बाँके ।
कोहलपुर बृहत् सहरी खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा लोकतान्त्रिक प्यानलका टेक नारायण भूषाल विजयी भएका छन् । शनिबार अपरान्ह्र सम्पन्न मतगणना अनुसार भूषाल नेतृत्वको सम्पूर्ण प्यानल नै निर्वाचित भएको हो ।
नेपाली कांग्रेसबाट निर्वाचनमा होमिएका भूषाल १२ सय १४ मत ल्याएर विजयी हुँदा उनका निकटम प्रतिद्वन्द्वी साझा समावेशी प्यानलका रूद्रप्रसाद खनालले १ हजार १७ मत ल्याएका थिए ।
खनाललाई भूषालले १ सय ९७ मतले पराजित गरेका हुन् । अध्यक्षका अर्का उम्मेदवार बिष्णु प्रसाद तिवारीले ३८२ मत ल्याए ।
अन्य पदाधिकारी तथा कार्यसमिति सदस्य पदमा समेत लोकतान्त्रिक प्यानलकै उम्मेदवारहरू विजयी भएका छन् ।
शुक्रबार सम्पन्न निर्वाचनमा ५२ सय ७७ मतदातामध्ये २८ सय ८६ मत खसेको थियो । निर्वाचनको लागि घोषितरूपमै नेपाली कांग्रेसले लोकतान्त्रिक प्यानल र नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एस र राप्रपाले साझा समावेशी प्यानल बनाएर उम्मेदवारहरू चुनावी मैदानमा उतारेका थिए ।
त्यसैगरी स्वतन्त्र प्यानलको नाम दिएर राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, संस्थाका निर्वतमान अध्यक्ष नरबहादुर मल्लको समूह र बेटर बाँकेले अघोषितरूपमा सहसचिवबाहेकका उम्मेदवारहरू चुनावमा उठाएका थिए ।