राप्ती राजमार्ग दैनिक १० घण्टा बन्द हुने



नेपालगन्ज (बाँके), सडक सुधारका लागि राप्ती राजमार्ग दैनिक १० घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय सल्यानले आठ दिनका लागि दैनिक १० घण्टा बन्द गर्न थालेको हो ।
राप्ती राजमार्गअन्तर्गत बांगेलाखुरी–सिमखोली सडक बुधबारदेखि दैनिक १० घण्टा बन्द हुने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । नियमित गाडी सञ्चालनमा आउँदा सडक स्तरोन्नतिको काममा अवरोध सिर्जना हुने भन्दै सडक बन्द गरिएको बताइएको छ ।

बुधबार वैशाख २० देखि २७ गतेसम्म आठ दिनका लागि उक्त सडक खण्ड बन्द गरिएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले जनाए । उनका अनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ८ बजेदेखि बिहान २ बजेसम्म सडक पूर्णरुपमा बन्द हुनेछ ।

तीन किलोमिटर क्षेत्रमा पर्ने ओरालो सडक खण्डमा कटिङ, ग्याबिन पर्खाल लगाउनुपर्ने भएकाले सवारी साधन सञ्चालनमा आउँदा दुर्घटनाको जोखिम हुने भएकाले सडक डिभिजन कार्यालय दाङको आग्रह तथा समन्वयमा सूचना प्रकाशन गरेर सडक पूर्णरुपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी खरेलले जानकारी दिए ।

राप्ती राजमार्गअन्तर्गत बांगेलाखुरी–सिमखोली सडकको स्तरोन्नति गर्ने अवधि यही असारसम्म मात्र रहेको र गाडी नियमित चल्दा कामले गति लिन नसकेकै कारण सडक १० घण्टा बन्द गर्नुपरेको सडक डिभिजन कार्यालय दाङका प्रमुख गुरूप्रसाद अधिकारीले बताए । सडक बन्दका लागि जिल्ला प्रशासन कार्यालयमात्र नभई यातायात व्यवसायीसँग पनि समन्वय गरिएको उनले जानकारी गराए । राप्ती राजमार्गको सल्यान खण्डमा सडक स्तरोन्नतिका लागि १८ वडा ठेक्का परेकोमा अहिले अधिकांशमा काम भइरहेको उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८० वैशाख २१ गते बिहीबार