कोहलपुर ।
कोहलपुरमा सेन्टर प्लाजा भन्नेबित्तिकै होटल सेन्टर प्लाजालाई बुझ्ने गरिन्छ । कोहलपुरको मुख्य बजारदेखि करिब ३ किलोमिटर पश्चिममा रहेको एक चारतारे होटल यही नामले यस क्षेत्रमा परिचित छ । तर सो होटलले पाएको यो नामको इतिहास भने बेग्लै छ । यसले इतिहासको तथ्यलाई बङ्ग्याउने काम गरेको इन्जिनियर होमनाथ भुसाल बताउँछन् ।
सेन्टर अर्थात केन्द्र र प्लाजा अर्थात सहर वा स्थान । यसलाई ठ्याक्कै यही परिभाषाभित्र बाँध्न नसकिए पनि सामान्यतया कुनै निश्चित सहरभित्रको मध्यभागलाई नै सेन्टर प्लाजा भनिन्छ । ‘तर सो होटल न कोहलपुर सहरको मध्यभागमा छ न यसको मौलिक नाम नै त्यो हो,’ कोहलपुर नगर विकासमा महत्वपूर्ण भूमिका निभाएका इन्जिनियर भुसाल भन्छन्, ‘आकर्षक भएकाले अरू कसैको नाम हत्याउने प्रयास सो होटलले गरेको हो । इतिहास केलाउने हो भने यसको वास्तविकता अर्कै छ ।’
इन्जिनियर भुसालका अनुसार सहरी विकासको अवधारणा अनुरूप २०४२ सालमा कोहलपुर नगर विकास समिति गठन भएको थियोे । सो समितिको मुख्य उद्देश्य व्यवस्थित सहरीकरण गर्नु थियोे । यसैक्रममा समितिले यहाँको ठूलो क्षेत्रफल सरकारी जग्गा आफ्नो मातहतमा लियो। साथसाथै जग्गा प्राप्ति ऐनअनुसार वरपरका निजी जग्गाहरूलाई पनि मुआब्जा दिएर अधिग्रहण ग¥यो । समितिलाई कोहलपुर बजारमा ‘टाउन प्लानिङ’ गर्नु थियो ।
विभिन्न चरणमा गरेर समितिले १ सय ८२ बिघा जग्गा आफ्नो नाममा ल्यायो । त्यसपछि व्यवस्थित नगर विकास गर्ने उद्देश्यले काम सुरु ग¥यो । सुरुमा आफ्नो क्षेत्रको जग्गा सुरक्षित गर्ने हिसाबले समितिले ब्लकिङ ग¥यो । त्यसपछि सुरु भयो, ‘टाउन प्लानिङ’ । प्लानिङको ठीक मध्यभागबाट ३० मिटरको बाटो निकालियो, जसलाई न्युरोडको नाम दिइयो । आवश्यकताअनुसार बीच–बीचमा १६ र १२ मिटर बाटो छोडियो । ठाउँ–ठाउँमा ओपन स्पेसका लागि खाली ठाउँहरू छोडिए । र बीचबीचमा घडेरी निकालिए ।
समितिले यसरी प्लानिङ गर्नेक्रममा पूर्व र पश्चिम तथा उत्तर र दक्षिणको ठीक मध्यबिन्दुमा पर्ने गरी ‘सेन्टर प्लाजा’ नामकरण गर्दै ठूलो स्पेस खाली छोड्यो ।‘टाउन प्लानिङ गर्नेक्रममा भविष्यमा कोहलपुरको केन्द्र बन्न सक्ने सोचका साथ प्लानिङको मध्यबिन्दुलाई ‘सेन्टर प्लाजा’ नामकरण गर्दै हामीले त्यहाँ ठूलो खाली स्पेस छोडेका थियौँ,’ सहरी विकास विभागको कर्मचारीका रूपमा कोहलपुरको टाउन प्लानिङमा समेत संलग्न भएका इन्जिनियर भुसालले भने, ‘तर मानिसहरूले त्यो नामको वास्ता गरेनन् ।
तर त्यहीँका एक जना व्यवसायीले सेन्टर प्लाजाका नाममा होटल खोलेर नजिकमै चलाउन थाले । ठाउँको नाममा व्यक्तिको व्यवसायिक फर्म बन्यो । वास्तविक सेन्टर प्लाजालाई मानिसहरूले गोलपार्कमा रूपान्तरण गरिदिए । अहिले सबैले त्यो ठाउँलाई गोलपार्कका रूपमा चिन्छन् ।’
अहिले सहरको त्यो मध्यभाग गोलपार्कका नाममा परिचित छ । त्यहाँ नगरपालिकाले भ्यु टावर निर्माण गरेको छ । वास्तवमा भ्युटावर निर्माण गरिएको भाग नै सेन्टर प्लाजा अर्थात टाउन प्लानिङको मध्यभाग भएको भुसालको भनाइ छ । उत्तर र दक्षिणमा ठूला ओपन स्पेस छाडिएको छ । त्यसको पनि अझै सदुपयोग भएको छैन ।
अहिले त्यहाँको त्यो होटल पनि सरेर सहरको पुछारतिर पुगिसकेको छ तर अहिले पनि सो होटलको नाम सेन्टर प्लाजा नै छ । यसरी कुनै सार्वजनिक ठाउँको नाममा निजी फर्म दर्ता भएर सञ्चालन हुँदै आएको छ । ‘यो सरासर गतल हो,’ इन्जिनियर भुसाल भन्छन्, ‘यसमा कोहलपुरबासी कसैलाई वास्ता नै छैन । म मात्र कराएर के गर्ने !’ ठाउँठाउँमा यो विषयमा आफूले कुरा उठाउँदै आए पनि कसैले वास्ता नगर्ने गरेको उनको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्