कोहलपुर कृषि हाट बजारकी ‘गहना’



उनलाई पनि अन्य काम गर्नुभन्दा बारीमै फलेको तरकारी फलफूल ल्याएर बजारमा बेच्नुमै आनन्द आउने गरेको छ । उनका दुई छोरा र चार छोरी छन् । सबै घरबारे भएर आआफ्नो काममा व्यस्त छन् । उनका श्रीमान् फूलाराम थारू भने उनलाई सघाउँछन् । उनी घरमा बसेर तरकारी उत्पादन गर्छन् । सीतारानी बजारमा ल्याएर त्यसलाई बेच्छिन् । हरेक बिहान घरदैलोमा स्वच्छ र ताजा तरकारी डुलाउदै हिँड्ने परिश्रमी र मिहिनेती थारू महिलाहरू सम्मानका हकदार बनेका छन् । त्यसमाथि सीतारानी जस्ता ज्येष्ठ नागरिकसमेत उत्पादन कर्ममा जोडिएका छन् । यो समाजका लागि गर्वको कुरा हो ।

कोहलपुर । 

कोहलपुरको कृषि हाट बजारमा सीतारानी थारूलाई नचिन्ने मानिस सायदै होलान् । नामले नचिने पनि उनको अनुहार र कर्मलाई यहाँका सबैले चिनेका छन् । हरेक दिनजसो कृषि बजारमा भेटिने उनी यहाँकी एक जना नियमित आगन्तुक हुन् । उनी यहाँ आफूले फलाएका विभिन्न तरकारी लिएर बेच्न आउने गरेकी छन् । यो उनको आजको होइन, करिब २० वर्षभन्दा अघिदेखिको नियमित कर्म हो ।

कोहलपुर मदनचोककी सीतारानी हाल उमेरले ८५ वर्षकी पुगिन् । तै पनि उनी हरेक बिहान कोहलपुर कृषि बजारमा तरकारी बेच्न आइपुग्छिन् । उमेरको उकालोले उनलाई अझै गलाएको छैन । ‘अहिलेसम्म यहाँसम्म आएर तरकारी बेच्न सकेकी छु,’ उनी भन्छिन्, ‘भगवान्ले साथ दिएकाले अहिलेसम्म त्यस्तो खासै समस्या छैन ।’ आँखा अलि कमजोर भएकाले उनले चस्मा भने लगाएकी छन् । बाँकी स्वास्थ्यमा कुनै अप्ठेरो छैन ।

जब २०६० साल माघ ९ गतेदेखि कोहलपुर कृषि हाट बजार सुरु भयो तबदेखि सीतारानी नियमित यहाँ आइरहेकी छन् । उनी कहिले आँप बोकेर बेच्न आउँछिन, कहिले टमाटर र खुर्सानी लिएर आउँछिन् । कहिले मेवा बोकेर आउँछिन् त कहिले अण्डा लिएर बेच्न आउँछिन् । ‘उहाँ अरूजस्तो व्यावसायिक किसान त होइन,’ कोहलपुर कृषि हाट बजारकी व्यवस्थापक चित्रा पाठक (शान्ता पन्थी) भन्छिन्, ‘तर प्रायः उहाँ घरमा फलेका आँप, मेवा, खुर्सानी जस्ता फलफूल तथा तरकारी बोकेर यहाँ बेच्न आउनुहुन्छ ।’ यो बजारका लागि सीतारानीको बेग्लै महत्व भएका पाठकको भनाइ छ ।

अब त सीतारानीको यो एक किसिमको लत नै बनिसक्यो । उनलाई पनि अन्य काम गर्नुभन्दा बारीमै फलेको तरकारी फलफूल ल्याएर बजारमा बेच्नुमै आनन्द आउने गरेको छ । उनका दुई छोरा र चार छोरी छन् । सबै घरबारे भएर आआफ्नो काममा व्यस्त छन् । उनका श्रीमान् फूलाराम थारू भने उनलाई सघाउँछन् । उनी घरमा बसेर तरकारी उत्पादन गर्छन् । सीतारानी बजारमा ल्याएर त्यसलाई बेच्छिन् । ‘दुवै बूढाबूढी मिलेर तरकारी फलाउँछौँ,’ सीतारानी भन्छिन्, ‘म यहाँ ल्याएर तरकारी बेच्छु ।’

सीतारानी बदलिँदै गएको कोहलपुर कृषि हाट बजारकी एक साक्षी हुन् । उनका आँखाले कृषि बजारभित्र भएका अनेकन परिवर्तन नियालेका छन् । कोहलपुरमा कृषि हाट बजार स्थापना भएदेखि अहिलेसम्म उनी निरन्तर यहीँ तरकारी बेच्दै आएकी छन् । ‘म यो बजार खुलेदेखि नै यहीँ तरकारी बेच्दै आएकी छु,’ उनले भनिन्, ‘अहिले कहाँकहाँदेखि यहाँ मानिस तरकारी किनबेच गर्न आउँछन् । तर हिजो यहाँ तरकारी किन्ने र बेच्ने मानिस औँलामा गन्न सकिने थिए ।’

अहिले बिहान सबेरैदेखि कृषि बजारमा मानिसहरूको चहलपहल हुने गरेको छ । हरेक बिहान टाढा टाढादेखि किसानहरू आफूले फलाएका विभिन्न तरकारी र फलफूल लिएर यहाँ बेच्न आइपुग्छन् । त्यहाँबाट नबिकेका तरकारी घरघरमै डुलाएर पनि बेच्ने गरिएको पाइन्छ ।

‘तिना लैल्यो’ भन्दै कोहलपुरका गल्ली र चोकचोकमा टाउकोमा छिटुवा बोकेर तरकारी बेच्ने महिलाहरू हिँडिरहेका भेटिन्छन् । पुरुषहरू साइकल वा भारमा तरकारी बेच्दै घरघर डुल्छन् । तिनीहरूमध्ये अधिकांश थारू समुदायका महिला तथा पुरुष हुने गर्छन् ।

उनीहरू प्रायः बाँके र बर्दियाका विभिन्न स्थानबाट कोहलपुरमा तरकारी बेच्न आएका भेटिन्छन् । पछिल्लो समयमा आफूसँग भएको सीमित जग्गामा तरकारी उत्पादन गर्ने र त्यसलाई नजिकको बजारमा बेच्ने प्रचलन बढ्दै गएको छ । यसले भारतीय तरकारीलाई केही हदसम्म विस्थापित पनि गरेको छ ।

राज्यको किसानमैत्री स्पष्ट नीतिको अभावमा व्यावसायिक रूपमा ठूलाठूला फर्म सञ्चालन हुन नसके पनि ससानो स्केलमा यसरी नै किसानले आफूले उत्पादन गरेका फलफूल तथा तरकारी नजिकैका बजारहरूमा बेच्दै आएका छन् । जसले नेपालमा भारतीय तरकारी ल्याएर बेच्ने गरेका डुलन्ते व्यापारीलाई धेरै हदसम्म विस्थापित गरिदिएको छ ।

यो कर्ममा विशेषगरी थारू समुदायका मानिसको बढी संलग्नता रहने गरेको पाइन्छ । थारू समुदायका महिला तथा पुरुषहरू स्वभावैले मेहनती र स्वाभिमानी हुन्छन् । उनीहरू आफैँ उत्पादन गर्छन् । आफैँ उत्पादनमा जोडिएका हुन्छन् । बिचौलियाको भूमिकामा उनीहरू हुँदैनन् । हिजोका दिनमा आफूले उपभोग गरेर बढी भएको उत्पादन बेच्न आउँथे । तर आज थोरै भए पनि उनीहरूले व्यावसायिकता अपनाएका छन् । आयआर्जनकै लागि फलफूल, तरकारी तथा नगदेबाली लगाउने गरेका छन् ।

उनीहरू आयआर्जनका अरू कामहरूमा समेत जुटेका छन् । उनीहरूका छोराछोरी, नातिनातिना पढिरहेका छन् । दैनिक खर्च बढिरहेको छ । सन्तानका लागि लत्ताकपडा, औषधोपचार, कापीकिताबका निम्ति अतिरिक्त आम्दानी गर्नुपर्ने बाध्यता छ ।

हिजोआज पैसा बचत गर्नुपर्दाेरहेछ भनेर उनीहरू सचेत छन् । बोल्न सिकेका छन् । आफ्नो सामान बेच्न सकिँदोरहेछ भनेर आत्मविश्वास बढेको छ । ‘तिना लेबो कि नाई !’ भनेर घरघरमै पुगेर विनम्र भाषामा उनीहरू सोध्छन् । कसैको एक रुपैयाँ अतिरिक्त चाहँदैनन् । आफ्नो परिश्रमको मूल्य मागेका हुन्छन् ।

हरेक बिहान घरदैलोमा स्वच्छ र ताजा तरकारी डुलाउदै हिँड्ने परिश्रमी र मिहिनेती थारू महिलाहरू सम्मानका हकदार बनेका छन् । त्यसमाथि सीतारानी जस्ता ज्येष्ठ नागरिकसमेत उत्पादन कर्ममा जोडिएका छन् । यो समाजका लागि गर्वको कुरा हो ।

सीतारानीका बारेमा उच्च सम्मान व्यक्त गर्दै व्यवस्थापक पाठक कृषि बजारमा रैथाने बाली भनेजस्तै सीतारानी यहाँकी रैथाने व्यक्ति भएको बताउँछिन् । उनलाई आज करोडौँको व्यापार गर्ने कुनै पनि व्यावसायिक व्यक्तिसँग पनि तुलना गर्न नसकिने उनको ठम्याइ छ ।

जब बजारमा तरकारी बेच्न आउने कोही थिएनन् त्यो बेला सीतारानीलगायत केही मानिस छिटुवामा तरकारी ल्याएर यहाँ बेच्न आउँथे । आज सयौँ व्यक्तिको आयआर्जनको थलो भएको छ कृषि बजार । तर सुरुवाती कालमा यहाँ आउन किसानलाई उर्दीजस्तै जारी गर्नु परेको पाठक सम्झन्छिन् ।

‘कृषि बजार चलाउनका लागि अनिवार्य कृषि बजारमा तरकारी लिएर आउनुपर्ने भन्ने एक प्रकारको किसानलाई अनुरोध वा उर्दी गरिएको थियो,’ व्यवस्थापक पाठक भन्छिन्, ‘तबदेखि नै हामीले उहाँलाई यहाँ देखिरहेका छौँ, यो उमेरमा पनि उहाँ नियमित यहाँ तरकारी लिएर आउने गर्नुभएको छ ।’ सीतारानी जस्ता व्यक्ति कृषि हाट बजारको मात्र होइन, देशकै लागि महत्वपूर्ण व्यक्ति हुन् जो यो उमेरमा पनि उत्पादनसँग जोडिएका छन् ।

यो बजारकी सबैभन्दा पुरानो व्यक्ति भएकैले पनि बजारमा उनका लागि सबैखाले शुल्क मिनाहा गरिएको व्यवस्थापक पाठकले बताइन् । ‘उहाँसँग बजारले कुनै पनि सेवा शुल्क लिएको छैन,’ उनले भनिन्, ‘कृषि बजारको वार्षिक उत्सवका अवसरमा बजार समितिबाट उहाँलाई पुरस्कृतसमेत गरिएको थियो ।’

  • No tags available
प्रकाशित मिति : २०८१ जेठ १२ गते शनिबार