कोहलपुर, कोहलपुर नगरपालिकाले गुणस्तरहीन सेनेटरी प्याड खरिद गर्ने कम्पनीसँग सम्झौता रद्द गरेको छ । सेनेटरी प्याड खरिद गरेको कम्पनीले गुणस्तरहीन प्याड खरिद गरेको पुष्टि भएपछि उक्त सम्झौता रद्द गरिएको हो ।

जस्मिन हाइजिन प्रोडक्स प्रालि बुढिगंगा–१ मोरङसँग सेनेटरी प्याड खरिदका लागि सम्झौता भएको थियो । नगरपालिकाले नगरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई निःशुल्क वितरण गर्ने उद्देश्यअनुरुप सेनेटरी प्याड खरिद गरिएको थियो । कोहलपुर नगरपालिका र प्रोडक्स प्रालिबीच २०७९ फागुन १४ गते सेनेटरी प्याड खरिदका लागि सम्झौता भएको थियो । २७ लाख ६५ हजार रुपैयाँमा सेनेटरी प्याड खरिदका लागि सम्झौता भएको नगरपालिकाले जनाएको छ । प्रालिले प्याड खरिद गरेर ल्याए पनि गुणस्तरतामा शंका पैदा भएको थियो ।
‘सम्झौताअनुसार प्रोडक्स प्रालिले सेनेटरी प्याड खरिद गरेर ल्यायो । प्याड हेर्दा गुणस्तरयुक्त छैन भन्ने भयो । पहिल्यै गुणस्तर छैन भन्ने गुनासो आएपछि परीक्षणका लागि पठाइएको थियो । रिपोर्ट मापदण्डअनुसार छैन भन्ने आयो,’ स्थानीय तहस्तरीय सेनेटरी प्याड वितरण व्यवस्थापन समितिकी संयोजक तथा नगर उपप्रमुख संगीता सुवेदीले भनिन् । समितिको फागुन २२ गते बसेको बैठकले सेनेटरी प्याड परीक्षणका लागि ल्याबमा पठाउने निर्णण गरेको थियो । उक्त सेनेटरी नेपाल गुणस्तर तथा नापतोल विभाग गुणस्तर विभागमा मापनका लागि पठाइएको थियो । ‘प्याडको भिजिकल र केमिकल टेस्टका लागि पठाइएका थियौं,’ उनले भनिन्, ‘त्यसको रिपोर्ट वैशाख ३ गते आयो । तर, गुणस्तरीय नभएको रिपोर्ट आयो ।’
सेनेटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि २०७६ अनुसार १२ वटा मापदण्ड छन् । प्याडको तह राम्रो हुनुपर्छ । शतप्रतिशत कपास हुनुपर्ने मापदण्डमा उल्लेख गरिएको छ । परीक्षणका क्रममा प्याडमा प्रयोग हुने कपास १०० प्रतिशत हुनुपर्नेमा ३५ प्रतिशत मात्रै पाइएको छ भने प्याडको लम्बाइ २४ सेन्टिमिटर हुनुपर्नेमा २१ सेन्टिमिटर मात्रै रहेको भेटिएको छ । वैशाख ८ गते समितिको बैठक बसेर प्रालिलाई स्पष्टिकरण सोध्ने निर्णण भएको थियो । १२ गते स्पष्टिकरणको जवाफ आएको नगरपालिकाले जनाएको छ । जवाफमा प्रालिले सेनेटरी प्याड गुणस्तरयुक्त नै भएको जिकिर गरेको थियो । फेरि १३ गते बसेको समितिको बैठकले सम्झौता रद्द गर्न कार्यपालिकालाई सिफारिस गर्ने निर्णय गरेको उपप्रमुख सुवेदी बताउँछिन् ।
वैशाख १७ गते बसेको कार्यपालिका बैठकले उक्त सम्झौता रद्द गर्ने जिम्मा शिक्षा तथा खेलकुद शाखालाई दिएको थियो । शाखाको १९ गतेको बैठकबाट औपचारिकरुपमा सम्झौता रद्द गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख रामबहादुर हमालले बताएका छन् । कोहलपुर नगरभित्रका विद्यालयहरूमा निःशुल्क वितरणका लागि एक लाख आठ हजार प्याकेट सेनेटरी प्याड खरिद गरिएको थियो । खरिद गरेर कोहलपुर नगरपालिकाको सभा हलमा झन्डै तीन महिनासम्म प्याड गोदाम गरेर राखिएको थियो । सम्झौता रद्द गरिएपछि प्रालिले सेनेटरी प्याड फिर्ता लिइसकेको छ ।









प्रतिक्रिया दिनुहोस्