मिसन संवाददाता,कोहलपुर
कोहलपुरमा जिल्लास्तरीय भाषण कला प्रतियोगिता सुरु भएको छ । कोहलपुर नगरस्तरीय युवा क्लब सञ्जालको आयोजनामा जिल्लास्तरीय खुला भाषण कला प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको मंगलबार कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले उद्घाटन गरिन् । उक्त अवसरमा बोल्दै उपप्रमुख सुवेदीले लागुऔषध प्रमुख समस्याको रुपमा रहेको भन्दै त्यसको न्यूनीकरणका लागि युवाहरुको भूमिका महŒवपूर्ण रहेको बताइन् । कोहलपुर नगरस्तरीय युवा क्लब सञ्जालले समसामयिक विषयमा जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएको उनले बताइन् । कोहलपुर क्षेत्रमा रहेका युवाहरुका लागि गरेका यस्ताखालका कार्यक्रमले हरेक क्षेत्रमा सशक्तरुपमा अगाडि बढाउन सहज बनाएको भन्दै आगामी दिनहरुमा यसरी नै अगाडि बढ्न आग्रह गर्दै शुभकामना दिएकी थिइन् ।

यस्तै कोहलपुर नगरपालिकका सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले कोहलपुर नगरपालिकामात्रै नभइ छिमेकी पालिकाहरुलाई पनि सहभागी बनाइ कार्यक्रम आयोजना हुनु सकारात्मक रहेको बताए । प्रतियोगिताले युवाहरुको क्षमता विकासमा सहयोग गर्ने उनले बताए । साथै नगरपालिकाले विभिन्न संघसंस्थासँग सहकार्य गर्दै लागुऔषधसम्बन्धीका कामहरु गर्दै आएको बताए ।
‘अवसर हामीलाई दिनुहोस्, परिवर्तन सबैका लागि ल्याउने छौं’ भन्ने मूल नारासहित सुरु भएको प्रतियोगिताको पहिलो दिन पब्लिक स्पीच कोहलपुर सिजन–१ अडिसन राउण्ड सम्पन्न भएको छ ।
क्लबका अध्यक्ष रमेश वरका अनुसार प्रतियोगितामा जिल्लाभरिका ३५ जनाले सहभागिता जनाएका थिए । फाइनल राउण्डका लागि २२ जना छनोट भएको उनले बताए । आगामी जेठ १३ गते हुने फाइलनमा २२ जनाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । अडिसन राउण्डको विषय ‘लागुऔषध न्यूनीकरणमा युवाहरुको भूमिका’ रहेको थियो ।
प्रतियोगितामा कोहलपुरसहित, नेपालगन्ज, बैजनाथ, राप्तीसोनारी गाउँपालिकासहितका युवाहरुको सहभागिता छ । प्रतियोगितामा मावि तथा कलेज स्तरमा अध्ययनरत र पालिकास्तरीय क्लबमा आबद्धहरुको सहभागिता छ ।









प्रतिक्रिया दिनुहोस्