‘प्रेम प्रस्ताव अस्वीकार गर्दा विभत्स हत्या’



शुभाकर विश्वकर्मा
कोहलपुर, ३ जेठ
प्रेम प्रस्ताव अस्वीकार गर्दा युवकले युवतीको हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको छ । कोहलपुर–६ रझेनाकी २२ वर्षीया सुमद रानी थारुले बर्दियास्थित राजापुर–८ कोइरी गाउँका २६ वर्षीय शैलेन्द्र चौधरीको प्रेम प्रस्ताव अस्वीकार गर्दा विभत्स हत्या भएको भन्दै शैलेन्द्रविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको हो ।
सुमद रानीका भाइ निरेनले जाहेरी दर्ता गरेका हुन् । वैशाख २९ गते नेपालगन्जस्थित आफू बस्ने कोठामै ति युवती मृत अवस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । भेरी प्राविधिक शिक्षालय नेपालगन्जमा कम्प्युटरसम्बन्धी डिप्लोमा कोर्षका लागि उनी भाइ निरेनसँगै नेपालगन्ज बस्दै आएकी थिइन् ।

       मृतक सुमद रानी थारु

बाँके प्रहरीका अनुसार जाहेरीमा सुमद रानी मृत अवस्थामा फेला गरेको कोठामा अन्यायी चौधरीले प्रयोग गर्दै आएको रेडमीको मोबाइल, निजले लगाएको जिन्स पाइन्ट र हेल्मेटको भाइजर टुक्रा र चक्कु भेटिएको उल्लेख छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता रामप्रसाद घर्ती मगरका उनका अनुसार मृतकको टाउकोमा घाउ देखिएको छ । उनको घाँटी चक्कुले रेटेको निसानी देखिन्छ । जहाँबाट रगतसमेत बगेको छ । योसँगै शरीरका अन्य भागमा समेत चोटपटक लागेको प्रहरीले जनाएको छ ।

जाहेरीमा उल्लेख भएअनुसार जाहेरवाला थारु कक्षा ११ को परीक्षा दिएर घर आएका थिए । थारु दिदीभाइ र अन्यायी चौधरीबीच सात÷आठ महिनादेखि सामान्य चिनजान थियो । बेला बखत घर र डेरामा आउने जाने गर्थे । शैलेन्द्रले सुमद रानीलाई एकतर्फीरुपमा चाहन्थ्ये । शारीरिक सम्बन्धका साथै विवाहका लागिसमेत प्रस्ताव गर्दै आएको जाहेरीमा दाबी गरिएको छ । ‘अन्यायी चौधरीका सबै प्रस्ताव सुमद रानीले अस्वीकार गर्दै आएकी थिइन्,’ मृतकका भाइ निरेनले दायर गरको जाहेरीमा भनिएको छ, ‘ दिदी (सुमद रानी)लाई मन पराउने र विवाह गर्नुपर्ने भन्दै चौधरीले मानसिक यातना दिँदै आएको कुरा दिदीले मलाई बताउनु भएको थियो ।’ साथै शैलेन्द्रले सुमद रानीलाई जागिर लगाइ दिने प्रलोभनसमेत पारेका जाहेरीमा दाबी गरिएको छ ।

               मृतकका भाई
‘म कक्षा ११ को परीक्षा सकेर वैशाख २२ गते घर आएको थिएँ । २७ गते अन्यायी चौधरीले घरमा आई दिदीलाई भेरी अस्पतालको फार्मेसीमा जागिर दिन्छु, मलाई नागरिकता दिनु भनेका थिए,’ जाहेरीमा भनिएको छ, ‘मसँगै छैन, दिदीसँग होला भने । त्यो दिन हाम्रो घरमा बसे । वैशाख २८ गते दिदीलाई भेट्छु भनेर नेपालगन्ज गएको थियो ।’ शैलेन्द्र भेट्न आएको भनेर जानकारी गराउन दिउसो १२ बजेदेखि २९ गते बिहानसम्म फोन गर्दा नउठेको उनले बताए ।

आफ्नी दिदीले प्रयोग गर्ने सामाजिक सञ्जाल, मेसेन्जर, ह्वाट्सएपमा फोन गर्दा नउठेको र निजले प्रयोग गर्ने मोबाइलमा समेत पटकपटक फोन गर्दा नउठेको उनी बताउँछन् । २९ गते बिहानै कोहलपुरबाट नेपालगन्ज पुग्दा कोठामा चाबी लगाएको भन्दै उनले भने, ‘कोठाको एउटा चाबी दिदी र एउटा मसँग थियो । मसँग भएको चावीले कोठा खोलेँ । कोठामा हेर्दा झ्याल बन्द थियो । पलङमा रहेको बिस्तारा बिग्रेको, पलङमाथि ब्लाङकेट ओढाइ राखेको अवस्था थियो ।’

‘ब्लाङकेट तान्दा दिदी रगताम्य अवस्थामा मृत देखेपछि तत्काल कोठा बाहिर गएर चिच्याएँ, होहल्ला गरेँ,’ उनी भन्छन्, ‘घरबेटी र आमालाई बोलाए ।’ ‘मेरी दिदीलाई मन पराउथ्यो । प्रेम प्रस्ताव राखेको थियो । दिदीले अस्वीकार गर्दै आएकी थिइन् । फेरि पनि दिदीले प्रेम प्रस्ताव अस्वीकार गरेकै कारण जबरजस्ती करणी गरी हत्या गरेको हो । उनीमाथि कडाभन्दा कडा कारबाही हुनुपर्छ,’ उनले भने । उक्त घटनापछि शैलेन्द्र फरार छन् ।

हत्या आरोपित खोज्दै प्रहरी
युवती सुमद रानी थारुको हत्या नै भएको बाँके प्रहरीको पनि दाबी छ । परिवारले शैलेन्द्र चौधरीविरुद्ध कर्तव्य ज्यान मुद्दामा दिएको जाहेरी २९ गते नै दर्ता भइसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता रामप्रसाद घर्तीमगरले बताए । उनका अनुसार बाँके प्रहरीले अहिले हत्या आरोपित खोजी कार्य तीव्र बनाएको छ ।


भारत र बर्दियामा चौधरीको खोजी कार्य जारी रहेको उनको भनाइ छ । हत्या जस्तो गम्भीर अपराधविरुद्ध बाँके प्रहरी संवेदनशीलरुपमा अघि बढिरहेको उनले जनाए । उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय बाँकेले एकजना प्रहरी निरीक्षकको नेतृत्वमा सातजनाको टोली बर्दियामा खटाएको छ ।

आधा टोली सीमावर्ती क्षेत्रमा खटिएको उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालयले समेत घटनाका आरोपित खोज्न सहयोग गरिरहेको घर्तीमगर बताउँछन् । ‘यो घटनालाई हामीले गम्भीररुपमा लिएका छौँ । सोहीअनुसार टोली परिचालित छ । सबै ठाउँमा निगरानी बढाएका छौँ । पीडितले न्याय पाउँछन् । दोषीले सजाय पाउँछ,’ उनले भने ।
आमाको विलोनाः ‘मेरी छोरी मार्नेलाई सजाय देउ’
सुमद रानी थारुको मृत्युले उनको परिवार यतिबेला शोकमा छ । उनी घरको जेठी छोरी थिइन् । चारजनाको खुसी परिवार थियो । दिदीभाई नेपालगन्जमा पढ्थे । आमा बुवा घरमा खेती किसानी गर्थे । बुधबार मृतकको घर पुग्दा सन्नाटा थियो । ढलान गरेको घरको मूल ढोका नजिकै सुमद रानीको फोटो टाँगिएको थियो ।
उनको फोटो अगाडि बत्ती बलिरहेको थियो । फोटोमा माला थियो ।

आमा ललिता थारु घरी छोरीको फोटो हेर्दै आँशु खसाल्थिन् । घरी मेरी छोरी मलाई किन एक्लै छोडेर गयौ भन्दै बर्बराउँथिइन् । बुवा सेन्सन थारु एकोहोरो मृतक छोरीको तस्विर हेरेर टोलाइरहेका देखिनथ्ये । बलिन धारा आँशु खसाल्दै ललिता भन्छिन्, ‘छोरी थिइ र घर उज्यालो थियो, भरोसा र आशा पनि थियो । कुन पापीको आँखा लाग्यो । मेरो छोरीको हत्या गर्नेलाई कडाभन्दा कडा सजाय होस् । मेरी छोरी मार्नेलाई सजाय देउ ।’

  • No tags available
प्रकाशित मिति : २०८० जेठ ४ गते बिहीबार