नेपालगन्जमा अघोषित विद्युत् कटौतीले हैरानी



नेपालगन्ज ।

नेपालगन्जमा गर्मी मौसम सुरु भएसँग विद्युत् कटौती बढ्न थाल्छ । अघोषितरुपमा पटकपटक लाइन काटिने गरेका कारण उपभोक्ता समस्यामा परेका छन् । दिउसोको समयमा विकास निर्माणका कामका कारण पोल तथा तार सार्दा कटौती हुने गरेको विद्युत् प्राधिकरणको तर्क भए पनि रातिको समयमा समेत विद्युत् कटौती हुँदा उपभोक्ता मारमा पर्ने गरेका छन् ।

विद्युत् अनियमित हुँदा उद्योगहरु सबैभन्दा बढी प्रभावित भएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले विद्युत् कटौती बढ्दै गएमा संघ आन्दोलनमा उत्रिने चेतावनी दिए । ‘हावाहुरीका कारण कहिलेकाहिँ कटौती हुनु स्वभाविक मान्न सकिएला । तर पटकपटक जानकारीबिनै हुने कटौतीले उद्योगहरु धेरै मार परेका छन् । त्यसो भएमा हामी सहेर बस्दैनौँ,’ मन्सुरीले भने ।

विद्युत् प्राधिकरणको लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जका प्रमुख इन्जिनियर हरिप्रसाद पाण्डे नेपालगन्जमा आउने विद्युत्को स्रोत टनकपुरबाट आउने विद्युत् मात्रै रहेकोले समस्या हुने गरेको बताउँछन् । आपुर्तिकै कारण हुने कटौतीमा आफूहरुले केही गर्न नसक्ने भए पनि स्थानीय वितरणमा आउने समस्या समाधानका लागि प्रयास गरिरहेको उनले बताए ।

नेपालगन्जमा १६ र आठ एमभिएका दुईवटा गरी २४ एमभिएका ट्रान्सफर्मर रहेकोमा नेपालगन्जको बसपार्कमा एउटा आठ एमभिएको नयाँ ट्रान्सफर्मर जडान गरिएको पाण्डेले जानकारी दिए । केही दिन अघि जडान गरिएको नयाँ ट्रान्सफर्मरबाट दुईवटा फिडर पनि निकालेर विद्युत् वितरण हुन थालेको उनले बताए । यसले ट्रान्सफर्मरमा ओभरलोड भएर हुने विद्युत् कटौती कम हुने अपेक्षा गरिएको उनको भनाइ छ । ‘पूरै सिस्टममै समस्याका कारण कटौती भइहाल्यो भने त हामी केही गर्न सक्दैनौँ । तर स्थानीय स्तरमा वितरण हुने विद्युत् कटौतीमा केही कमी आउँछ भन्ने अपेक्षा गरेका छौँ,’ उनले भने ।

उनले यो सिजनमा विकास निर्माण कार्यहरु भइरहने साथै हावाहुरीका कारण आउने समस्याले पनि विद्युत् कटौती हुने गरेको पनि उल्लेख गरे । साथै बाँकेको खजुरामा सञ्चालनमा आएको १० मेगावाट सौर्य विद्युत्बाट दिउसोको समयमा भोल्टेजको समस्या हटेको पाण्डेले बताएका छन् । सौर्य प्रणालीबाट उत्पादित विद्युत् दिउसोको समयमा मात्रै उत्पादन हुने गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणको नेपालगन्ज वितरण केन्द्रले अहिले कन्डक्टर तारलाई तीनबाट पाँचमा राखिएको, तारलाई छुने तार र झारहरु काँटछाँट गरिरहेको, फेज थप्ने, ओभर लोड भएको फिडरलाई सवस्टेशनबाट अर्काे फिडरमा लैजाने तयारी भइरहेको, ट्रान्सफर्मरको फ्युज नआओस् भन्नका लागि एलटी लाइनमा एमसिबी बक्स जडान गरिएको जानकारी दिएको छ ।

केन्द्रले विद्युत् लाइन निरन्तर सुचारु राख्नका लागि ठाउँठाउँमा डिस कनेक्सन राख्न पहल गरेको, सवस्टेशनमा रहेको ट्रान्सफर्मर र ब्रेकरको मर्मत कार्य गरेको जनाएको छ । यसैगरी विभिन्न ठाउँमा ट्रान्सफर्मर अपग्रेड गरेको पनि केन्द्रले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० वैशाख १८ गते सोमबार