16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

नेपालगन्जमा जबरजस्ती करणीमा परेकी अस्मिको न्यायको माग गर्दै युवा सडकमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, असार १८, २०८०  

धनगढी ।

जबरजस्ती करणीमा परेर देहत्याग गरेकी अस्मि बोहराको न्यायका लागि अत्तरियाका युवा सडकमा उत्रिएका छन्। गोदारी नगरपालिका वडा नम्बर ४ बसन्तपुरका भक्तबहादुर बोहराकी छोरी १८ वर्षीया अस्मि बोहरा जबरजस्ती करणीमा परेपछि यही असार ९ गते देहत्याग गरेकी थिइन्।

अस्मिले आफ्नो प्राण आफै परित्याग गरेकी हुन्। यस विषयमा अनुसन्धान गर्दै जाँदा उनी जबरजस्ती करणीमा परेर मृत्युको बाटो रोज्न पुगेको खुलेको छ। अस्मिकोे न्यायका लागि आफन्त र युवाहरुले अत्तरियामा प्रदर्शन गर्दै आएका छन्। असार ९ गते आफ्नै घरमा मृत फेला परेकी अस्मिलाई देहत्याग गर्न बाध्य पार्नेलाई कारबाहीको माग गर्दै आज पनि आफन्त तथा युवाहरुले अत्तरियामा प्रदर्शन गरेका छन्।

नेपालगंजमा अध्ययनरत अस्मिमाथि नेपालगंजमै जबरजस्ती करणी भएको र कसैलाई भने ज्यान मार्ने धम्की दिएका कारण उनले मानसिक तनाबमा आएर देहत्याग गरेको आफन्तको आरोप छ। प्रहरीले अस्मिको आत्महत्या दुरुत्साहन मुद्दामा मुगुको सेरु गाउँपालिका–३ का २१ बर्षीय डिलेन्द्र शाहीलाई पक्राउ गरिसकेको छ।

अस्मिका आफन्तले मंगलबार शाही र अस्मिकी साथी लक्ष्मी खड्काका विरुद्ध किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। अश्मीसँगै नेपालगंजमा रहेको अलाईट टेक्निकल कलेजमा पढ्ने लक्ष्मी खड्कालाई पनि कारवाही गर्नुपर्ने भन्दै आफन्त आन्दोलित बनेका छन्।

६ महिनादेखि अलाईट टेक्निकल कलेजमा नेत्र विज्ञान बिषयमा अध्ययनरत अश्मी कलेजकै होस्टेलमा बस्दै आएकी थिइन्। उनीमाथि सोही कलेजमा अध्ययनरत लक्ष्मीको घरमा गएको बेला जबरजस्ती करणी भएको खुलेको छ। अश्मीलाई देहत्याग गर्न बाध्य बनाउने सबैलाई कारवाही गर्नुपर्ने भन्दै अत्तरियामा विरोध भइरहेको छ।

प्रकाशित मितिः सोमवार, असार १८, २०८०     4:36:51 PM  |