मिसनकर्मी विश्वकर्माद्धारा पुरस्कार घोषणा



कोहलपुर : मिसन टुडे दैनिकमा कार्यरत शुभाकर विश्वकर्माले क्रियाशील पत्रकारिता पुरस्कार घोषणा गरेका छन् । आफ्ना स्वर्गीय बुवा दीप बहादुर कामीको सम्झनामा मिसनकर्मी विश्वकर्माले पाँच हजार राशीको क्रियाशील पत्रकारिता पुरस्कार घोषणा गरेका हुन् । प्रेस सेन्टर नेपाल कोहलपुर शाखाका सचिवसमेत रहेका विश्वकर्माले शाखाको मासिक बैठकको अवसरमा उक्त पुरस्कार घोषणा गरेका थिए ।


बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ मा अवस्थित कुपिण्डे ताल भ्रमण तथा मासिक बैठकको अबसरमा विश्वकर्माले पाँच हजार राशीको स्वर्गीय ‘दिपबहादुर क्रियाशील पत्रकारिता पुरस्कार’ घोषणा गरेका हुन् । उक्त पुरस्कार हरेक वर्ष शाखामा आवद्ध एक जना क्रियाशील पत्रकारलाई प्रदान गरिनेछ । ‘मेरो स्वर्गीय बुवाको प्रेरणाले म पत्रकारितामा जोडिए । उहाँ हामी माझ हुनुहुन्न’ उनले भने, ‘मेरा स्वर्गीय बुवाको सम्झना,सम्मान र क्रियाशील पत्रकारलाई प्रोत्साहन होस् भने पुरस्कारको घोषणा गरेको हुँ ।’

प्रस्तावित स्व.दीपबहादुर स्मृति प्रतिष्ठान जुम्लाका अध्यक्षसमेत रहेका विश्वकर्माले पाँच हजार राशीको क्रियाशिल पत्रकारिता पुरस्कार घोषणा गर्न पाउँदा खुसी लागेको बताए । यसले प्रेस सेन्टरमा अबद्ध पत्रकारहरुलाई थप मेहनतका लागि पनि प्रेरित गर्ने पनि बताए । ‘यो पुरस्कार मात्रै होइन, पत्रकारको लागी प्रेरणा पनि हो, यसले थप गतिशिल, अनुशासित र तथ्यपरक पत्रकारिताका लागि प्रेरणा दिने अपेक्षा गरेको छु,’विश्वकर्मा भन्छन् ।

विगत चार वर्षयता बाँके जिल्लालाई कर्मथलो बनाइरहेका विश्वकर्मा अध्यक्ष रहेको प्रतिष्ठानले जुम्ला जिल्लामा क्रियाशील पत्रकारिता गरिरहेका एक जना पत्रकारलाई पुरस्कार गर्दै आएको छ । २०७९ मा दशहजार राशीको पहिलो पुरस्कार पत्रकार सागर परियारलले प्राप्त गरेका थिए । आफू कोहलपुरमा रही पत्रकारिता गरिरहेको र थोरै भए पनि कोहलपुरमा पत्रकारिता गरिरहेका पत्रकारको हौसलाका आफूले पुरस्कार घोषणा गरेको उनको भनाइ छ ।
उक्त पुरस्कार प्रत्र्यक बर्ष प्रेस सेन्टर नेपाल कोहलपुर नगरको स्थापना दिवसको अवसरमा वितरण गरिनेछ । प्रेस सेन्टर नेपाल कोहलपुर शाखाको मासिक बैठकको क्रममा पत्रकार विश्वकर्माले गरेको घोषणा स्वागत योग्य रहेको बताए । पत्रकार विश्वकर्माले वैशाख २५ गते कोहलपुर नगरपालिकाको १०औं स्थापना दिवसको अवसरमा उत्कृष्ट पत्रकारिता पुरस्कार प्राप्त गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८० जेठ १ गते सोमबार