17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

मन्त्री नमुनाद्वारा बैजनाथ महोत्सवको उद्घाटन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ ११, २०८०  

ज्ञानमाया थापा । बैजनाथ ।
प्रथम बैजनाथ तथा छैटौँ प्रादेशिक औद्योगितक लघु, घरेलु, कृषि, प्रविधि प्रदर्शनी व्यापार एवम् पर्यटन महोत्सव–२०८० को उद्घाटन भएको छ । लुम्बिनी प्रदेशका सहरी विकास मन्त्री कृष्णा केसी (नमुना)ले पानसमा बत्ती बालेर मेलाको उद्घाटन गरेकी हुन् । उद्घाटन समारोेहलाई सम्बोधन गर्दै मन्त्री नमुनाले मेला महोत्सवले स्थानीय उत्पादनलाई बजारीकरण गर्न मद्दत पुग्ने बताइन् ।

मेला सफलताको शुुभकामना दिँदै उनले स्थानीय कृषि उत्पादन, पर्यटन र संस्कृतिलाई संरक्षण तथा संवद्र्धन गर्ने विश्वास पनि व्यक्त गरिन् । बैजनाथको पर्यटकीय क्षेत्रलाई अगाडि बढाउने सन्दर्भमा प्रदेश सरकारबाट पनि केही पहल भइरहेको जानकारी दिँदै उनले धार्मिक पर्यटन आकर्षित गर्न सके त्यसबाट स्थानीयले लाभ लिन सक्ने बताइन् ।

सो अवसरमा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष उमेशप्रसाद सिंहले स्थानीय कच्चा पदार्थबाट उत्पादित बस्तुको प्रवद्र्धन गर्न यस्ता मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले स्थानीय उत्पादनलाई जोड दिनका लागि नै महासंघले पालिका स्तरमा समेत यस्ता मेला महोत्सव गर्दै आएको बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेकी अध्यक्ष मधु खड््काले यस्ता मेला महोत्सवबाट सकारात्मक सन्देश प्रवाह गर्दै स्थानीय स्तरमा सीपमूलक व्यवसायका लागि प्रोत्साहन गर्नुपर्ने बताइन् । स्थानीय कला र सीपको प्रवद्र्धन गर्न सकेमात्र वैदेशिक रोजगारीको आकर्षणलाई कम गर्न सकिने उनको भनाइ थियो ।

बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहले मेलालाई गाउँपालिकाको पूरापूर सहयोग रहने प्रतिबद्धता जनाउँदै मेला आफ्नो उद्देश्यमा सफल हुने विश्वास व्यक्त गरे । बैजनाथ कृषिमा आश्रित पालिका भएकाले कृषि उत्पादनले मेलामा महत्व पाउनुपर्ने बताए । त्यसैले पनि पालिकाले किसानसँग पालिका प्रमुख कार्यक्रम सञ्चालन गर्दै आएको उनले जानकारी दिए ।

उद्घाटन समारोहमा विभिन्न जातीय संस्कृति झल्किने झाँकी प्रस्तुत गरिएको थियो । बैजनाथस्थित हिमालय विद्या निकेतन र भेरी फ्युचर विद्यालयका विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । बैजनाथमा रहेका विभिन्न संघसंस्थाले आ–आफ्ना ब्यानरसहितका ¥याली निकालेका थिए ।

घरेलु महासंघ बैजनाथका महासचिव कमल सुबेदीले सञ्चालन गरेको कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष सुमन विश्वकर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

 

प्रकाशित मितिः बिहिबार, माघ ११, २०८०     2:33:04 PM  |