26 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

शिव शक्तिमा तेक्वान्दो खेल उद्घाटन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन १, २०८०  

कोहलपुर ।
कोहलपुर नगरपालिका उप–प्रमुख संगीता सुवेदीले शिव शक्ति आधारभूत विद्यालयको तेक्वान्दो खेल उद्घाटन गरेकी छन् । ‘विकास, अनुशासन, गतिशीलता’ भन्ने मूल नाराका साथ विद्यालयमा सोमबारदेखि सुरु भएको तेक्वान्दो खेलको एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेकी हुन् ।

विद्यार्थीहरूलाई शिक्षा मात्र नभई अतिरिक्त क्रियाकलाप र खेल आवश्यक पर्ने भएकाले तेक्वान्दो उद्घाटन गरिएको उनले बताइन् । नगरपालिका सहयोग र २ नम्बर वडाको आर्थिक सहयोगमा एक जना खेल शिक्षकको समेत व्यवस्था गरिएकोे उपमेयर सुवेदीले जानकारी दिइन् ।  सो अवसरमा उपमेयर सुबेदीले विद्यार्थीहरूले गरेको शैक्षिक सामग्री प्रदर्शनसमेत अवलोकन गरेकी थिइन् ।

साँच्चिकै शिव शक्तिले एउटा सक्षम जनशक्ति उत्पादन गरेको भन्दै प्रशंसासमेत गरेकी थिइन् । कोहलपुर नगरपालिकाले ३ वर्षअघि तयार पारेको स्थानीय पाठ्यक्रम ‘हाम्रो कोहलपुर’ अन्तर्गत जीवन उपयोगी शिक्षा कार्यक्रम अनुरूप विद्यालयले विगतदेखि प्रयोगात्मक पाठशाला अनुसार यस्ता कार्यक्रम गर्दै आएको प्रधानाध्यापक बद्रिनाथ सापकोटाले बताए ।

४ देखि ८ कक्षासम्म अध्ययनरत विद्यार्थीहरूले आफूले सिकेको सिकाइ उपलब्धि हासिल गर्न बिरुवा उत्पादन, गमला खेती र कौशी बालीलगायतका उत्पादित बस्तुहरू प्रदर्शन गरेका छन् । अतिरिक्त क्रियाकलापअन्तर्गत आफूसँग भएको स्रोत साधन प्रयोग गरेर उत्पादन गरिएको उनले बताए ।

प्राविधिक सीप सिकेर भोलिका दिनमा विद्यार्थीहरूले सरकारी जागिर मात्रै नभई व्यावसायिक र आत्मनिर्भर बन्न सक्ने उनले बताए । त्यही उद्देश्यले विद्यार्थीले अतिरिक्त क्रियाकलाप अन्तर्गत उत्पादनका काम गर्दै आएको उनको भनाइ छ । सामुदायिक विद्यालय पनि बोर्डिङ स्कुलभन्दा कम छैनन् भन्ने उदाहरण शिव शक्ति आधारभूत विद्यालय भएको बडा नम्बर २ का वडाध्यक्ष हरि कठायतले बताए ।

शैक्षिक गुणस्तरका लागि वडाबाट विभिन्न आर्थिक र भौतिकलगायत सहयोग गर्दै आएको उनको भनाइ थियो ।विद्यालयमा खेल शिक्षाको आवश्यकता भएको हुँदा वडाको आर्थिक सहयोगमा खेल शिक्षकसमेत राखिएको उनले बताए ।

कोहलपुर नगरपालिका–२ को आर्थिक सहयोग र नगर शिक्षा खेलकुद शाखाको प्राविधिक सहयोगमा विद्यालयमा खेल उद्घाटन गरिएको हो। सो अवसरमा विद्यार्थीहरूले आफूले उत्पादन गरेको विभिन्न तरकारीहरू प्रदर्शन गर्नुका साथै विभिन्न नृत्यसमेत प्रस्तुत गरिएको थियो ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन १, २०८०     9:59:15 AM  |