नेपालगन्ज (बाँके)
अनियमित विद्युत् र लो भोल्टेज समस्या समाधानका विषयमा नेपालगन्ज उपमहानगरपालिकाले विद्युत् प्राधिकरणसँग छलफल गरेको छ । नेपालगन्जको विद्युत् समस्या र समाधानका लागि भइरहेका प्रयासका बारेमा नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दीन राईले मंगलबार नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलसँग जानकारी लिए ।

नेपालगन्ज उपमहानगरपालिकामा भएको छलफलमा नगर प्रमुख विष्टले अत्यधिक गर्मी हुने सहर नेपालगन्जमा पछिल्ला दिनमा विद्युत्को नियमित आपूर्तिमा भइरहेका समस्याको कारण, उपमहानगरपालिकाले गर्न सक्ने समन्वय र विद्युत् प्राधिकरणले समस्या समाधानार्थ गरिरहेको पहलका विषयमा जिज्ञासा राखेका थिए ।
नेपालगन्जमा गर्मी समयमा ‘लु’ (तातो हावा) को प्रकोपले नगरवासीलाई आक्रान्त पार्ने भएकाले विद्युत्को नियमितता सबैको चासो र सरोकारका विषय भएको भन्दै नगर प्रमुख विष्टले खास समस्याका विषयमा नगरवासीलाई जानकारी दिन वितरण केन्द्र प्रमुखलाई बोलाएर छलफल गरिएको बताए ।
पत्रकारहरुको उपस्थितिका बीच आयोजित छलफलमा वितरण केन्द्र प्रमुख प्याकुरेलले अहिले देखिएका सबै समस्याहरु अस्थायी प्रकृतिका रहेको भन्दै शनिबारसम्ममा सम्पूर्ण समस्या समाधान गरिने बताए । ‘शनिबारसम्ममा नयाँ ब्रेकर र एअरपोर्ट फिडर जडान गरेर अहिले देखिएका सबै समस्या समाधान गर्ने हिसाबले लागेका छौं,’ उनले भने, ‘बत्ती गइरहने समस्यालाई समाधान गर्न हामी लागिपरेका छौं ।’









प्रतिक्रिया दिनुहोस्