नेपालगन्ज ।
‘१५औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० को उपाधि कोहलपुर नगरपालिकाले जितेको छ । योसँगै कोहलपुरले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा ह्याट्रिक गर्न सफल भएको छ । यसअघि कोहलपुरले लगातार दुईपटक पहिलो स्थानसहित उपाधि जितेसकेको छ ।
प्रतियोगितामा जिल्लाका ७ वटा स्थानीय तहबाट छनोट भएर आएका १ हजार खेलाडीबीच ६ वटा विधाका खेलमा प्रतिस्प्रर्धा भएको थियो ।
कोहलपुरले समग्र ३६ स्वर्ण, ९ रजत र ५ कास्य पदक जित्दै रनिङ शिल्डको उपाधिसहित ह्याट्रिक गर्न सफल भएको हो । यस्तै, दोस्रो भएको राप्ती सोनारी गाउँपालिकाले १३ स्वर्ण, १७ रजत र २० कास्य पदक प्राप्त गर्न सफल भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले तेस्रो स्थानमा चित्त बुझाएको छ । नेपालगन्ज उपमहानगरपालिकाले कुल ७ स्वर्ण, ६ रजत र ६ कास्य पदक जित्न सफल भएको हो । यसैगरी, चौथो स्थान प्राप्त गर्दै बैजनाथ गाउँपालिकाले ६ स्वर्ण, १४ रजत र १५ कास्य पदक प्राप्त गरेको छ । प्रतियोगितामा ३ स्वर्ण, ५ रजत र ३ कास्यसहित पाँचौँ स्थानमा खजुरा गाउँपालिका आएको छ । नरैनापुरले एक स्वर्ण र जानकी गाउँपालिकाले २ रजत पदकमै चित्त बुझाउनुपरेको छ ।
रनिङ शिल्डको उपाधि विजेता कोहलपुरले एथलेटिक्सतर्फ ३ स्वर्ण, ५ रजत र ३ कास्य, भलिबलतर्फ एक स्वर्ण एक रजत, कबड्डीमा २ कास्य, कराँतेमा ८ स्वर्ण र ३ कास्य, तेक्वान्दो र उसुमा १२–१२ स्वर्ण पदक जित्न सफल भएको हो । उसुमा कोहलपुरबाहेक कुनै पनि पालिकाले सहभागिता जनाएका थिएनन् ।
एथलेटिक्स छात्रतर्फ राप्ती सोनारीका करण नेपाली, उत्कृष्ट छात्रातर्फ नेपालगन्जका आरुषि भट्टराई, भलिबल छात्रतर्फ कोहलपुरका संगम तारामी मगर, भलिबल छात्रातर्फ राप्ती सोनारीकी लक्ष्मी चौधरी उत्कृष्ट खेलाडी घोषित भए । यस्तै, कबड्डीमा छात्रातर्फ खजुराकी सुषमा बादी र छात्रतर्फ नेपालगन्जका इसरारर अलि साई, तेक्वान्दो छात्रातर्फ कोहलपुरकी दिपशिखा रानाभाट, छात्रतर्फ कोहलपुरकै सुर्वण सिग्देल उत्कृष्ट खेलाडी भए ।
यसैगरी कराँते छात्रातर्फ बैजनाथकी वविता विक, छात्रतर्फ कोहलपुरका शुभम बुढा तथा उसु छात्रातर्फ कोहलपुरकी गरिमा चौधरी र छात्रतर्फ कोहलपुरकै टार्जन रोकामगर उत्कृष्ट खेलाडी भए । शनिबारबाट सुरु भएको १५औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागी मार्चपासमा प्रथम बैजनाथ गाउँपालिका, दोस्रोमा नेपालगन्ज र तेस्रोमा राप्ती सोनारी गाउँपालिका हुन सफल भएको बाँके जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष चेतकान्त भट्टराईले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गराउन उल्लेख्य भूमिका खेल्नेलाई मायाको चिनो प्रदान गर्दै आयोजकले धन्यवाद ज्ञापन गरेको थियो ।
जिल्लास्तरीय प्रतियोगिता सम्पन्न भएपछि आगामी फागुन ११ गतेदेखि १३ गतेसम्म बुटवलमा सञ्चालन हुने प्रदेशस्तरीय प्रतियोगितामा बाँके जिल्लाका उत्कृष्ट खेलाडीले सहभागिता जनाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्