किताबसँगै पानीको बोतल बोकेर विद्यालय जान्छन् विद्यार्थी



शुभाकर विश्वकर्मा,कोहलपुर
आठ वर्षीय पार्वती थारु कक्षा २ मा पढ्छिन् । सिद्धार्थ माध्यमिक विद्यालयमा अध्ययनरत उनलाई पढाइभन्दा खानेपानी कै पीर छ । किनकी, ‘विद्यालयमा पर्याप्त खानेपानी छैन ।’ गर्मी समयमा प्यास मेटाउन उनी विद्यालय आउँदा घरबाटै झोलामा किताबसँगै पानीको बोतल लिएर आउँछिन् । विद्यालयमा खानेपानीको उचित व्यवस्था नहुँदा घरबाटै पानी बोकेर ल्याउने गरेको पार्वती बताउँछिन् ।


उक्त विद्यालयमा चार सयजना विद्यार्थीका लागि एउटा मात्रै धारा छ । त्यो पनि जीर्ण अवस्थामा छ । हाते पम्प (नल्का)को पानी प्रयोग गर्छन् यहाँका विद्यार्थी । सिद्धार्थमा अध्ययनरत कक्षा १ देखि १० कक्षासम्मका विद्यार्थी वर्षौंदेखि उक्त धारा प्रयोग गर्दै आएका छन् । विद्यार्थी संख्याको अनुपातमा धारा अभाव हुँदा कक्षा ६ मा अध्ययनरत आयुषा थारुलाई पनि उसतै समस्या छ । विद्यालय नजिकै घर भएकी उनी हरेक दिन पानी बोकेरै ल्याउँछिन् । आयुषा भन्छिन्, ‘किताबसँगै बोतल पनि सँगै ल्याउँछु । विद्यालयमा धारा एउटै हुँदा समस्या भएको छ । धेरैजना हुन्छन् । पानी प्यास लाग्दा लाइन लाग्नुपर्छ । त्यही धारा पनि बिग्रेको छ ।’


कक्षा ६ मै अध्ययनरत अञ्जु सहकारी पनि उस्तै समस्या सुनाउँछिन् । मिसन टुडे दैनिक स्कुलमा पुगेको बेला आयुषा र अञ्जु दर्जन बढी बोतल बोकेर कक्षा कोठाबाट धारासम्म आए । उनीहरु कक्षाका सबै साथीहरुको बोतल जम्मा गरेर नल्काबाट पानी लिन आएका हुन् ।

त्योभन्दा अघि अरु विद्यार्थी जीर्ण धारामा पानी भरिरहेका थिए । केहीबेर पर्खिएर उनीहरु ती बोतल भरे । त्यतिबेला उनीहरुको कक्षामा पढाइ भइरहेको थियो । उनीहरु भने सबै बोतलमा पानी भरेर कक्षा कोठातिर लागे । सहकारी भन्छिन्, ‘गर्मीयाम छ । पानी प्यास लाग्छ । एउटै धारा हुँदा समस्या भएको छ । पढाइभन्दा पानी कै पीर छ हामीलाई ।’


करिब १० वर्ष अगाडि निर्माण गरिएको उक्त धारा बेलाबेला बिग्रिँदा विद्यार्थीहरुलाई हैरानी हुने गरेको छ । एउटा मात्र धारा त्यसमा पनि बेलाबेला बिग्रिँदा यहाँका विद्यार्थीलाई पानी खान समस्या छ ।

शौचालयको पनि अवस्था उस्तै
सिद्धार्थ माध्यमिक विद्यालयमा विद्यार्थीलाई खोपानीको मात्र समस्या होइन, यहाँको शौचालयको अवस्था पनि उस्तै छ । १० कक्षासम्म पढाइ हुने यस विद्यालयमा शौचालयको समेत उचित व्यवस्था छैन । छात्र र छात्राका लागि शौचालय व्यवस्था भए पनि प्रयोगविहीन अवस्थामा छन् ।

छात्र शौचालय प्रयोगविहीन छ । शिक्षक र विद्यार्थी एउटै शाचौलय प्रयोग गर्छन । शौचालय र धाराको लागि माग गर्दा रकम व्यवस्था हुन नसकेको विद्यालय प्रशासन बताउँछ । विद्यालयको अनुरोधमा सहकर्मी समाज बाँकेले शौचालयको जीर्णाद्वार गरिदिएको प्रधानाध्यापक रञ्जना राना रावल बताउँछिन् । उनका अनुसार विद्यालयमा पहिलेभन्दा शौचालयको अभाव छैन । शौचालय निर्माणमा विद्यालयले थोरै लगानी गरेको उनले बताइन् ।

समुदायका कारण धारा बिग्रियो
रञ्जना राना
प्रधानाध्यापक, सिद्धार्थ मावि
विद्यालयमा प्रमुखतः धाराको अभाव थियो । सहकर्मी समाजले बनाइदिएको थियो । फिल्टरसहितको व्यवस्था छ । तर अहिले प्रयोगविहीन छ । उक्त धारा प्रयोगविहीन हुँदा विद्यालयमा खानेपानीको समस्या छ । समुदायका मान्छे जथाभावीरुपमा धारा प्रयोग गर्दा पनि समस्या भएको छ । प्रत्येक महिना मर्मत गर्नुपर्छ । फेरि भाँचिदिन्छन् । बाहिरका मानिसलाई रोक्न नै सकिरहेका छैनौं ।

त्यसका लागि विद्यार्थीलाई समस्या भइसक्यो । बिग्रेको धारा मर्मत गर्नुपर्ने अवस्था छ । आन्तरिक समस्याका कारण बनाउन सकिएको छैन । वडा नम्बर ५ ले समरसेलका लागि आर्थिक सहयोग गरेको छ । अब बन्छ । नयाँ धारा बन्छ ।

प्रकाशित मिति : २०८० जेठ ८ गते सोमबार