कोहलपुर, बाँसगढी नगरपालिकाले स्वयम्सेवक शिक्षक परिचालन गरेको छ । नगरपालिकाको नीतिअनुसार पढ्दै कमाउँदै कार्यक्रमका रुपमा स्वयम्सेवक शिक्षक परिचालन गरेको हो ।
शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख छत्रबहादुर शाहीका अनुसार १५ जना शिक्षक परिचालन गरिएको छ । उनीहरुले विद्यालयमा गएर पढाउन सुरु गरिसकेको उनले बताए । ‘स्वयम् शिक्षक परिचलन गर्ने नेपाल सरकारको लक्ष्य छ । सोही अवधारणअनुसार हामीले शिक्षक परिचालन गरेका छौं ।

बर्दियामा बाँसगढी पहिलो पालिका नै हो,’ उनले भने । नगरपालिकाका विभिन्न वडा, विपन्न तथा जेहेन्दार र क्याम्पसमा पढ्दै गरेका युवायुवतीहरुलाई स्वयम्सेवक शिक्षकका रुपमा राखिएको छ । पहिलो चरणमा छनोटमा परेका १५ सहित थप दुईजना गरेर १७ जना स्वयम्सेवक शिक्षकका रुपमा विद्यालयहरुमा खटिएका नगरपालिकाले जनाएको छ ।
उनीहरु ४० दिनसम्म नगरपालिकाले खटाएको विद्यालयमा पढाउने छन् । अघिल्लो आर्थिक वर्षमा नै बाँसगढी नगरपालिकाले बेरोजगारी अन्त्य गरी स्वरोजगार सिर्जना गर्ने उद्देश्यले स्वयम्सेवक शिक्षक परिचालन गर्ने नीति लिएको थियो ।
बाँसगढी नगरपालिकाअन्तर्गत शिक्षा शाखाले चालु आर्थिक वर्षमा नीति कार्यान्वयन गरिएको जनाएको छ । आगामी आर्थिक वर्षदेखि यस कार्यक्रमलाई थप व्यवस्थितरुपमा सञ्चालन गरिने बताउँदै शाखा प्रमुख शाहीले भने, ‘थप व्यवस्थितरुपमा सञ्चालन गरिने छ ।’ ‘उनीहरुलाई आधिकारिकरुपमा नियुक्तिपत्र प्रदान गरिएको छ ।
पछि अनुभवपत्र प्रदान गरिनेछ । आगामी दिनमा नगरपालिकामा जागिरको लागि समेत प्राथमिकता दिइनेछ,’ उनले भने । स्वयम्सेवक शिक्षकहरुले प्रतिदिन पाँच सय रुपैयाँका दरले खर्चसमेत प्राप्त गर्ने छन् ।









प्रतिक्रिया दिनुहोस्