्छ । हामीले अरूलाई प्रश्न उठाएर र अरूसँग अपेक्षा राखेर मात्र हुँदैन । यसको प्रमुख जिम्मेवारी हाम्रै काँधमा छ । पत्रकारितालाई विश्वसनीय बनाउन, पत्रकारिताप्रति आकर्षण बढाउन हामीले कस्ता जनशक्ति, कस्ता कन्टेन्टहरू उत्पादन गरिरहेका छौँ, सामाजिक सञ्जालभन्दा हाम्रा कन्टेन्टहरू के कति फरक छन् यी विषयमा हामीले गम्भीर आत्मसमीक्षा नगरी हुँदैन ।

अहिले समाजमा सञ्चारकर्मीहरूप्रतिको आमधारणा बदलिँदै गएको पाइन्छ । सञ्चारकर्मीप्रतिको धारणा क्रमशः नकारात्मक बन्दै गएको छ । यस्तो अवस्थालाई चिर्न अब सञ्चार सम्बद्ध व्यक्ति तथा संघसंस्थाहरूले कस्तो भूमिका खेल्नु जरुरी छ ?

हामीप्रतिको समाजको धारणा कस्तो बनाउने भन्ने कुरा प्रमुख रूपमा हामी मिडियाकर्मीकै हातमा छ । हामीले जस्तो पत्रकारिता गर्छौं त्यसको प्रतिफल त्यस्तै आउने हो । अहिले प्रायः समाजमा सबैतिर नकारात्मकता छाएको छ । यसै पनि समाजमा अहिले केही भएन, केही हुँदैन भन्ने नैराश्यताको अवस्था छ । त्यसैलाई मलजल हुने गरी हामीले हाम्रा विषयबस्तु दिनुहुँदैन । पत्रकारहरू खाली नकारात्मक कुरा मात्र देख्छन्, उल्टो मात्र सोच्छन् भन्ने खालको कतिपयको बुझाइ पनि छ ।

यो सम्पूर्ण रूपमा सही नभए पनि असत्य पनि होइन । त्यसैले अब हामीले पत्रकारिताको धारलाई परिवर्तन गरेर रचनात्मक बनाउनु जरुरी छ । सकारात्मक कामलाई बाहिर ल्याउने, अनुसन्धान तथा खोजमूलक पत्रकारितामा जोड दिने, के भयो वा के भएन भन्ने भन्दा पनि अब के गर्नुपर्छ भनेर सुझावसहितको पत्रकारिता गर्नु आवश्यक छ ।

पत्रकारिता पहिला आफैँ शुद्ध हुनुपर्छ । पत्रकारिताभित्रै शुद्धिकरण भएन भने पत्रकारिताको व्यावसायिकतामा ह्रास आउँछ र यसले समाजमा पत्रकारको छविलाई पनि धुमिल बनाउँछ ।

  • No tags available
प्रकाशित मिति : २०८१ असार २७ गते बुधबार