अतिक्रमण हटाउन अहिले अनुकुल समय छ



हिजो सर्वदलीय, सर्वपक्षीय बैठकहरु भए त्यो बेला समय अनुकुल हुन सकेन कतीपय अवस्थामा समयको पनि अनुकुलता पनि चाहिन्छ । अहिले समय अनुकुल छ सबै राजनैतिक दलहरु एक ठाउँमा छौँ । देशका ठूला राजनैतिक दलहरुले चाहेर त्यहाँ बसिरहेका व्यक्तिलाई प्रदान गर्न सक्ने कानुनी आधार छैन । त्यसो भएको कारणले त्यहाँको जमिन खाली हुन्छ–हुन्छ । कोहलपुर नगरबासीसमेतले हाम्रो यो अभियानको पक्षमा उभिएर साथ दिनुपर्छ ।


पूर्णप्रसाद आचार्य
नगर प्रमुख
कोहलपुर नगरपालिका

१. कोहलपुरको क्रिकेट मैदान क्षेत्रको नगर विकास समितिको नाममा रहेको संक्रमित जग्गा खाली गर्नको लागि सात दिने सूचना समेत निकाल्नुभएको छ । यसअघि समेत सूचना निकालेर समेत अतिक्रमण खाली गराउन सक्नुभएन । अहिले चाँही तपाईहरु कसरी अगाडि बढ्नुभएको छ ?

यो अत्यन्तै बहुछलफलको बिषय हो । पटक–पटक छलफल भएको, पटक–पटक निर्णय भएको, पटक–पटक कार्यन्वयनको चरणमा पुगेर रोकिएको बिषय हो । म सम्पूर्ण कोहलपुरबासीलाई के भन्छु भने एउटा नगर विकासको अध्यक्ष तथा नगर प्रमुखले एउटा महत्वपूर्ण विषयमा अगाडि बढ्न खोज्यो भने कतै कामले सम्पन्नता पायो भने यो जस कुनै व्यक्तिलाई मात्र जान्छ कि, भन्ने मनोविज्ञान कतै–कतै देखिन्छ, तर होईन, म विनम्रतापूर्वक अनुरोध गर्न चाहान्छु । यो कोहलपुरको मुख्य समस्या हो । यो प्रमुख समस्यासँग जुध्नका लागि एउटा नगर प्रमुख या नगर विकासको अध्यक्षले मात्र सक्दैन ।

यहाँका राजनैतिक दल, सुरक्षा अंङ्गहरु, समाजसेवी, बुद्धिजीवी सबैको सामूहिक संगठिक प्रयासबाट यस्ता महत्वपूर्ण सवालहरु हामी निष्कर्षमा पुग्न सक्छौं । हिजो सर्वदलीय, सर्वपक्षीय बैठकहरु भए त्यो बेला समय अनुकुल हुन सकेन कतीपय अवस्थामा समयको पनि अनुकुलता पनि चाहिन्छ । अहिले समय अनुकुल छ सबै राजनैतिक दलहरु एक ठाउँमा छौँ । सबैको चाहना कोहलपुर नगर विकासको अतिक्रमित संरचनालाई खाली गर्नु पर्छ भन्ने कुरामा कसैको विमती छैन ।

२. केही दिनअघि नगरपालिकामा भएको सर्वदलीय, सर्वपक्षीय बैठकमा राजनीतिक दलहरुले असहमति जनाएर हस्ताक्षर नगरेको भन्ने गरिन्छ नी । खास कुरा के हो ?

मलाई लाग्दैन तपाईले कोहलपुर नगरपालिकाको फेसबुक लाइभ हेर्नु भयो भने । हामीले त्यो लाइभ गरेका थियौँ । अब कसैले त्यो फेसबुक लाइभ गरेको अथवा प्रत्यक्ष प्रसारण गरेको थाहा थिएन र हलमा एउटा कुरा भनेको र बाहिर आएर अर्को कुरा गर्नु भयो भने त्यसको विषयमा कोहलपुरबासीले खोज्नु होला ।

तपाइले एक–एक व्यक्तिले के–के बोल्नु भयो भन्ने कुरा फुटेजहरु हेर्न सक्नु हुन्छ । त्यो भन्दा ठूलो प्रमाण मैले यहाँ बोलिरहन र भनिरहन सक्दिन । जसले दोहोरो चरित्र निभाउँछ । जसले दोहोरो भूमीकामा उभिन्छ, अब राम्रो भविष्य रहँदैन ।

३. अतिक्रमित संरचना खाली गर्नको लागि सात दिनको समय दिएसँगै कतीपय राजनीतिक दलहरु तथा समूहले विज्ञप्ति नै निकालेर नहटाउनको लागि चेतावनी दिइसकेका छन् । यसलाई तपाइहरुले कसरी हेर्नुभएको छ ?

होईन त्यो उहाँले निकालेको भाषा चेतावनी, शैलीमा मेरो अहिले भन्नु पर्ने कुरा केही छैन । यदि कोहलपुर नगरविकास क्षेत्रभित्र कोही भूमीहिन हुनुहुन्छ भने पटक–पटक हामिले सूचना निकालेका छौँ । आवेदनकोे फार्मेट निर्माण गरेका छौं । त्यो फार्मेट लिनुस् तपाई साँच्चिकै कोहलपुरको स्थानीय बासिन्दा हो । तपाई साँच्चिकै भूमीहिन हो भने तपाइको व्यवस्थापन स्थानीय सरकारले गर्छ भनेका छौँ ।

तर एक जना व्यक्ति हामिले त्यो खालको आवेदन दिएको हामिले पाउन सकेका छैनौं । यसले के देखाउँछ भने त्यहाँ बसिरहेका कोही पनि व्यक्ति भुमीहिन छैनन् । कोही पनि सुकुम्बासी छैनन् । यदी सुकुम्बासी हुँदा हुन् । यदी भूमीहिन हँुदा हुन् त नगर विकास संस्थाले नगरपालिकाले पटक–पटक तपाईहरुले आफ्नो पूरा विवरण जुन भुमी ऐन अथवा भूमी आयोगले एउटा अनुसुचीसहितको फारम पठाएको छ त्यो फारम भुर्नुस् भन्दा भर्न मानिराख्नु भएको छैन । भने अब हामिले कसलाई सुकुम्बासी भन्ने कसलाई भूमीहिन भन्ने ?

४. अहिले फारम भर्ने त्यो पाटो तपाइहरुले खुला राख्नु भएको छ की छैन ?

खुला छ उहाँले भर्न सक्नु हुन्छ । उहाँ कोहलपुर नगरपालिकाको १५ वडा मध्ये कुनै पनि वडामा बस्ने स्थायी बासिन्दा हो भने उहाँले आफ्नो सम्बन्धित वडामा गएर त्यो फर्म भर्न सक्नु हुन्छ ।

५. अहिले संरचना हटाउन यहाँ पनि कदम चालेर रोक्किनुहुन्छ की निरन्तर लागि पर्नु हुन्छ ?

यो विषयमा सामाजिक सञ्जालमा पनि धेरै कुराहरु उठेका छन् । पक्कै पनि तपाइले उठाएको प्रश्न हजारौँको संख्यामा सोधिएको प्रश्न हो ।

मैले अघि पनि भने, कोहलपुर नगरपालिकाले समन्वय गर्ने हो । कोहलपुर नगरपालिकाले प्रयत्न गर्ने हो । कोहलपुर नगरपालिका र नगर विकासमा मेरो नेतृत्व रहेको छ । नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नगर विकासको सदस्य रहने कानुनी व्यवस्था हरेको
छ ।

त्यसकारणले गर्दा हामीले प्रयत्न गर्ने हो । हामीले समन्वय गर्ने हो । हामीले प्रयास गर्ने हो । इमान्दारीताका साथ प्रयास गर्ने हो । हामी सहयोगको अपेक्षा गर्ने हो । प्रदेशमा माननीय ज्यूहरु, संघीय सरकारका माननीय ज्यूहरु, प्रदेश सरकार, संघीय सरकारले हामीलाई सहयोग गर्न पर्छ । यदि साँच्चिकै प्रदेश सरकार ईमान्दार भयो । संघीय सरकार इमान्दार भयो भने त्यहाँ समस्या छैन ।

६. यहाँले यसो भन्दै गर्दा वालेनलाई सरकारी निकायबाट सहयोग भएको छैन । उहाँले आफ्नो हिसाबले चलाउनु भएको छ । तपाइलाई सुरक्षा निकायले कस्तो आश्वासन दिएको छ ?

यो नगर विकासको अतिक्रमित जमिन छ । यसलाई देशको प्रधानमन्त्रीले चाहेर पनि दिन सक्दैन । देशका ठूला राजनैतिक दलहरुले चाहेर त्यहाँ बसिरहेका व्यक्तिलाई प्रदान गर्न सक्ने कानुनी आधार छैन । नेपाल सरकारको राजस्व मध्य र सुदुरपश्चिम इकाई यहाँँँँ आएर स्थापना हुँदा त नगर विकाससँग जग्गा किन्न परेको छ । नेपाल सरकारको अभिन्न अंगले कार्यालय स्थापना गर्नका लागि त जग्गा खरिद गर्न परेको छ, नगरविकास समितिसँग भने क्याबिनेट निर्णय गरेर यो जग्गा कसैलाई दिने निर्णय सम्भव त छैन नि ।

त्यसो भएको कारणले त्यहाँको जमिन खाली हुन्छ– हुन्छ । तर जो राजतीतिक दल, जनसरकार प्रमुख, जुन गृहमन्त्रीहरुले यो बस्तिलाई व्यवस्थापन गर्ने कुरामा स्थानीय सरकारलाई सहयोग गर्नु हुन्न उहाँहरुका पार्टीहरु र स्थानीय नेताहरुलाई पनि भोलि बिजोग हुन्छ तपाई हेर्दै जानुस् ।

७. क्रिकेट मैदान क्षेत्रमा कतीजना हुनुहुन्छ भनेर यहाँहरुले तथ्याङ्क लिनुभएको छ की छैन ?

तथ्याङ्क हामीसँग अवराज खड्का नगर विकास समितिको अध्यक्ष हुने बेलाको पूरानो छ । त्यसपछिको तथ्याङ्क हामीसँग छैन । हामीले पटक पटक त्यस विषयमा कोशिष ग¥र्यौ उहाँहरु लिन खोजिएको तथ्याङ्कबाट भाग्नु भयो ।

हामिसँग सम्पर्कमा आउनु भएन । हामीले गरेका कामप्रति अवरोध गर्न खोज्नु भयो । त्यहाँ वैधरूपले बसेका व्यक्तिहरु नै हुनुहुन्न । त्यहाँँँँँ अवैध रूपमा बसिराख्नु भएको छ । त्यहि भएर उहाँहरुका हरेक गतिविधिहरु अवैध छन् ।

८. अब यसको मतलव यहाँहरुले सात दिने सूचना निकालेपछि सर्वदलीय सर्वपक्षीय बैठकपछि जसरी सहमति भयो त्यो हिसाबमा यहाँहरु शान्तपूर्ण वातावरणमा कदम चाल्नु हुन्छ ?

मैले के देखे भने यहाँले गर्नु भएको प्रश्नबाट पनि कदम चाल्ने कुरा छ नि, कोहलपुर नगरपालिकाले कदम चाल्ने मात्र होईन कोहलपुरका सबै जाग्नु पर्छ । कोहलपुरका हरेक नागरिक दह्रो भएर उभिनुपर्छ त्यहाँ, कोहलपुर नगरबासीको साझा सम्पत्ति हो । त्यो नगर प्रमुखको, जनप्रतिनिधिहरुको, राजनैतिक दलहरुको मात्र होईन । कोहलपुरका नगरबासीहरु जसले आफुलाई सचेत नागरिक भन्नु हुन्छ ।

जसले आफुलाई सामाजिक अभियान्ता भन्नु हुन्छ । जसले कोहलपुर सुन्दर भएको हेर्न चाहनु हुन्छ उहाँहरु पनि त्यहाँ उभिने बेला हो । हेरौँ न हामी पनि अब, सामाजिक सञ्जालमा लेखेर बोलेको जस्तो सजिलो छ काम गर्न । उहाँको उपस्थिती कत्तिको दह्रो हुन्छ । सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने बेलामा कोहलपुरबासीहरु कसरी उभिनुु हुन्छ । यो कोहलपुर नगरबासीहरुको प्रतिष्ठासँग जोडिएको विषय हो ।

९. कोहलपुर नगरबासीले साथ सहयोग दिएभने नगरपालिका पछि हट्दैन र त्यो संरचना हटाईन्छ ?

कोहलपुर नगरबासीहरुले तपाईकोप्रति समर्थन छ भनेर मात्र पुग्दैन । उहाँहरु नगर प्रमुख उभिएको ठाउँमा उभिनु भयो भने, त्यो संरचना हटाउन संघीय सरकार पनि चाँहिदैन । कसले रोक्न सक्छ कोहलपुरको बेगलाई, कोहलपुरका नागरिकहरु उभिन सक्नु हुन्छ । हामीलाई ५ घण्टाको समय दिन सक्नु हुन्छ ?

कोहलपुरको एक लाख जनसंख्या छ । कोहलपुरका ५० हजार नागरिकहरु न्यूरोड चोकमा बोलाएको बेला उपस्थित हुन सक्नु भयो भने त्यसको लागि हामीले सरकारको मन्त्री, प्रधानमन्त्रीको पावर लाउनुपर्ने हुदैन । हामी रमिते जस्तो भएका छौँ । अन्यथा नहोस् त्यो दिन हामी झ्याल ढोका थुनेर बस्छौं । हामी कर्तव्य बिहिन भैदिन्छांै ।

कोहलपुर नगरबासीको जुन खालको सक्रियता, जुझारु आफ्नो सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने जिम्मेवारी हाम्रो पनि हो भन्ने खालको जोस र जाँगर सिथिलता आएको कारणले त्यो बस्ती बढ्दै गएको हो । यो एउटा व्यक्ति, स्थानीय सरकार, नगर विकास सिमितिको बोर्ड, पत्रकार, रेडियो, व्यवसायीको कुरा मात्र होईन ।

समग्र कोहलपुरबासीको कुरा हो यो । जसरी नगर प्रमुखले दृढ संकल्प गरेको छ र धैरै चुनौतीको सामना गरेको छ । धाक र धम्कीको सामना गरेर त्यो बस्ती व्यवस्थापन हुनु पर्छ भनेर उभिएको छ । त्यसरी हरेक नागरिकहरु उभिदिने हो भने कसको ताकत छ ।

प्रकाशित मिति : २०८० भदौ १२ गते मंगलबार