कोहलपुर, कोहलपुरमा सातदिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । पत्रकारितामा महिलाको सहभागिता बढाउने उद्देश्यले उक्त तालिम सुरु भएको हो ।
तालिमको एक कार्यक्रमका बीच कोहलपुर नगरपालिकाका कार्यबहाक नगर प्रमुख संगीता सुवेदीले उद्घाटन गरिन् । उक्त अवसरमा बोल्दै उनले पत्रकारिता पेसा सम्मानित पेसा रहेको बताइन् ।
राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारितामा महिलाहरुको अर्थपूर्ण सहभागिता आवश्यक रहेको उनले जनाइन् । उनले तालिममा सहभागी महिलाहरुलाई राम्रोसँग आधारभूत कुरा सिक्न आग्रह गरेकी छन् । यस्तै उनले अहिले निष्पक्ष पत्रकारिताको आवश्यकता रहेको बताइन् ।

उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाअन्तर्गत आर्थिक विकास समितिकी संयोजक अनिता बुढाक्षेत्रीले महिलाहरुको क्षमता विकासका लागि आधारभूत पत्रकारिता तालिम सुरु हुनु सकारात्मक कुुरा भएको बताइन् ।
त्यस्तै नागरिक सरोकार मञ्चका महासचिव लालबहादुर बुढाथोकीले कोहलपुर क्षेत्रमा रहेका महिलाहरुको क्षमता विकासका लागि तालिम सञ्चालन गरिएको बताए । समाजमा लुकेर रहेका विषयहरु पत्रकारिताको माध्यमबाट उजागर गर्न तालिमले भूमिका खेल्ने उनले बताए ।
तालिम नागरिक सरोकार मञ्चको आयोजना र कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको हो । तालिम वैशाख २० गतेसम्म सञ्चालन हुनेछ । तालिमको मुख्य प्रशिक्षकको रुपमा नेपाल पत्रकार महासंघ बाँके शाखाकी पूर्व उपाध्यक्ष तथा कान्तिपुरकर्मी रुपा गहतराज रहेकी छन् । तालिममा कूल २० जनाको सहभागिता रहेको छ ।









प्रतिक्रिया दिनुहोस्