नेपालगन्ज (बाँके) ।
नवनियुक्त लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ अनुसार प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी पत्र दर्ता भएको ४८ घण्टापछि विश्वासको मत लिन सकिने व्यवस्था छ ।
विश्वासको मत प्रयोजनका लागि सभामुख तुलाराम घर्तीले मंगलबार बिहान ११ बजेका लागि प्रदेशसभा बैठक आहृवान गरेका छन् । उक्त बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने बताइएको छ ।
मुख्यमन्त्री चौधरीले प्रदेशसभा सचिवालयमा आइतबार बिहान १० बजे नै पत्र दर्ता गराएको र मंगलबारका लागि विश्वासको मत लिने तयारी गरिरहेको कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले बताए ।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले पनि मुख्यमन्त्रीले विश्वासको मत लिने गरी मंगलबार ११ बजे प्रदेशसभाको बैठक बोलाइएको बताए । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका चौधरीलाई नेकपा माओवादी केन्द्र, जसपा, लोसपा, नेकपा एकीकृत समाजवादी र एकजना स्वतन्त्रका सांसदको समर्थन छ ।
विश्वासको मत लिएपछि गठबन्धनभित्र मन्त्री छनोटका लागि मापदण्ड बन्ने र त्यसकै आधारमा मन्त्री छनोट र मन्त्रालयको बाँडफाँड हुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्