कोहलपुर ।
कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि गैरसरकारी संस्थाहरुसँग योजना माग गरेको छ । कोहलपुर नगरपालिका क्षेत्रमा कार्यक्षेत्र बनाएर काम गरिरहेका संघ संस्थासँग आगामी आर्थिक वर्षका लागि योजना तथा कार्यक्रम माग गरेको हो ।
कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालका अनुसार स्थानीय सरकार सञ्चालन ऐनका दफा २५ बमोजिम अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संघ, उपभोक्ता समिति, सहकारी संघलगायत तथा सामुदायिक संघ संस्थाले आफ्नो वार्षिक कार्यक्रम पेस गर्न आह्वान गरिएको छ ।
संस्थाले योजना पेस गर्दा संस्थाले खर्च गर्ने बजेट स्थानीय तहको वार्षिक योजना, नीति तथा कार्यक्रम तथा बजेटमा समावेश गर्नुपर्ने कानुनी व्यवस्था भएकोले सूचना जारी गरिएको हो ।
उक्त योजना आगामी जेठ २५ गतेभित्र पेस गरिसक्नु पर्नेछ । नगरपालिकाको योजना पुस्तिकामा समावेश नभएका संघसंस्थालाई आर्थिक वर्ष २०८०/०८१ मा नगरपालिकाभित्र कार्यक्रम सञ्चालन गर्न अनुमति नहुने पनि बताइएको छ । योसँगै कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेटको पूर्वतयारी सुरु गरेको छ ।









प्रतिक्रिया दिनुहोस्