कोहलपुर, : कोहलपुर नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको तथ्यांक संकलन सुरु गरेको छ । रोजगारीको शिलशिलामा विदेश गएर फर्किएकाको तथ्यांक संकलन सुरु गरिएको हो ।
दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो चरणसँग साझेदारीमा कोहलपुर नगरपालिका क्षेत्रका युवाहरुको तथ्यांक संकलन सुरु गरिएको कोहलपुर नगरपालिकाले जनाएको छ । परियोजनाको आर्थिक वर्ष २०८९÷०८० को कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारबाट फर्केका युवाहरुका लागि सीपसम्बन्धी तथ्यांक संकलन, अद्यावधिक कार्यसम्बन्धी अभिमुखीकरण गरिएको हो ।

गणनामा खटिने गणकहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको कोहलपुर नगरपालिकाअन्तर्गत सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले बताए । उनका अनुसार कोहलपुरको विकासका लागि सीपयुक्त जनशक्ति परिचालन गर्ने उद्देश्य गाउँपालिकाको रहेको छ ।
तथ्यांक संकलनका लागि कोहलपुरका १५ वटाबाट ३० जना गणक खटिने छन् । प्रत्येक वडाबाट दुई÷दुईजना परिचालन गरिएको सामाजिक विकास समितिका संयोजक विश्वकर्माले बताए । ‘देश विकासका लागि युवाहरुको आवश्यक छ । त्यसैगरी कोहलपुर विकासमा हामी युवाहरुको परिचालन गर्न चाहन्छौँ । त्यसैले तथ्यांक संकलन थालिएको हो । त्यसबाट यथार्थ तथ्यांक आउनेछ । सोहीअनुसार नगरपालिका अघि बढ्छ,’ उनले भने ।
उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले कोहलपुरमा रहेका वैदेशिक रोजगारीमा गएका युवाहरुको संख्या एकिन गर्न तथ्यांक संकलन सुरु गरिएको हो । उनले गणकहरुलाई सही तथ्यांक संकलन गर्न सुझाव दिएका छन् । अभिमुखीकरणमा ३० जना गणकहरुको असहभागिता थियो ।









प्रतिक्रिया दिनुहोस्