22 May 2024  |   बुधबार, जेष्ठ ९, २०८१

स्थानीय सरकारका आगामी नीति तथा कार्यक्रम : सौन्दर्यकरणदेखि सामाजिक विकाससम्मका योजना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ ८, २०८०  

कोहलपुर,
बाँकेका स्थानीय सरकार आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रमको पूर्वतयारीमा जुटेका छन् । नीति तथा कार्यक्रम र बजेट ल्याउने समय नजिकिँदै थालेपछि जिल्लामा आठवटै स्थानीय सरकार पूर्वतयारीमा जुटेका हुन् ।
बाँकेमा एक उपमहानगरपालिका, एक नगरपालिकासहित ६ वटा गाउँपालिका छन् । तीमध्ये केहीमा नीति तथा कार्यक्रमको पूर्वतयारी सुरु भइसकेको छ भने केही पालिकाले नीति तथा कार्यक्रम छनोटको प्रक्रिया सुरु गरेका छन् । नरैनापुर गाउँपालिकामा भने आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । नरैनापुरको यथार्थ वस्तुस्थिति सुहाउँदो, समस्या समाधान गर्न सक्ने कुरालाई प्राथमिकता दिइने गाउँपालिकाका अध्यक्ष मोहम्मद अहमद शाहले जनाए । शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकासलाई गाउँपालिकाले प्राथमिकता दिने उनको भनाइ छ ।

राप्तीसोनारीमा पनि नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफल सुरु भएको छ । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलका अनुसार गाउँपालिकाले शिक्षा र कृषिलाई बढी प्राथमिकता दिनेछ । जनसंख्या र भूगोल ठूलो भएको राप्तीसोनारीका नागरिकलाई शिक्षित बनाउने र कृषि क्षेत्रमार्फत समृद्धिको खाका कोर्न दुईवटा विषय प्रमुख प्राथमिकतामा रहेको उनले बताए ।

जिल्लाकौ बैजनाथ गाउँपालिका भने आइतबारदेखि नीति तथा कार्यक्रम र बजेटका लागि छनोट प्रक्रिया सुरु गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले सम्पूर्ण वडा कार्यालयलाई बस्ती स्तरका आवश्यक र योजना छनोटका लागि पत्राचार गरिएको बताए । ‘योजना माग गरिएको छ । प्रक्रियागतरुपमा बस्ती, वडा, विषयगत समिति हुँदै कार्यपालिकामा योजना र प्राथमिकता आउँछन् । सोहीअनुसार गाउँपालिकाले समय सुहाउँदो नीति तथा कार्यक्रम तर्जुमा गर्नेछ,’ प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने ।

खजुरा गाउँपालिकाले भने शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारका लागि सामाजिक विकासलाई समेत प्राथमिकता दिएर नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गरिरहेको छ । विभिन्न चरणमा छनोट भएका नीतिहरुलाई प्राथमिकता दिएर टुंगो लगाउने गरी काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताए । उनी भन्छन्, ‘वडामार्फत योजना छनोटको काम भइरहेको छ । ११ गतेसम्म आइपुग्छ । त्यसपछि नीति तथा कार्यक्रमको प्राथमिकीकरण हुन्छ,’ उनले भने । प्रमुख प्रशासकीय अधिकृत सुवेदीलाई यसपटक गाउँपालिकामा घटेर बजेट आउने सम्भावना रहेको समेत बताए । नीति तथा कार्यक्रम र बजेटमा अधुरा योजनालाई पूरा गर्ने कुरालाई प्राथमिकता दिइने पनि उनको भनाइ छ ।

यस्तै बजेटमार्फत सामाजिक क्षेत्रको विकासलाई पनि विगतको भन्दा बढी योजना समेटिने र त्यसका लागि नीति तथा कार्यक्रममा ती कुरा समेटिने सुवेदीले बताए । यस्तै भौतिक पूर्वाधार विकास पनि ध्यान दिइने उनले बताए ।
जानकी गाउँपालिकाले भने स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिने तयारी गरेको छ । जानकी गाउँपालिकाको बृहत् विकासका लागि स्वास्थ्य क्षेत्रको भूमिका महŒवपूर्ण रहेको भन्दै स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइने गाउँपालिकाले जनाएको छ । जानकीको बृहत् विकासका लागि सरोकारवालाहरुसँग छलफल भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले बताए ।

उनले आगामी आर्थिक वर्षमै १५ शैड्ढयाको अस्पताल सञ्चालन र छोरी बीमा कार्यक्रम सञ्चालन गर्ने जस्ता कार्यक्रम रहेको उनले बताए । कृषि क्षेत्रको विकासका लागि सिक्टा सिँचाइको पानी भण्डार गर्नेदेखि सिँचाइको सुविधा प्रदान र कृषिमा आधुनिकीकरण गर्नेसम्मका कार्यक्रम रहेको उनको भनाइ छ । यसैगरी पूर्वाधार क्षेत्रको विकासका लागि पनि गाउँपालिकाले प्राथमिकता दिएको बताएको छ ।

डुडुवा गाउँपालिकाकी उपाध्यक्ष साहिदा बानोले गाउँपालिकामा योजना छनोट प्रक्रिया सुरु भइसकेको बताएकी छन् । उनका अनुसार सम्पूर्ण वडाले नीति तथा कार्यक्रमको लागि प्राथमिकता छनोट गरिरहेका छन् । त्यसलाई अब अन्तिमरुपमा दिने काम कार्यपालिकाले गर्ने उनले बताइन् ।

नेपालगन्ज उपमहानगरपालिकाले नीति तथा कार्यक्रमका लागि औपचारिकरुपमा प्रक्रिया थालिसकेको छैन । नगर उपप्रमुख कमरुद्दीन राई पालिकामा नीति तथा कार्यक्रमको तयारी नभएको बताउँछन् । नगर प्रमुख प्रशान्त बिष्ट कामको सिलसिलामा बाहिर हुँदा नीति तथा कार्यक्रमको तयारी नभएको बताइएको छ ।

नगरप्रमुख बिष्ट आएपछि कार्यपालिका बैठक बसेर नीति तथा कार्यक्रम र प्राथमिकताका विषयमा छलफल हुने उनले बताए । आगामी वर्षको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, सरसफाइ र नगर सौन्दर्यकरणलाई प्राथमिकता दिइने उनको भनाइ छ ।

यस्तै कोहलपुर नगरपालिकामा समेत अहिलेसम्म औपचारिकरुपमा नीति तथा कार्यक्रममाथि छलफल सुरु भइसकेको छैन । नगर उपप्रमुख संगीता सुवेदीका अनुसार नीति तथा कार्यक्रमको पूर्वतयारी सुरु हुने चरणमा छ । उनले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिइने बताइन् ।

प्रकाशित मितिः सोमवार, जेष्ठ ८, २०८०     8:41:45 AM  |