नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ की चन्द्रा सुनारको नेपाल प्रहरीमा जवान पदमा कार्यरत पति उमेश सुनारसँग तीनचार वर्षयता राम्रो सम्बन्ध थिएन । चन्द्राकी आमा खजुरा–४ की सानु सुनारका अनुसार प्रेम विवाह गरेकी चन्द्रालाई पति उमेशले विवाहपश्चात भने राम्रो व्यवहार गरेनन् । गरिब परिवारकी भएकीलगायत अनेक लान्छना लगाउने र माइतीमा पनि जान आउन नदिने गरेर उमेशले मानसिक तनाव दिँदै आएका सानुको दाबी छ ।

पछिल्लो तीनचार वर्षयता त उनीहरु बीच फोन सम्पर्क पनि बिरलै हुने गरेको थियो । तर, वैशाखमा ईलाका प्रहरी कार्यालय पोवाङ रोल्पामा कार्यरत पति उमेशले चन्द्रालाई आफूकहाँ आउन बारम्बार फोन गरेर आग्रह गर्न थाले । चन्द्रा ढुक्क भएर उनीकहाँ जान तयार नभएको माइती पक्षको भनाइ छ । रोल्पा जानुअघि उनी माइतीमा पनि पुगेकी थिइन् । माइतीमा पनि उनले जाउँ कि नजाउँ भन्ने दुविधा खोलेकी सानुले बताइन् ।
आफूहरुले अप्ठ्यारो लागिरहेको छ भने नजा भनेर सुझाव दिएको उनी सुनाउँछिन् । ‘अन्ततः एकपटक गएर विचार गरी हेर्ने निधोमा चन्द्रा पुगिन्,’ उनले भनिन् । ‘बिरामी भएर ओछ्यानमा थलिएका बुवाले पनि हात समाएर आज नजाउ तिमी यतै बस भनेर भन्नुभो,’ आमा चन्द्राले नेपालगन्जमा पत्रकार सम्मेलनमा भक्कानिँदै भनिन्, ‘तर श्रीमान्लाई लिएर आउँछु भनेर उनी गइन् ।’ सासुससुराले पनि कर गरेपछि अन्ततः चार वर्षका छोरासहित वैशाख २६ गते उनी पति भएको ठाउँमा गएको माइती पक्षको भनाइ छ ।

वैशाख २९ गते उमेशले छोरासहित रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ४ मा पर्ने सुनछहरी झर्नामा लगेर गए । झर्ना पुग्न नै करिब दुई घण्टा लाग्ने ठाउँमा साढे एक बजे उनले श्रीमती र छोरालाई लिएर गएको चन्द्राका बाजे नाता पर्ने देवमल सुनार बताउँछन् । तर, साँझ उमेशले नुहाउने क्रममा ढुंगामा चिप्लिएर पानीमा खसेर श्रीमतीको मृत्यु भएको खबर आफू कार्यरत प्रहरी कार्यालयमा गराए । माइती पक्ष पुगेर जब लाशको अवस्था हेरे उनीहरुलाई आशंका लाग्यो, छोरीको मृत्यु भवितव्यले नभइ हत्या भएको हुनसक्छ । उनीहरुले उक्त आशंका गर्नुका पछाडि केही आधार छन् ।
पहिलो त लाशको तल्लो शरीरमा कुनै वस्त्र थिएन । घटनास्थलमा मादक पदार्थका बोतल र यौनबद्र्धक औषधिका खोल भेटिएको, लाशको अनुहारमा कोतरिएको घाउहरु रहेको, अन्य भागमा पनि चोटको निशान भेटिएको कारणले आफूहरुलाई हत्याको आशंका लागेको माइती पक्षको दाबी छ । उमेशको अर्काे महिलासँग प्रेम सम्बन्ध रहेको कारणले पनि चन्द्राको हत्या गरेको हुनसक्ने माइती पक्षको आशंका छ । तर, रोल्पा प्रहरीले माइती पक्षले उमेशविरुद्ध दिएको कर्तव्य ज्यान र जबरजस्ती करणीसम्बन्धी किटानी जाहेरी दर्ता गर्न मानेन । प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि माइती पक्षले नेपालगन्जमा पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराएको छ । साथै चन्द्रालाई न्याय दिन माग गरेको छ ।
आमा सानु र फुपु नाता पर्ने दिलमाया विकका अनुसार किटानी जाहेरी लिएर आफूहरु गएपछि प्रहरीले उल्टै हप्काएको बताए । ‘तिमीहरु जाहेरी लिएर आउने को हौं ? यीनको परिवारले हो जाहेरी दिने । धेरै बोल्यौं भने तिमीहरुलाई नै थुनिदिन्छौँ भनेर हामीलाई हप्काए,’ दिलमायाले भनिन् । अन्यायी उमेश सुनार बहालवाला प्रहरी भएकाले प्रहरीले जाहेरी दर्ता नगरेको आरोप माइती पक्षको छ ।
ईलाका प्रहरी कार्यालय पोवाङको क्षेत्रमा भएका घटनाहरुको जाहेरी दर्ता ईलाका प्रहरी कार्यालय सुलीचौरले गर्ने गर्छ । ईलाका प्रहरी कार्यालय सुलीचौरका प्रमुख प्रहरी निरीक्षक ओमप्रकाश वाग्लेले भने जाहेरी दर्ता नगरेको भन्ने आरोप गलत भएको बताए । आफूहरुले माइती पक्ष आइसकेपछि मात्रै शवको सनाखत र मुचुल्का पूरा गरेको एवम् माइती पक्षकै सहमतिमा पोष्टमार्टम गरेको उनले बताए ।
पोष्टमार्टम रिपार्टमा डुबेर नै मृत्यु भएको रिपोर्ट आएको उनले बताए । यसका साथै भिसेरा परीक्षणका लागि काठामाडौं पठाइएको उनले बताए । कर्तव्य ज्यानजस्तो मुद्दामा जाहेरी दिँदा भिसेराको रिपोर्ट एवम् बलियो प्रमाणसहित दिनु उपयुक्त हुन्छ भन्ने सुझाव मात्रै दिएको उनले बताए ।
शरीरमा मृत्युका कारण भन्न मिल्नेखालका चोटहरु नदेखिएको पनि उनको भनाइ छ । आफूहरुले उक्त घटनालाई गम्भीरताका साथ लिएर अनुसन्धान गरिरहेको पनि उनले दाबी गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामकुमार सारुमगरले पनि माइती पक्षलाई जाहेरी दिन आउनुस्भन्दा नआएर पत्रकार सम्मेलन गरेको भन्दै रोष प्रकट गरे । उनले घटनाबारे मृतकका ससुराले दिएको बुहारीको डुबेर मृत्यु भएको भन्ने जाहेरीका आधारमा अनुसन्धान गरिरहेको बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्