17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

पहिलोपटक बाँकेमा ‘एन्फा कम्युनिटी कोचिङ कोर्ष’ सुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन २०, २०८०  

नेपालगन्ज ।
बाँके जिल्लाको कोहलपुरमा २८ वर्षपछि ‘एन्फा कम्युनिटी कोचिङ कोर्ष’ सुरु भएको छ । चार दिनसम्म कोहलपुरको १३ बिघामा सञ्चालन हुने कोचिङ कोर्षलाई एन्फाका कार्यबाहक प्राविधिक निर्देशक हरि खड्का र एन्फाका शिक्षा प्रमुख कोच सञ्जित सिंहले प्रशिक्षण दिनेछन् ।
जिल्ला खेलकुद विकास समितिको गठनपश्चात पहिलोपटक आयोजना भएको प्रशिक्षण कार्यक्रमलाई कोहलपुर नगरपालिकाको सभाहलमा औपचारिक कार्यक्रम गरी उद्घाटन गरिएको छ ।

उद्घाटन कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्य, उपमेयर संगीता सुवेदी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) केन्द्रीय सदस्य एलबी क्षेत्री, एन्फाका कार्यबाहक प्राविधिक निर्देशक हरि खड्का, एन्फाका शिक्षा प्रमुख कोच सञ्जित सिंह, एन्फाका केद्रीय सदस्य एवम् बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भोजराज शाही, लुम्बिनी प्रदेश प्रशिक्षक जनक केसीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कोहलपुरका मेयर आचार्यले कोहलपुरमा एन्फाका पदाधिकारी प्रशिक्षणका लागि आउनु गौरवको कुरा रहेको बताए ।

उनले भने, ‘अन्तर्राष्ट्रिय फुटबल खेलमा नेपाललाई प्रतिनिधित्व गराउन नेपाली टिमलाई लिड गर्नुभएका हरि खड्का आज कोहलपुरमा उपस्थित हुनुलाई हामी सबैले गौरव ठान्नुपर्छ ।’आचार्यले कोहलपुरमा रहेका १५ वटै वडालाई समावेश गराउनेगरी प्रशिक्षण कार्यकम आयोजना भएको र यो प्रशिक्षणबाट कोहलपुरले राम्रा कोचहरु पाउने बताए ।  हामीलाई खेलकुद आयोजना गर्दै गर्दा कोचहरुको अभाव झेलिरहेका हुन्छौं । अब यो प्रशिक्षणले त्यो अभाव अन्त्य गर्छ भन्ने मलाई लाग्छ ।

साथै आचार्यले कोहलपुर गोल्डकप कोहलपुरको चिनारी रहेको बताउँदै कोहलपुर नगरपालिकाको नेतृत्वमा जो आए पनि कोहलपुर गोल्डकपलाई अपनत्व ग्रहण गर्दै निरन्तरता दिनुपर्नेमा जोड दिए ।उपमेयर सुवेदीले कोहलपुरले हरेक क्षेत्रका खेलकुदका गतिविधिलाई प्राथमिकता दिइरहेको बताइन् । नगरपालिकाले हरेक क्षेत्रका खेलकुद गतिविधिलाई प्राथमिकता दिँदै महिला, दृष्टिविहीन, पुरुष सबैका लागि खेलकुदका कार्यक्रम गर्दै आइरहेको र आगामी दिनमा पनि निरन्तरता दिने सुबेदीले बताइन् ।

त्यस्तै कार्यक्रममा सामाजिक विकास समिति संयोजक ईश्वरीप्रसाद विकले ‘एन्फा कम्युनिटी कोचिङ कोर्ष कोहलपुरका लागि अति उपयोगी कार्यकम रहेको बताए । उनले यस्ता कार्यक्रमले कोहलपुरलाई फुटबल हब बनाउन सहयोग गर्ने धारणा राखे ।एन्फाका केद्रीय सदस्य एवम् बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भोजराज शाहीले कोहलपुर नगरपालिकालाई धन्यवाद दिँदै पश्चिम क्षेत्रमा कोहलपुरले खेलकुदको क्षेत्रलाई प्राथमिकता दिइरहेको बताए ।

उनले हाल ‘डी’ लाइसेन्सको प्रशिक्षण आयोजना भए पनि भविष्यमा ‘सी’ लाइसेन्सको पनि प्रशिक्षण आयोजना गरिने बताए । प्रशिक्षणमा बाँके, दाङ, कपिलवस्तुलगायत ६ वटा जिल्लाका ३५ बढी प्रशिक्षार्थीको सहभागिता रहेको छ । कोहलपुर नगरपालिका र रेसिङ साहारा क्लबबीचको सहकार्य र एन्फाको सहयोगमा उक्त कोचिङ कोर्ष सञ्चालन भएको हो ।

प्रकाशित मितिः आइतवार, फाल्गुन २०, २०८०     4:12:02 PM  |