17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

‘सालको पात…’ले मच्चायो बाँसगढीमा तहल्का

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, माघ ९, २०८०  

बाँसगढी ।
छैटौँ बाँसगढी महोत्सवमा सोमबार कुलेन्द्र विश्वकर्मा गुञ्जिएका छन् । कुलेन्द्रको स्वरमा सजिएको नवराज पन्तका शब्द र वसन्त थापाको संगीत रहेको चर्चित गीत ‘सालको पात टपरी हुनी, हे बरै नहुनी सल्लैको…’ गाएर उनले दर्शक श्रोता लठ्याएका थिए । ‘सालको पातले बाँसगढी महोत्सवमा तहल्का मच्चाएको थियो ।

दर्शक श्रोताको आग्रहमा उनले यो गीत दोहो¥याएर गाएका थिए । महोत्सवमा उनले ‘जलजला…,’ ‘लाउँछ माया… ,’ लगायतका करिब आधा दर्जन गीत गाएका थिए । करिब १ घन्टा प्रस्तुति दिएका कुलेन्द्रले प्रस्तुति अवधिभर दर्शक श्रोताको साथ पाए । आफूलाई साथ दिएकोमा उनले आयोजक तथा दर्शकलाई धन्यावाद दिएका थिए ।

त्यस्तै, महोत्सवमा गायिका प्रिती आलेमगर र गायक शिव संगीतले पनि आ–आफ्ना प्रस्तुतिले दर्शकलाई आकर्षित गरेका थिए । टीका जैसीको नृत्यसँगै महोत्सवमा दर्शक झुमीझुमी नाचेका थिए । उनले करिब आधा घन्टा आफ्नो नृत्य प्रस्तुत गरेकी थिइन् । उनलाई पनि दर्शकले ताली र हुटिङले स्वागत गरेका थिए । महोत्सवमा उनी पनि ‘वान्स मोर’को हकदार बनेकी थिइन् ।

उनी महोत्सवहरूमा व्यस्त रहने बर्दियाली कलाकारमध्येमा पर्छिन् । यस्तै, महोत्सवमा उद्घोषणतर्फ कोहलपुरका कोष खड्काले महत्वपूर्ण भूमिका निभाएका छन् । सोमबारको कार्यक्रम उद्घोषण पनि खड्काले नै गरेका थिए । खड्का एक जना अब्बल र व्यस्त उद्घोषकमध्येमा गनिन्छन् । महोत्सवलाई सफल बनाउन उद्घोषकका रूपमा खड्काको भूमिकाको चौतर्फी प्रशंसा भएको पाइएको छ ।

यस क्षेत्रको कृषि, उद्योग, पर्यटन तथा कला संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले बाँसगढीमा आयोजित महोत्सवमा दर्शक श्रोताको लोभलाग्दो उपस्थिति रहने गरेको आयोजक बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष बद्रीनाथ बरालले जानकारी दिए । उनले महोत्सव सफल रहेको दाबी गर्दै मेलाले सुस्त बनेको यस क्षेत्रको आर्थिक गतिविधिलाई केही गतिशील बनाएको जनाए ।

पुस २९ गतेदेखि सुरु भएको महोत्सवको आज समापन हुँदै छ । समापन समारोहमा समेत सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिइने संघका महासचिव विकास गौतमले जानकारी दिए । छैटौँ बाँसगढी महोत्सवको अन्तिम प्रस्तुतिका लागि आज गायक भागीरथ चलाउने, गायिका रिता केसी र मोडल करिश्मा ढकाल आउने मेला प्रचारप्रसार समितिका संयोजक सञ्जुकुमार वलीले जानकारी दिए । बाँसगढी नगरपालिका संरक्षक रहेको महोत्सवको आज नगर प्रमुख खड्कबहादुर खड्काले समापन गर्नेछन् ।

प्रकाशित मितिः मङ्लबार, माघ ९, २०८०     9:59:52 AM  |