उत्पादनमा आत्मनिर्भरदेखि किसान सूचिकरणसम्म



‘एक गाउँ, एक नर्सरी उत्पादन’ कार्यक्रम, कबुलियती, सामूहिक र करार खेती सहयोग कार्यक्रम, कौसी खेती करेसाबारी कार्यक्रम सञ्चालन गरिएको छ । यस कार्यक्रममा एक सय कृषक कौसीमा जोडिएका छन् ।

कोहलपुर ।

कोहलपुर नगरपालिका कृषि क्षेत्रमा धेरै सम्भावना भएको पालिका हो । यो तीन प्रदेशको ट्रान्जिट प्वाइन्टसमेत भएकाले यहाँको कृषि बजारीकरणको सम्भावना छ । स्थानीय सरकारसँग समन्वय गरेर कृषि हाटबजार सञ्चालन भइरहेको छ । कोहलपुर नगरपालिका वडा नम्बर १४ र १५ लाई तरकारी बजेट क्षेत्र घोषणा गरेर काम गरिरहेको अवस्था छ ।

कृषि क्षेत्रको बृहत्तर विकासका लागि ‘एक वडा, एक कृषि प्राविधिक’ कार्यक्रम लागू भएको छ । घरदैलो मै प्राविधिकको सेवा, कृषि उत्पादनमा टेवा भन्ने नारासहित च्याउ व्यवसाय कार्यक्रम सञ्चालन भइरहेको छ । कोहलपुरमा एक सय ५० जना व्यावसायिक किसान छन् । नगरपालिकाले किसान सूचिकरण कार्यक्रम धमाधम गरिरहेको छ ।

मौरी पालनको राम्रो सम्भावना छ । किसानहरु व्यावसायिकरुपमा काम गरिरहेका छन् । कोहलपुर नगरपालिका नगर कृषि शाखाका प्रमुख चन्द्रबहादुर बुढाका अनुसार आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० मा समग्र कृषि क्षेत्रको विकासका लागि काम भइरहेको छ । आर्थिक वर्ष २०७८/०७९ मा मुख्य कृषि कार्यक्रमका उपलब्धिमध्ये साना सिँचाइअन्तर्गत करिब ३८ विगाहा जमिन सिञ्चित गरिएको छ ।

तरकारी विकास कार्यक्रमअन्तर्गत ६ सय प्याकेट विभिन्न तरकारीको बीउमा अनुदान दिइएको छ । च्याउ विकास कार्यक्रम लागू गरिएको छ । कोहलपुरमा वार्षिक सरदर ४५ मेट्रिक टन च्याउ उत्पादन भइ कोहलपुर च्याउमा आत्मनिर्भर नजिक छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम पनि सञ्चालन गरिएको छ । उक्त कार्यक्रमअन्तर्गत तरकारी बाली विशेषमा पकेट क्षेत्र निर्माण गरिएको छ । कोहलपुर नगरपालिकाभरि यान्त्रिकरण कार्यक्रम पनि सञ्चालन भएको छ ।

प्राविधिक सेवातर्फ वार्षिक एक हजार दुई सय ५० जना कृषकलाई कृषि प्रविधि तथा समस्यालाई समाधान गरेको छ । च्याउको बीउ वितरण ५० प्रतिशत अनुदानमा दुई सय ३० कृषक अनुदानमा जोडिएको उनले बताए । चार सय ५५ कृषक समूह सहकारी फर्महरुमा अनुदान दिइएको छ । अर्गानिक खेती तथा प्रांगारिक मल उत्पादन कार्यक्रम सञ्चालन गरिएको छ । एक उपज एक नमुना कृषि फर्म कार्यक्रम एक हजार लिटरको थोपा सिँचाइ प्रणाली तीन बिगाहा क्षेत्रफलमा काम गरिएको छ ।

‘एक गाउँ, एक नर्सरी उत्पादन’ कार्यक्रम, कबुलियती, सामूहिक र करार खेती सहयोग कार्यक्रम, कौसी खेती करेसाबारी कार्यक्रम सञ्चालन गरिएको छ । यस कार्यक्रममा एक सय कृषक कौसीमा जोडिएका छन् । महिला कृषि उद्यमी कार्यक्रम, मागमा आधारित कृषि कार्यक्रम, हिउँदे (चैते) धान खेती तथा मकै खेती कार्यक्रम, कृषि उपज संकलन केन्द्र निर्माण गरिएको छ ।

मुख्य उपलब्धिमूलक कार्यक्रमअन्तर्गत साना सिँचाइ, तरकारी र च्याउ खेतीतर्फ रहेका छन् । साना सिँचाइतर्फ करिब ३८ बिगाहा सिञ्चित भएको छ । तरकारीतर्फ वार्षिक ६ मेट्रिक टन उत्पादन छ । आर्थिक वर्ष २०७९/०८० मा आधा दर्जन बढी उपलब्धि हासिल गरेको शाखाले जनाएको छ । यान्त्रिकरण र सिँचाइ कार्यक्रमबाट ६० जना किसान लाभान्वित भएका छन् ।

बीउविजन सहयोगतर्फ ३५ जना कृषक, समूह सहकारी लाभान्वित भएको शाखा प्रमुख बुढाको भनाइ छ । कौसी र अर्गानिक खेतीतर्फ ८६ जना कृषक सहभागी भएका छन् । आकस्मिक बाली उपचार कार्यक्रमअन्तर्गत दुई सय १८ जना कृषकका बालीमा आएका समस्या समाधानका लागि प्रयास भएको छ ।

किसान सूचिकरण कार्यक्रमतर्फ वडा नम्बर ३ देखि ८ सम्मका चार हजार तीन सय २१ किसान सूचिकरण प्रणालीमा प्रविष्ट भएका छन् । यसैगरी पकेट विकास कार्यक्रमतर्फ सरकारी र धानको गरी दुईवटा पकेट सञ्चालनमा रहेका यान्त्रिकरण सिँचाइ बीउविजन र प्राविधिक सेवाको काम भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० वैशाख २५ गते सोमबार