कोहलपुर ।
वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा बुुधबार बाँकेमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । वसन्त पञ्चमीका अवसरमा यहाँस्थित विभिन्न विद्यालयले विद्याकी देवी सरस्वतीको पूजाआराधना गरेर मनाएका छन् ।बिहानैदेखि विद्यार्थीहरूले नजिकका मठमन्दिर तथा सरस्वतीको तस्बिरमा पूजाआजा तथा माल्यार्पण गरेका थिए ।
कतिपय अभिभावकले आजैका दिनदेखि आफ्ना बालबालिकालाई अक्षरारम्भ पनि गराएका छन् । वसन्त पञ्चमीको अवसर पारेर स–साना बालबालिकालाई अक्षरारम्भ गराउने प्रचलन रहँदै आएको छ । यसो गर्नाले बालबालिकाले शिक्षामा राम्रो उन्नति गर्न सक्छन् भन्ने मान्यता राखिन्छ ।
सरस्वती पूजाकै अवसरमा कोहलपुर–१० स्थित तक्षशिला एकेडेमीले एक भव्य कार्यक्रमको आयोजना गरी सरस्वती पूजा तथा विद्यालयको आठौँ वार्षिकोत्सव मनाएको छ । कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यको प्रमुख आतिथ्यमा कोहलपुरका शिक्षाप्रेमी, अभिभावक, विद्यार्थी तथा शिक्षकहरूको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको थियो । सो अवसरमा शिक्षामाथि प्यानल डिस्कसनसमेत गरिएको थियो ।
यस क्षेत्रका प्रबुद्ध व्यक्तिहरूका शिक्षण सिकाइका अनुभवहरू विद्यार्थीमाझ सेयर गर्ने र उनीहरूलाई पढाइप्रति अभिरुचि जगाउने उद्देश्यले सो प्यानल डिस्कसन कार्यक्रम राखिएको तक्षशिला एकेडेमीका अध्यक्ष विष्णु बेल्बासेले बताए । ‘समाजका प्रबुद्ध व्यक्तिका शिक्षण सिकाइ अनुभवहरूले विद्यार्थीलाई अध्ययनका लागि प्रेरणा मिल्नेछ,’ अध्यक्ष बेल्बासेले भने, ‘बालबालिकालाई पढाइप्रति अभिरुचि जगाउने उद्देश्यले यो बहस कार्यक्रम राखिएको हो ।’
प्यानल डिस्कसनमा मेयर आचार्य, बागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख दानबहादुर हमाल, इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी सुन्दर तिवारी, नगर शिक्षा शाखाकी अधिकृत शिला गौतम र डा. दिलबहादुर सत्याल सहभागी थिए । उनीहरूले आफूहरूले विद्यालयदेखि विश्वविद्यालयसम्म शिक्षा आर्जन गर्दाका आ–आफ्ना अनुभूतिहरू बाँडेका थिए ।
शिक्षा आर्जनका क्रममा आफूहरूले गर्नुपरेका संघर्षका कथा उनीहरूले सुनाएका थिए । प्यानल डिस्कसनमा साहित्यकार खोपीराम वलीले सहजीकरण गरेका थिए ।नेपाल प्र्रज्ञा प्रतिष्ठानका सदस्य महानन्द ढकालले विद्यार्थीहरू बढी मोबाइलमा भुल्ने गरेका कारण पठनपाठनमा असर गरिरहेकोमा चिन्ता व्यक्त गरे । उनले विद्यार्थी र अभिभावकलाई प्रविधिको दुरुपयोग होइन सदुपयोग गर्न आग्रह गरे ।
कक्षा १० मा अध्ययनरत छात्रा प्रतिज्ञा वाग्लेले स्वागत मन्तव्य व्यक्त गर्दै अभिभावकले आफ्ना सन्तानको शिक्षादीक्षामा ध्यान दिनुपर्ने बताएकी थिइन् । उनले हिजोआज अभिभावकलाई पैसा कमाउने मात्र ध्याउन्न हुने तर आफ्ना सन्तानको शिक्षादीक्षा र सुन्दर भविष्यप्रति चिन्ता नलिने गरेको गुनासो गरिन् । उनले आफ्ना सन्तानलाई समय र ध्यान दिन पनि अभिभावकहरूसँग आग्रह गरिन् ।
विद्यालयका प्रधानाध्यापक भीमबहादुर रोकायाले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयले नैतिक शिक्षा र संस्कारसहितको शिक्षामा जोड दिएको बताए । सो अवसरमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए । विभिन्न समुदायबाट आएका विद्यार्थीले आ–आफ्ना समुदायका संस्कृति झल्किने गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा राष्ट्रपति रनिङ शिल्डमा बाँकेबाट स्वर्ण पदक जित्न सफल तक्षशिलाका विद्यार्थी मिलन विश्वकर्मालाई सम्मानसमेत गरिएको थियो।त्यसैगरी, वसन्त पञ्चमीकै अवसरमा कोहलपुर–२ स्थित शिवशक्ति आधारभूत विद्यालयले विद्यालय प्राङ्गणमा सरस्वतीको मूर्ति स्थापना गरेको छ । एक औपचारिक कार्यक्रमका बीच २ नम्बर वडाका वडाध्यक्ष हरि कठायतले विद्यालयपरिसरमा स्थापित मूर्तिको अनावरण गरेका थिए ।
मूर्ति स्थापनासँगै शिक्षक, विद्यार्थीहरूले पूजा आराधना गरेका थिए । विद्यालयको आर्थिक स्रोतबाट २५ हजार रुपैयाँमा ढुंगामा कुँदिएको मूर्ति स्थापना गरिएको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र बस्नेतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। सो अवसरमा बालबालिकालाई अक्षरारम्भ पनि गराइएको थियो ।
त्यस्तै, सरस्वती पूजाको दिन पारेर नेपालगन्जमा नयाँ भर्ना तथा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपालगन्ज–१२ स्थित युनाइटेड स्कुलमा नयाँ विद्यार्थी भर्ना र स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएको छ ।
सरस्वती पूजाका अवसरमा एचसिआरसी हस्पिटलसँगको सहकार्यमा अभिभावक र विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको थियो । प्रिन्सिपल विकास बज्राचार्यका अनुसार ७५ जना नयाँ विद्यार्थी भर्ना भएका छन् ।
प्रतिक्रिया दिनुहोस्