कमल डाँगी । नेपालगन्ज ।
नेपालगन्ज उद्योग वाणिज्य संघको महासचिव विवादका कारण नेपालगन्ज रंगशाला एक महिनादेखि बन्धक बनेको छ । जसका कारण खेलाडीहरूले कुनै पनि प्रशिक्षण लिन पाएका छैनन् । चीनमा सुरु भएको एसियन खेलकुदका लागि यहाँबाट सहभागी हुने खेलाडी काठमाडौंमा गएर प्रशिक्षण लिन बाध्य भए ।
निर्वाचन समितिको असक्षमताका कारण संघबाहेक अरूका लागि खासै अर्थ नराख्ने विवादले सुरक्षा निकाय र खेल क्षेत्र प्रभावित बनेको छ । मतपेटिका सुरक्षाका लागि १२ जना सुरक्षाकर्मी दिनरात डिउटीमा खटिएका छन् भने रंगशालामा खेलाडीले प्रशिक्षण गर्न पाएका छैनन् ।
संघको महासचिवको मतगणना विवादले सुविधा सम्पन्न पूर्वाधार रहेको रंगशाला बन्धक बनेको छ । त्यहाँ मतपेटिका सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दिनरात डिउटीमा खटाइएको छ । प्रहरीको अस्थायी ब्यारेकमा परिणत भएको भारोत्तोलन हल कहिले खुल्ने हो भन्ने टुङ्गो छैन ।
नेपालगन्ज उद्योग वाणिज्य संघको गत भदौ २ गते नयाँ कार्यसमिति चयनका लागि निर्वाचन भएको थियो । उक्त निर्वाचनमा महासचिवको विषयलाई लिएर उत्पन्न विवाद अदालत पुगेको छ र न्यायिक निरुपणको विषय बनेको छ । निर्वाचनमा १ हजार ९ सय २६ मतप्राप्त गरेका समावेशी प्यानलका उम्मेदवार रानाभाटलाई निर्वाचन आयुक्तले विजेता घोषणा गरेका थिए ।
साझा प्रजातान्त्रिकका टंकप्रसाद शर्माले १ हजार ९ सय २० मत पाएका थिए । ६ मत अन्तरले रानाभाटलाई विजेता घोषणा गरिएको थियो । तर शर्मानिकट व्यवसायीहरूले बाँकी रहेका मत नगन्दै निर्वाचन आयुक्तले रानाभाटालाई विजय घोषणा गरेको भन्दै अदालतमा रिट दायर गरेका थिए । स्वयम् निर्वाचन आयुक्तले पनि पुनः मतगणनाको मिति तोक्दै सार्वजनिक सूचना जारी गरिदिएका थिए । तर समितिले नै फेरि मतगणना नगर्ने भनेपछि विवाद अदालसम्म पुगेको हो ।
शर्मा पक्षले दायर गरेको रिटका सन्दर्भमा उच्च अदालत नेपालगन्जले महासचिव पदबारे निर्वाचन आयुक्तको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिइसकेको छ । साथै अदालतले मतपेटिका सुरक्षित राख्न भनेको छ ।
उक्त आदेशपछि संघमा महासचिवबाहेकको पदको पदस्थापना भइसकेको छ भने संघले आफ्ना गतिविधि नियमितरूपमा सञ्चालन गरिरहेको छ । तर यता नेपालगन्ज रंगशाला र नेपाल प्रहरीका लागि मतपेटिकाका कारण टाउको दुखाइ बनेको छ । मतपेटिकालाई सुरक्षा गर्न नेपाल प्रहरीका सईसहित ६ जना र सशस्त्र प्रहरीका असई सहित ६ जना शक्ति दिनरात डिउटीमा खटिएका छन् ।
डिउटीका लागि जनशक्ति अभाव झेलिरहेका प्रहरीको ठूलो जनशक्ति यसरी एक महिनादेखि संघको मतपेटिकाको सुरक्षामा लगाउनु परेको छ । अर्कोतर्फ रंगशालाको गतिविधि ठप्प छन् । क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दका अनुसार एसियन खेलकुदका लागि खेलाडीले प्रशिक्षण गर्न पाएनन् । उनीहरूलाई काठमाडौंमा प्रशिक्षण दिन लगाइएको थियो ।
संघको महासचिवको विवादले खेलकुद गतिविधि प्रभावित भएको उनको भनाइ छ । ‘एकाध दिनमा सकिन्छ होला भन्ने लाग्या थियो । तर विवादले समय धेरै लम्ब्याइदियो । हाम्रो खेलकुद गतिविधि प्रभावित भयो,’ सिंहले भने ।
रंगशालाले दैनिक साढे १२ हजारको शुल्कसहित एक महिनाको हल भाडाको बिल भुक्तानीका लागि संघलाई पत्र पठाएको छ । यसबाट संघलाई समेत ठूलो आर्थिक भार पर्ने देखिएको छ । संघको इतिहासमा यति ठूलो विवाद भएको सम्भवतः पहिलो पटक हो । जसका कारण राज्य, खेल क्षेत्र र स्वयम् संघले क्षति व्यहोर्नुपरेको छ ।
प्रतिक्रिया दिनुहोस्