कोहलपुर ।
सुशील कोइराला मेमोरियल यु–१९ महिला राष्ट्रिय टि–२० क्रिकेट च्याम्पिनसिपलाई नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक क्यालेन्डरमै राखेर यसलाई संस्करणरूपमा अगाडि बढाउने प्रतिबद्धता जनाइएको छ ।
कोहलपुर नगरपालिकाको आयोजना, कोहलपुर नगर खेलकुद विकास समितिको व्यवस्थापन र क्यानको सहकार्य र प्राविधिक सहयोगमा शनिबारदेखि कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी क्यानका पदाधिकारीले यसलाई अर्काे वर्षदेखि (क्यान)को वार्षिक क्यालेन्डरमै राख्ने प्रतिबद्धता जनाएका हुन् ।
क्यानका केन्द्रीय कोषाध्यक्ष पदमबहादुर खड्काले यो प्रतियोगितालाई क्यानको क्यालेन्डरमा राखेर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राष्ट्रियस्तरका प्रतियोगिताहरू सञ्चालन गरिने प्रतिबद्धता जनाए । ‘महिला राष्ट्रिय टी–२० क्रिकेट च्याम्पिनसिप प्रतियोगिता आयोजना गरेर ओझेलमा पर्न थालेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई चर्चामा ल्याउने प्रयास अत्यन्तै सकारात्मक छ,’ उनले भने, ‘यसको पहिचान जोगाइराख्न खेल गतिविधिसँगै भौतिक संरचनाहरूले पनि पूर्णता पाउन जरुरी । यसमा राज्यको पनि ध्यान जावस् ।’
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रमुख नाकाको रूपमा रहेको कोहलपुर नगरपालिका र यहाँ निर्मार्णाधीन क्रिकेट मैदान यहाँको पहिचान भएको पनि उनले बताए ।संविधान सभा सदस्य तथा पूर्वमन्त्री अमर सिंह पुनले खेल मैदानमात्र भएर नहुने भन्दै राष्ट्रियस्तरका प्रतियोगिता कोहलपुर क्रिकेट मैदानमा हुनु आवश्यक रहेको बताए ।
उनले भने, ‘पालिकाले आफ्नै पहलमा राष्ट्रियस्तरको प्रतियोगिता गर्नु आफैँमा चुनौतीपूर्ण हो । कोहलपुर नगरपालिकाले खेलकुदको क्षेत्रमा गरेको लगानी अत्यन्तै सराहनीय छ । यसले क्रिकेट मैदानको उपयोगिताको समेत पुष्टि गरेको छ ।’कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले क्यानको महत्वपूर्ण सहयोगका कारण राष्ट्रिय स्तरको महिला क्रिकेट प्रतियोगिता आयोजना गर्न सकिएको बताए ।
उनले क्यानको वार्षिक क्यालेन्डरमा समावेश गरेर यस्ता प्रतियोगिताहरूलाई संस्करणका रूपमा अगाडि बढाउने योजनामा आफू रहेको स्पष्ट पारे । ‘पछिल्लो समय युवा पुस्तामाझ लोकप्रिय फुटबल तथा क्रिकेट जस्ता खेलकुद गतिविधिलाई पालिकाले कोहलपुरको पहिचानका रूपमा अगाडि बढाउन चाहेको छ,’ उनले भने, ‘यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा ठूलो भूमिका निर्वाह गर्छ भन्ने हाम्रो विश्वास छ ।’
कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले बाँके क्रिकेटरको उर्वरभूमि भए पनि पछिल्लो समय भने नयाँ खेलाडी उत्पादन नहुँदा खेलाडीहरूको अभाव सिर्जना भएको बताइन् । उनले नगरपालिकाले राष्ट्रिय स्तरका प्रतियोगिताको निरन्तरमा ध्यान दिने प्रतिबद्धता जनाइन् । उनले नयाँ खेलाडी उत्पादनकै लागि पालिकाले यस्ता प्रतियोगितालाई प्राथमिकता दिएको बताइन् ।
कार्यक्रमका सभाध्यक्ष नगर प्रमुख आचार्यले बलिङ र कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य पुनले ब्याटिङ गरेर उद्घाटन गरेको कार्यक्रममा नेपाल भलिबल संघका केन्द्रीय सचिव मंगल श्रेष्ठ, क्यानका लुम्बिनी प्रदेश सदस्य दुर्गा थापा, क्रिकेट संघ बाँकेका अध्यक्ष सरोवर प्रसाईंलगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्