नेपालगन्ज ।
बाँकेको दोस्रो ठूलो सहर हो, कोहलपुर । कर्णाली प्रदेशको ‘गेटवे’ पनि हो, कोहलपुर । पूर्व–पश्चिम राजमार्गमा पर्ने चौरस्ता भएको व्यवस्थित सहर पनि हो, कोहलपुर ।
तुलनात्मकरुपमा व्यवस्थित र सुविधा सम्पन्न सहर कोहलपुरले केही अत्यावश्यक संरचनाहरु स्थानीय तह बनेपछि मात्रै पायो । केही बल्ल निर्माणको चरणमा छन् ।
बसपार्क
कोहलपुरको वर्षाैं लामो व्यवस्थित बसपार्कको प्रतीक्षा अब सकिएको छ । कोहलपुर चौराहा नजिकै लामो दुरीको आधुनिक बसपार्क निर्माण भएको छ । पश्चिम नेपालमै सुविधा सम्पन्न बसपार्कमा बस पार्किङ, टिकट काउण्टर, सपिङ कम्प्लेक्सलगायतका संरचना निर्माण भएका छन् ।
सपिङ कम्प्लेक्ससमेत रहेको बसपार्कमा तीनवटा प्लेटफर्म व्यावसायिक सटरसँगै, स्वास्थ्य चौकी, बैंक तथा सुरक्षा निकायका लागि पनि व्यवस्था गरिएको छ ।
चौराहादेखि केही मिटर अगाडि लामो दुरीको बसपार्कमा प्रवेशको लागि मुख्य गेट बनाइएको छ । बसपार्कमा सवारी साधनभित्र जाने र बाहिर निस्कने गेट फरकफरक हुनेछ ।
बसपार्कमा दुई दर्जनभन्दा बढी लामो दुरीका सवारी साधन राख्न सकिने क्षमता छ । ६० प्रतिशत नगर विकास कोषको ऋण लगानी गरेको छ भने ४० प्रतिशत नगरपालिकाको लगानीमा रहेको बसपार्क सञ्चालनपछि यात्रुहरुलाई सहजता हुनेछ कोहलपुर थप व्यवस्थित बन्दै छ ।
कभर्ड हल
खेलले उत्साह, भ्रातृत्व, सद्भावलाई प्रवद्र्धन गर्दछ । सहरमा खेल खेल्ने वातावरणका लागि संरचनाहरु निर्माण हुनु अनिवार्य छ । अब कोहलपुरले त्यस्तै एक संरचना पाउँदै छ ।
त्यो हो कभर्ड हल । कोलहपुर वडा नम्बर २ मा बन्न लागेको कभर्ड हल दुई हजार ६ सय ५२ वर्गमिटर क्षेत्रफलको हुनेछ । जहाँ भलिबल, ब्याडमिन्टन, कराँते, जुडोलगायतका इन्डोर खेलहरुको प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्न सकिनेछ । साथै कार्यालय र अन्य संरचनाहरु निर्माण हुनेछन् ।
२०७७ साल फागुन २० गते निर्माण सुरु भएको कभर्ड हल निर्माणको काम आगामी असोजमा सक्ने लक्ष्य छ । पाँच करोड ८० लाख ८४ हजार रुपैयाँ लगानीमा निर्माण हुने कभर्ड हल सञ्चालनमा आएपछि यहाँका खेलाडीले एक उत्कृष्ट मञ्च प्राप्त गर्नेछन् ।
रिङरोड (चक्रपथ)
कोहलपुर चक्रपथ नगरपालिकाको एक महŒवाकांक्षी योजना हो । बहुवर्षीय योजनाकारुपमा रहेको यो योजनाले सुस्तसुस्त गति लिँदै छ । कूल ५५ किलोमिटर लम्बाई रहने उक्त चक्रपथको लागि बजेटको भने अभाव छ । नगरपालिकासँग रिङरोडका लागि लाग्ने ठूलो लगानी जुटाउने सामथ्र्य छैन ।
करिब ९० करोड रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको उक्त योजनामा करिब दुई करोड बराबरको काम भइसकेको छ । उक्त योजनाका लागि माथिल्ला सरकारले बजेटको व्यवस्था गरिदिनुपर्ने आवश्यकता छ । मेयर पूर्णप्रसाद आचार्य अब ठूला योजनाका लागि ठूलो बजेटको व्यवस्था गर्नका लागि आफूले पहल गर्ने बताउँछन् ।
१५ शैयाको अस्पताल
कोहलपुर नगरपालिकामा १५ शैयाको अस्पताल निर्माण भइरहेको छ । नौ करोड ३९ लाख ५५ हजार रुपैयाँ लागतमा निर्माण हुने उक्त अस्पतालको काम अन्तिम चरणमा पुगेको छ ।
२०७८ साल फागुन १६ गतेबाट निर्माण सुरु भएको अस्पताल यही वैशाख १५ गते निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । तर प्राविधिक कारणले फिनिसिङको काम मात्रै बाँकी रहेको कारण थप ६ महिना अवधि निर्माणका लागि थपिएको छ । उक्त अस्पताल थपिएको समयमै निर्माण सम्पन्न हुने अपेक्षा गरिएको छ ।
अस्पताल सञ्चालनमा आएमा स्वास्थ्य बीमा सेवा लागु गर्नुका साथै र एक हजार प्रकारका औषधिहरुको फार्मेसीसहितको डायग्नोस्टिक ल्याबसमेत सेवा दिने नगरपालिकाको लक्ष्य छ ।
अस्पतालमा ९० किसिमको औषधि निःशुल्क दिने, बीमा गरेमा हजार किसिमको औषधि निःशुल्क दिने र अन्यलाई पनि ९० प्रतिशतसम्म छुट दिएर सेवा दिने विषयमा छलफल भइरहेको नगरपालिकाले जनाएको छ ।
प्रशासनिक भवन
कोहलपुर नगरपालिकाको आफ्नै प्रशासनिक भवन पनि निर्माणाधीन छ । १५ करोड ३८ लाख ४८ हजार रुपैयाँको लागतमा निर्माण हुने उक्त भवन साढे पाँच तलाको हुनेछ ।
२०७९ साल असार २६ गतेबाट निर्माण सुरु भएको उक्त भवन २०८१ पुस २५ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उक्त भवन निर्माण सम्पन्न भएपछि नगरपालिका कार्यालयले पहिलोपल्ट आफ्नो व्यवस्थित ठेगाना पाउनेछ ।
गोलपार्क (भ्युटावर)
कोहलपुर नगरपालिकाको वडा नम्बर ११ गोलपार्क अब पर्यटकीय आकर्षणको केन्द्र बन्दै छ । किनकी गोलपार्कमा अब आकर्षक भ्यूटावर निर्माण हुँदै छ ।
कोहलपुरको मौलिक पहिचान झल्कने गरी घण्टा घरसहितको १० तले भ्यूटावर निर्माण भएको छ । लिफ्टसहितको सुविधा सम्पन्न उक्त भ्यूटावर कोहलपुर नगरपालिकाको गौरवको योजना हो ।
पाँच करोड ८८ लाख रुपैयाँको लागतमा निर्माण भएको भ्यूटावरले कोहलपुर क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । यसका साथै गोलपार्कलाई पनि पर्यटकीय दृष्टिकोणले आकर्षक बनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्